“इमानदार चोर”को कथा अब पथरीमा - Pahilo Online

“इमानदार चोर”को कथा अब पथरीमा

writer

पहिलो अनलाइन

जीवन बराल (न्वारानको नामः खडानन्द बराल), राष्ट्रियस्तरमा पहिचान बनाएका मोरङ पथरीशनिश्चरेका कलाकार हुन् । बाल कलाकारको रूपमा १४ वर्षदेखि प्रगतिशील मञ्चमा प्रवेश गरेका उनले काठमाडौं गएर शिल्पी थिएटर र राष्ट्रिय नाचघरबाट तालिम लिए । पछि पथरीमा ‘शब्द थिएटर’ संस्था स्थापना गरी रंगमञ्च क्षेत्रमा प्रशिक्षण दिँदै आएका छन् ।
हाल बरालले पथरीशनिश्चरेमा ‘चरणदास चोर’ नाटक प्रस्तुत गर्ने तयारी गरेका छन् । यसमा उनले पात्रको अभिनय र निर्देशन दुबै भूमिका निर्वाह गरेका छन् । यसले उनलाई सांस्कृतिक क्षेत्रमा विशेष पहिचान दिलाएको छ ।
भारतका सुप्रसिद्ध रंगकर्मी हबीब तनवीर ले सन् १९७५ मा लेखेको ‘चरणदास चोर’ लोक नाटक हो, जसले सामाजिक यथार्थ र हास्य–व्यंग्यलाई सन्तुलनमा समेट्छ ।

जीवन बराल
जीवन बराल

नाटकको केन्द्रीय पात्र चरनदास नामक इमानदार चोर हो, जसको जीवन नै चोरी हो तर ऊ चोरी गरेर विगत र असमानताको विरोध गर्छ । उसले गुरुसँग पाँच वटा प्रतिज्ञा गर्छ—झुट नबोल्ने, सुनको थालमा नखाने, हात्ती चढ्ने छैन, रानीसँग बिहे नगर्ने, शासक नबन्ने आदि ।
मण्डला थिएटर र विविध संस्थाहरुले नेपाली अनुवादमा सफल मञ्चन गरिसकेका छन् । प्रस्तुत छ, ‘चरणदास चोर’ का निर्देशक उनै बहुप्रतिभाका धनी बरालसँग गरिएको कुराकानीको संपादित अंशः


तपाईंले ‘चरणदास चोर’ नाटक पथरीशनिश्चरेमा प्रदर्शन गर्न किन रोज्नुभयो ? यसको विशेष महत्व के हो ?
—यो विश्व प्रशिद्ध नाटक हो, यो यहाँमात्र होइन, जहाँ गरेपनि सुहाउँदो छ । पथरीशनिश्चरे एक सांस्कृतिक हिसाबले समृद्ध क्षेत्र हो तर रंगमञ्चीय गतिविधिहरू यहाँ निरन्तर रूपमा भइरहेका छैनन् । हामीले चाह्यौं कि एक सशक्त नाटक मार्फत स्थानीय दर्शकसँग गहिरो संवाद गरौं । ‘चरणदास चोर’ले सत्य, नैतिकता र विद्रोहको कथा भन्छ, जुन पथरीको सामाजिक चेतना जगाउन सक्ने खालको छ । यसैले पथरीलाई प्रदर्शनको थालनी स्थल बनाउनुको खास अर्थ छ ।

यो नाटक पहिलो पटक नेपाली रंगकर्ममा अनुवाद भएको हो कि ?
—‘चरणदास चोर’ पहिले पनि नेपालीमा अनुवादित भएको छ । पहिले मण्डला थिएटरले देशव्यापी रुपमा गर्ने क्रममा यहीं दमक, इटहरीमा पनि प्रदर्शन भएको थियो । तर हाम्रो टोलीले यस पटक यसलाई पूर्वेली सन्दर्भमा झनै समसामयिक बनाउने गरी पुनः रुपान्तरण र स्थानीयकरण गरेको छ । यसले स्थानीय दर्शकलाई अझ धेरै सम्बोधन गर्छ ।


पथरीशनिश्चरेका दर्शकलाई ध्यानमा राख्दै शो कस्तो संरचना र समयतालिका निर्माण गरिरहनुभएको छ ?
—हामीले लगानी उठाउने उद्देश्यले पनि दर्शकहरुको समय तालिकालाई ध्यान दिएका छौं । जस्तोः विहान कलेजहरुलाई टार्गेट गरेर, दिउँसो विद्यालयहरुलाई र बेलुका गरेर दिनमा ३ शोहरु प्रदर्शन गर्ने तयारी गरेका छौं । किनभने अधिकांश दर्शकहरू दिनको काम सकेर साँझ समय निकाल्न सक्छन् । साउन ३० गते हामी प्रिमियर शो गर्छौं अनि भदौ १ गतेदेखि रेग्युलर १५ दिनसम्म जाने योजना छ । यो नाटक १ घण्टा २० मिनेटसम्मको हुनेछ । नाटक महोत्सवजस्तै बनाउने तयारीमा छौं, जसमा विद्यालय, कलेज, युवा समूहहरूलाई लक्षित विशेष शोहरू पनि हुनेछ ।

पथरीको सांस्कृतिक परिवेशलाई नाटकमा कसरी प्रतिविम्बित गर्दै हुनुहुन्छ ?
—हामी यहाँ चाहीं मिश्रीत बस्तीमा रहेछौं । बसाइ सरेर विभिन्न ठाउँबाट आएर, विभिन्न समुदायका मानिसहरु बसोबास गरेका छौं । त्यसैले यो नाटकलाई पनि हामीले त्यसरी नै विम्मित गर्न खोजेका छौं । यो नाटक दिनमा ३ शो हुन्छ, तर ती सबै शो फरक फरक कल्चरमा हुनेछ । त्यसमा जुन अलि बढी रुचाइन्छ त्यसैलाई निरन्तरता दिने छौं । यस पटक परीक्षणका रुपमा हेरेका छौं । त्यस्तै, हामीले संवाद, भेषभूषा र संगीतमा स्थानीय स्वाद मिसाएका छौं । जसले दर्शकलाई आफ्नै परिवेशमा घटना भइरहेको महसुस गराउँछ ।


कलाकार छनोट र प्रशिक्षणमा स्थानीय प्रतिभाहरूलाई कसरी समावेश गर्नुभएको छ ?
—यसमा अधिकांश स्थानीय कलाकारहरु हुनुहुन्छ । यसमा २ जना कलाकारहरु चाहीं हामीले बाहिरबाट हायर गरेका छौं । त्यो पनि स्थानीय कलाकारले धोका दिएका कारणले । हामी १३ जना कलाकार मध्ये ११ जना चाहीं स्थानीय नै हुनुहुन्छ । जसमा स्थानीय कलाकारले पेशागत सीप सिक्नु भएको छ ।

यो नाटकले आजको नेपाली सामाजिक सन्दर्भमा के सन्देश दिन्छ ?
—इमान्दार मानिसलाई टिक्न गाह्रो छ भन्ने कुराको सन्देश दिएको छ । यो नाटकको मुख्य पात्र चाहीं चोर हो ‘चरण दास’ । ऊ चोरी गर्छ, चोरी गर्नु उसको मुख्य पेशा हो । तर, इमान्दार भएर चोरी गर्छ । त्यही इमान्दार भएकै कारणले ऊ मारिनु पर्छ अन्त्यमा । एकजना साधु हुन्छन् उनलाई इमान्दार हुनु पर्छ भनेर सिकाउने तर त्यही साधु जसले अर्ति दिइरहेको छ, इमान्दर होऊ, सत्य बोल भनेर ऊ नै फटाहा हुन्छ । ‘चरणदास चोर’ ले सत्य बोलेको अपराधीभन्दा झूट बोलेको राजा बढी खतरनाक हुन्छ भन्ने गहिरो सन्देश दिन्छ । आजको नेपालमा सत्य बोल्नेहरूलाई दबाइन्छ र यो नाटकले त्यही कुराको प्रतिरोध गर्छ—अहिंसात्मक तर प्रभावशाली ढंगले ।


पथरी प्रदर्शनमा कति दर्शकको अपेक्षा गर्नुभएको छ ?
—अपेक्षा त दह्रो छ । स्कूल–कलेजसँग समन्वय गरेर विद्यार्थीहरूलाई पनि ल्याउने योजना बनाएका छौं । कुल मिलाएर १० हजारभन्दा बढी दर्शक पुग्ने विश्वास छ ।

भविष्यमा ‘चरणदास चोर’लाई थप स्थानहरूमा प्रदर्शन गर्ने योजना छ ?
—अवश्य ! पथरीपछि दमक, विर्तामोड, बिराटनगर, धरान, इटहरी हुँदै काठमाडौंसम्म लैजाने योजना छ । यो केवल एक नाटक होइन, एक आन्दोलन हो—सत्यको पक्षमा र जनचेतनाको लागि ।

रंगकर्मी जीवन बरालका रूपमा तपाईंको अर्को नाटक कहिले आउला ?
अहिले त ‘चरणदास चोर’मै केन्द्रित छु । यसपछि मौलिक नाटक ल्याउने सोचमा छु । अहिले स्क्रिप्ट लेखन प्रक्रियामा छ ।

समय दिनुभएकोमा धेरै धेरै धन्यवाद ।
—म पनि तपाईंलाई धन्यवाद दिन चाहन्छु । यस्ता प्रश्नहरूले रंगकर्मप्रति चासो बढ्छ र हामीलाई अझ जिम्मेवार बनाउँछ ।

प्रस्तुतिः मोहन भट्टराई

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles