पथरी शनिश्चरे, मोरङ — पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नागरिकमुखी, समावेशी र विकास उन्मुख नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १७औं नगरसभाबाट सर्वसम्मत रूपमा पारित उक्त बजेटमा विपन्न, वृद्ध, दीर्घरोगी, महिला, किसान र युवा लक्षित कार्यक्रमहरू प्राथमिकतामा राखिएका छन्।
नगरप्रमुखको नेतृत्वमा प्रस्तुत नीति अनुसार घरविहीन नगरवासीका लागि सुरक्षित आवास निर्माण कार्यक्रमलाई निरन्तरता दिइनेछ। साथै, १,२०० विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा, प्राविधिक शिक्षामा अनुदानसहित शैक्षिक ऋण र फोहोर व्यवस्थापन केन्द्र तथा प्रशासनिक भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ।
नगर अस्पतालको फार्मेसी सञ्चालनका लागि २ करोड रुपैयाँ बीउ पूँजीको व्यवस्था गरिनेछ। श्रमिक हित कोष तथा विपन्न बालबालिका सहायता कोषको स्थापना गरेर सामाजिक सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउने योजना रहेको छ।
शिक्षा क्षेत्रको सुधारका लागि कक्षा ५ को परीक्षा नगरस्तरीय बनाइनेछ भने स्थानीय पाठ्यक्रम छपाई गरी विद्यार्थीलाई निःशुल्क वितरण गरिनेछ। युवा वर्गका लागि विदेशबाट फर्किएकाहरू तथा कृषि व्यवसायमा लाग्न चाहनेहरूलाई लक्षित गर्दै कृषि उद्यम प्रोत्साहन कार्यक्रम ल्याइनेछ।
स्वास्थ्य कार्यक्रमअन्तर्गत दीर्घरोगीलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ आर्थिक सहयोग, गर्भवती महिलालाई निःशुल्क क्याल्सियम चक्की, नवजात शिशुका लागि किटनाशक झुल, ७० वर्ष माथिका वृद्धहरूलाई निःशुल्क एम्बुलेन्स सेवा, र रगत अभावमा उपचार खर्चमा नगरपालिकाबाट प्रत्यक्ष सहयोग उपलब्ध गराइने व्यवस्था गरिएको छ।
कृषि तथा उद्यम प्रवर्द्धनका लागि माटो परीक्षण, जैविक मल र विषादीको प्रयोग प्रोत्साहन, नगर क्याम्पस तथा बुद्ध माविको भवन निर्माण, १,००० लिटर क्षमताको दूध चिस्याउने मेसिन खरिद र ‘मेड इन पथरी शनिश्चरे’ ब्राण्ड विकास जस्ता कार्यक्रमहरूमा बजेट छुट्याइएको छ।
अघिल्लो वर्ष २०८०/८१ को अन्तिम लेखापरीक्षण अनुसार कुल खर्चको मात्र ०.४७५ प्रतिशत बेरुजु रहेको जनाउँदै नगरपालिकाले प्रशासनिक पारदर्शितालाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। स्थानीय तह स्थापना यता जम्मा ११ करोड ४९ लाख बराबरको बेरुजु कायम रहेको जानकारी पनि दिइएको छ।
यद्यपि संघीय सरकारबाट स्वीकृत बजेटको करिब ५ करोड बराबरको रकम अझै अपुग रहेको र राजस्व बाँडफाँट तथा आन्तरिक स्रोत दुवैबाट अपेक्षाभन्दा कम रकम प्राप्त भएको वास्तविकता पनि नगरसभामा प्रस्तुत गरिएको छ।
यी चुनौतीका बाबजुद नगरपालिका नेतृत्वले आगामी वर्षका कार्यक्रमहरूलाई नागरिककेन्द्रित, समावेशी र दिगो विकासतर्फ उन्मुख बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।