पशुपति सामुदायिक वनमा पर्यापर्यटनको प्रचुर संभावना - Pahilo Online

पशुपति सामुदायिक वनमा पर्यापर्यटनको प्रचुर संभावना

writer

मोहन भट्टराई


शनिश्चरे । सुन्दरता विछ्याएर पर्यटकहरुलाई लोभ्याउने वन तथा सिमसारयुक्त पर्यटनको आकर्षक क्षेत्रका रुपमा गनिनेस्थल हो उत्तरपूर्वी मोरंगको पथरीशनिश्चरे । त्यसमध्येमा पनि एउटा फरक ऐतिहासिक पृष्ठभूमि बोकेको छ पशुपति सामुदायिक वनले । चारकोसे जंगलसँग जोडिएको यो सामुदायिक वन पथरीशनिश्चरे नगरपालिका वडा नं. १० मा पर्दछ ।

वन संरक्षण र स्थानीय टोलबासीको वन माथिको पहुँच स्थापित गर्न वि.सं. २०५८ सालमा पशुपति सामुदायिक वन उपभोक्ता समूह गठन भई संरक्षण तथा व्यवस्थापनको कार्य भइरहेको छ । यस सामुदायिक वनदेखि उत्तरमा पथरीशनिश्चरे साझेदारी वन, पूर्वमा मनकामना सामुदायिक वन र सिरिजंगा स्मृति धार्मिक वन, पश्चिममा भुल्के पशुपति सामुदायिक वन, डाँसखोला र दक्षिणमा ऐयाबारी उपभोक्ता क्षेत्र रहेको छ ।
उष्ण प्रदेशीय क्षेत्रमा पर्ने यो सामुदायिक वन २ सय ६६ दशमलब ३४ (२६४.६७) हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँको वनमा मुख्य प्रजाति साल रहेको छ ।

समृद्धिका लागि वन भन्ने वन तथा भू संरक्षण मन्त्रालयको नारा छ । त्यसको लक्ष्य हासिल गर्न वनको दिगो व्यवस्थापनद्वारा पारिस्थितिकीय सन्तुलन कायम राखी उपभोक्तामा वन पैदावरको सरल आपुर्ति तथा गरिवी न्यूनिकरणमा सहयोगी भई राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउनु यस सामुदायिक वनको मुख्य लक्ष्य रहेको छ ।

सामुदायिक वन स्थापाना कालदेखि नै भुटानी शरणार्थीहरु बसोबास गरेको वन क्षेत्र हालसम्म समाधान हुन नसक्नु चुनौतिको रुपमा रहेको छ ।
पशुपति सामुदायिक वन क्षेत्रभित्र रहेको करिव ५१ हेक्टरमा भुटानी शरणार्थीहरु बसोबास गर्दै आएका छन् । हाल अधिकांश शरणार्थीहरु तेस्रो मुलुक पुनर्वास भए पनि केही भनें सोही क्षेत्रमा रहेका छन् ।

उक्त क्षेत्रमा नगरपालिकाको कार्यालय स्थापना गर्ने कामको थालनी भने भएको छ ।
यसैगरी, पशुपति सामुदायिक वन उपभोक्ता समूहले वनमा आधारित पर्यटनको विकासलाई प्राथमिकता दिएको छ । जसका लागि भुटानी शरणार्थीहरु तेस्रो मुलुक पुनर्वास भएपछि खाली रहेको भुभागमा फलफुलका विरुवा रोपण गरी हुर्काउने कार्य भइरहेको वन समूहका सह–सचिव रणबहादुर राई बताउँछन् । उक्त क्षेत्रमा आकर्षक फुटपाथ निर्माण गर्ने र आगन्तुक पर्यकटहरुलाई समेत ताजा फलफुलको स्वाद चखाउने योजना रहेको उनको भनाई छ ।

वन समूहले आफ्नो क्षेत्रमा पर्ने खानेपानी मुहानको संरक्षण गर्दै वरपरको सिमसारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएको अध्यक्ष पुष्पराज शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार वनलाई अतिक्रमणबाट जोगाइ राख्नका लागि पनि खाली रहेको क्षेत्रमा फलफुलका विरुवा रोपेर पर्यटक भित्र्याउने वन समूहको योजना रहेको छ ।

