वन संरक्षणमा तीन दशकदेखि सक्रिय मदन पोखरेल - Pahilo Online

वन संरक्षणमा तीन दशकदेखि सक्रिय मदन पोखरेल

writer

मोहन भट्टराई

मदन पोखरेल सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मोरङका कार्यबाहक अध्यक्ष

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मोरङका कार्यबाहक अध्यक्ष मदन पोखरेल २०५८ सालदेखि वन संरक्षणमा सक्रिय छन् । हाल पथरीशनिश्चरे–१० जिरिखिम्तिबासी उनी स्थानीय र वन कार्यालयसँग नङ–मासुको सम्बन्ध स्थापित नगरी वनको दिगो संरक्षण सम्भव हुँदैन भन्ने निष्कर्षका साथ वन संरक्षण गर्न पुगेको बताउँछन् ।

वनसँगको पहिलो यात्रा
२०५८ सालमा स्थानीय बासिन्दाले डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूह गठन गरेसँगै पोखरेल वन व्यवस्थापनतर्फ आकर्षित भएका हुन् । उनका अनुसार, त्यतिबेला स्थानीय विपन्न समुदाय निगुरो, च्याउ, सालको पात टिपेर बजारमा बिक्री गरेर जीविका चलाउँदै थिए भने धेरैले दाउरा बेचेर गुजारा गर्नुपर्ने अवस्था थियो । तर वन कार्यालयको कठोरता र केही तस्करका कारण पूरै समुदाय समस्यामा परेकोले वन र समुदायबीच सहकार्य आवश्यक देखियो । ‘समुदाय र कर्मचारीबीच नङ–मासुको जस्तो सम्बन्ध भए मात्र वन जोगिन्छ भन्ने निष्कर्षमा पुग्यौं’– पोखरेल भन्छन् ।

नेतृत्वमा किन चाहना हुन्छ ?
सामुदायिक वनको अधिवेशनमा हुने ‘लुछाचुँडी’बारे पोखरेल स्पष्ट छन् । उनी भन्छन् –‘धनराशी नेतृत्वले व्यक्तिगत रुपमा प्रयोग गर्न पाउँछ भन्ने सरासर गलत हो । तर वनको नेतृत्व समाजमा स्थापित हुने थलो हो । सामुदायिक वनले सामाजिक काम, आयआर्जन, वन विकास र गरिब निवारणमा ठुलो योगदान गर्छ । त्यसैले नेतृत्वमा जाने चाहना हुनु स्वाभाविक हो ।’

वन संरक्षणको उद्देश्य
पहिलो विषय नै वन संरक्षण गर्ने र त्यो वनले संरक्षण गरेर विश्व समुदायलाई स्वच्छ वातावरणमा राख्ने हो । २०७६ सालको वन ऐनअनुसार आम्दानीको २५ प्रतिशत वन संरक्षणमा, बाँकी रकम महिला सशक्तिकरण, गरिब निवारण, स्थानीय विकास र सामाजिक काममा खर्च गर्नुपर्ने व्यवस्था छ । त्यसैअनुसार बाटो, पैनी, कल्भर्ट, विद्यालय भवन, बिजुली विस्तारजस्ता काम सामुदायिक वनमार्फत भइरहेका छन् ।

उपभोक्ताको जीवनस्तरमा परिवर्तन
अपेक्षाअनुसार नभए पनि समुदायको जीवनस्तरमा परिवर्तन आएको पोखरेलको भनाइ छ । ‘घर निर्माणमा सहयोगदेखि सीपमूलक तालिम, बीउ पशु वितरण, खाट वितरण, बीउ–पूँजी सहयोगमार्फत महिलालाई आत्मनिर्भर बनाउन पहल भइरहेको छ’– उनी भन्छन् ।

सरकारी नीतिका चुनौती
हाल सरकारले चाक्ला वन व्यवस्थापनमा जोड दिँदा सामुदायिक वन उपभोक्ताहरु समस्यामा परेको उनले बताए । पोखरेलका अनुसार सरकारले अहिले उपभोक्ताहरुले संरक्षण गरेकोभन्दा बाहिरको राष्ट्रिय वन क्षेत्रलाई चाक्ला वनको रुपमा व्यवस्थापन गर्ने भनेर लागिरहेको छ । ‘उपभोक्ताहरुलाई नै काठ दाउरा पर्याप्त नभएर घर निर्माणदेखि फर्निचरका लागि महंगो मूल्यमा बजारबाट खरिद गर्न बाध्य छन्’–उनले भने ‘उपभोक्ता संख्याका आधारमा वन क्षेत्र एकदमै न्यून रहेको अवस्थामा सरकारले एकलौटी ढंगबाट दिगो वन व्यवस्थापनका नाममा हस्तक्षेप गरिरहेको छ ।’

उनका अनुसार मोरङमा हाल १ हजार २ सय हेक्टर वन क्षेत्र दिगो वन व्यवस्थापन प्रणाली अन्तर्गत आएको छ । उक्त वन क्षेत्र सम्बन्धीत सिमाना जोडिएका समूहलाई हस्तान्तरण गरी नेपालको दक्षिणी भेगका नागरिकलाई समेतलाई समेटी उपभोग गर्ने वातावरण मिलाउनु पर्छ भनेर आफुहरु लागि रहेका पोखरेलको भनाई छ ।

मानव–वन्यजन्तु द्वन्द्व
अहिले वन्यजन्तुहरु आफ्नो आहाराको कमीको कारणले होला सायद वन्यजन्तुहरु गाउँ पस्ने गरेका छन् । मानव र वन्यजन्तुबीच द्वन्द्व सिर्जना भएर बेला–बेला दुर्घटना भइरहेका छन् । हाल वन्यजन्तु गाउँ पस्दा मानव र जनावर दुवैको मृत्यु हुने, बाली नष्ट हुने समस्या बढ्दो छ । यसको समाधानका लागि सामुदायिक वनहरुले जंगलमै वन्यजन्तुका लागि खाने प्रजातिका विरुवा रोप्ने काम सुरु गरेका छन् । तर डिभिजन वन कार्यालय भने त्यस कार्यमा आफ्नो अभिभावकत्व निर्वाह नगरेको पोखरेलको आरोप छ ।

भविष्यका योजना
मोरङको दक्षिणी क्षेत्र खाली जमिन र खोलानालामा वृक्षारोपण गरी नयाँ वन क्षेत्र बनाउने फेकोफनको योजना छ । ‘उत्तरका सामुदायिक वनहरुले विरुवा रोपेर दक्षिणका बासिन्दालाई आत्मनिर्भर बनाउने र आवश्यक परे उत्तरका सामुदायिक वनका उत्पादन दक्षिणतिर पनि वितरण गर्ने लक्ष्य छ’– पोखरेल भन्छन् ‘तर त्यो दिन सक्ने परिस्थिति भने छैन फेरी । त्यसका लागि उत्तरका सामुदायिक वनहरुको वन क्षेत्र बढाउनका लागि हामीले डिभिजन वन कार्यालयसँग छलफलहरु गरिरहेका छौं ।’

जिल्ला कार्यबाहक अध्यक्ष पोखरेलका अनुसार फेकोफनमा देशभरी २३ हजारभन्दा बढी समूह आबद्ध छन् । २०५२ सालमा काठमाडौंमा दर्ता भएको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)मा हाल देशभर २३ हजार २६ सामुदायिक वन समूह आबद्ध छन् । कोसी प्रदेशमा मात्रै ३६ सय सामुदायिक वन छन् भने मोरङ जिल्लाका ९ पालिकामा १४० वन उपभोक्ता समूह सक्रिय छन् ।

दुई दशकभन्दा बढी समयदेखि सामुदायिक वनसँगै जीवन बिताएका मदन पोखरेललाई सामुदायिक वन केवल वातावरण संरक्षणको साधन मात्र होइन, सामाजिक रूपान्तरणको आधारशिला पनि लाग्छ । उनी भन्छन्, ‘सामुदायिक वन सामाजिक काम गर्ने एउटा स्थापित थलो हो ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles