
पथरीशनिश्चरे । सामुदायिक वन केवल वन संरक्षणमै सीमित नभई सामाजिक उत्तरदायित्व र मानवीय सेवामा पनि उदाहरणीय कार्य गर्दै आएको छ । यसको ताजा उदाहरण मोरङको पथरीशनिश्चरेस्थित महिला जागृती सामुदायिक वन उपभोक्ता समूहले प्रस्तुत गरेको छ ।
समूहले आफ्नो क्षेत्रमा रहेका विपन्न उपभोक्तालाई आवास निर्माण गरी हस्तान्तरण गरेको हो । पथरीशनिश्चरे–८, सोमबारे निवासी रेणुका माझीलाई नयाँ घर निर्माण गरेर शुक्रबार एक भव्य समारोहकाबीच हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथी डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापा, वन समूहका अध्यक्ष तुलसा याखा र अन्य अतिथिहरुले संयुक्त रुपमा घरको चावी हस्तान्तरण गरेका हुन् । थापाले घरको चाबी हस्तान्तरण गर्दै सामुदायिक वनले गरिरहेको योगदानको प्रशंसा गरे । उनले भने, “सामुदायिक वन उपभोक्ताले देखाएको सामाजिक प्रतिबद्धता सराहनीय छ । यसले अन्य समूहलाई पनि समाजसेवामा हातेमालो गर्न प्रेरित गर्नेछ ।”
सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मोरङका कार्यवाहक अध्यक्ष मदन पोख्रेलले समूहलाई शुभकामना व्यक्त गर्दै यो कार्यले सामुदायिक वनको प्रभावकारी उपस्थिति देखाएको बताए । उनले महिला जागृति वन समूहका उपभोक्ता संख्याका तुलनामा वन क्षेत्र अत्यन्तै कम रहेकोले राष्ट्रिय वनबाट थप गर्न डिभिजन वन कार्यालयलाई आग्रह समेत गरे ।
नगर महासंघ पथरीशनिश्चरेका सचिव हेमभक्त गुरुङले सामुदायिक वनले केवल वृक्षारोपण मात्र होइन, जीवनयापनमै टेवा पु¥याउन सक्ने कुरा प्रमाणित भएको बताए ।
यस्तै, गाउँ महासंघ कानेपोखरीका अध्यक्ष नविन राईले यो कामलाई ऐतिहासिक भन्दै आगामी दिनमा अन्य समूहले पनि यस्तो कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।
पथरीशनिश्चरे नगरपालिका शिक्षा समिति सदस्य भद्रमान विश्वकर्माले विपन्न समुदायलाई आधारभूत आवश्यकतामा सहजीकरण गर्नु नै सबैभन्दा ठूलो सामाजिक सेवा भएको बताए ।
कार्यक्रममा हालै मात्र अवकाश प्राप्त डिभिजन वन अधिकृत इन्द्रदेव राउत, सब–डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख प्रदिप कुँवर, वन कार्यालयका कर्मचारी, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, टोल प्रमुख, उपभोक्ताहरु लगायतको बाक्लो उपस्थिति थियो ।
वन समूहका अध्यक्ष तुलसा याखाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह–सचिव मुना पाण्डेले गरेकी थिइन् भने सचिव तुलसीराम श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।
महिला जागृती सामुदायिक वन उपभोक्ता समूहले यसअघि पनि विद्यालयलाई सामाग्री सहयोग, विपन्नलाई राहत वितरण, पर्यावरण संरक्षण जस्ता गतिविधि गर्दै आएको छ । यसपटकको आवास निर्माण कार्यलाई स्थानीय स्तरमै अत्यन्तै सकारात्मक रुपमा लिइएको छ ।