बाह्रै महिना चिसो र बगीरहने पानी भएकोले यस क्षेत्रमा पूर्वाधार व्यवस्थापन गरी वनमा आधारित पर्या–पर्यटन प्रवद्र्धन गर्न लागि परेको पूर्व अध्यक्ष एवं सल्लाहकार संयोजक ईश्वर चौहानले बताए । वन क्षेत्रमा रहेको बागे सिमसारलाई आन्तरिक पर्यटक आकर्षण गर्नका लागि रमणीय स्थलको रुपमा विकास गर्ने लक्ष राखि उक्त स्थानका डीपीआर समेत गरिएको चौहानले बताए ।

यसैगरी वन समूहले नयाँ सोमबारे कृषी बजारदेखि पूर्व–दक्षिणको खाली जमिन र बालविकास केन्द्रभन्दा पश्चिमको जब्दीमा पोखरी निर्माण गर्ने उद्देश्य राखेको छ । गाउँघरमा र वनमा डढेलो लागेमा दमकललाई पानी भर्न र वन्य जन्तुलाई पानी खानका लागिसमेत सजिलो होस् भनेर कार्यालयभन्दा दक्षिण नयाँ सोमबारे बजार पूर्वको स्थानमा पोखरी निर्माण गरेको छ । उक्त पोखरी निर्माण पछि आसपासका किसानलाई सिंचाइको सुविधा समेत पुग्ने अनुमान गरिएको छ ।

पोखरीहरु निर्माण भएपछि डिलमा विभिन्न जातका फुलका विरुवा रोप्ने, आगन्तुकलाई बस्ने फलैंचा निर्माण गरी वनभोज स्थलको रुपमा विकास गर्ने वन समूहको योजना रहेको समूहका उपाध्यक्ष बालकुमार मगरले बताए ।
काठ दाउराबाट आएको आम्दानीबाट मात्रै होइन, दिगो आम्दानीको श्रोतको रुपमा वन क्षेत्रमा रहेको उक्त सिमसारलाई पूर्वकै नमूना बनाउने योजना रहेको सचिव आरती राईले बताइन् । वनलाई प्राणी जातिको सुरक्षित घर र पर्यापर्यटनको थलो बनाउने काममा के महिला के पुरुष सवैको सहकार्य आवश्यक रहेको कोषाध्यक्ष उमा लामा राईको भनाई छ ।


यस्तै, पशुपति सामुदायिक वनले अन्तर समूह अवलोकन भ्रमणलगायतका कार्यहरु गरेको लेखा सदस्य निरञ्जन मण्डल बताउँछन् । समूहले संस्थागत विकासका लागि अन्य समूहहरुले हासिल गरेका अनुभव, ज्ञान, सीप र कार्यक्रमहरुको प्रत्यक्ष अवलोकन निरीक्षण गरी उपयोगी कार्यक्रमहरु आफ्नो समूहमा कार्यान्वयन गर्ने उद्देश्यले नेपालका विभिन्न सामुदायिक वनहरुको भ्रमण गरेको उनको भनाई छ । समूहले उदयपुरको इन्द्रकमल सामुदायिक वन, नयाँ जनप्रेमी सामुदायिक वन, रौता पोखरी, भोजपुरको महभिरढाँड सामुदायिक वन, खोटाङ र धनकुटाका विभिन्न स्थानहरुको अवलोकन भ्रमण गरेको लेखा संयोजक ओम ढकालले जानकारी दिए ।

त्यसैगरी, आ.व. २०८१÷०८२ अन्तरगत गत वैशाख १८ र १९ गते पूर्वी नेपालका विभिन्न सामुदायिक वन र पर्यटकीय स्थलको अवलोकन गरेको थियो । जसमा झापाको बाँसबारी सामुदायिक वन र इलामको अन्तु सामुदायिक वनका साथै श्रीअन्तु पोखरी, माइपोखरीलगायतका सुन्दर पर्यटकीय स्थलको अवलोकन गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes