सहिद मार्गको ३ मिटर मात्रै कालोपत्रेः स्थानीयको आक्रोश, निर्माण कार्य रोकियो - Pahilo Online

सहिद मार्गको ३ मिटर मात्रै कालोपत्रेः स्थानीयको आक्रोश, निर्माण कार्य रोकियो

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे, मोरङ । पथरीशनिश्चरे नगरपालिका–४ र ८ को सीमामा पर्ने कुशलचोकदेखि नगरको रिङरोडसम्मको सहिद मार्ग कालोपत्रे गर्ने कार्यप्रति स्थानीयवासी असन्तुष्ट बनेका छन् ।

१० मिटर चौडा र १ हजार ६ सय मिटर लामो सहिद मार्गलाई कालोपत्रे गर्नका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय कोसीबाट तत्कालिन मन्त्री गणेश उप्रेती ‘शुशील’को पहलमा २० लाख र प्रदेश सांसद गीता तिम्सिनाको सिफारिसमा शहरी विकास तथा भवन कार्यालयबाट थप २० लाख गरी कुल ४० लाख रुपैयाँ बजेट विनियोजन भएको हो ।

तर, हाल १० मिटर चौडा भनिएको सडकमा केवल ३ मिटर मात्र कालोपत्रे गरिँदैछ । सडकको बाँकी भाग खाली छ र दुवैतर्फ ड्रेन समेत छैन । यसरी साँघुरो कालोपत्रे गर्दा दुईतर्फी सवारीसाधन आवतजावतमा समस्या हुने र दुर्घटना बढ्ने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन् ।

स्थानीयवासीका अनुसार पहिले नै ग्राभेल गरिएको सडकमा बीच भागमा मात्रै थप मिक्स गिटी हालेर भाइबेटर चलाइएको छ । बाँकी दायाँ–बायाँ माटोको मात्र भाग भएकाले सवारी पास गर्दा दुर्घटनाको जोखिम उच्च रहेको उनीहरूको भनाइ छ । वर्षातका बेला माटो बग्ने र सडक अझै भासिने सम्भावना रहेको जनाउँदै स्थानीयले बाँकी भागमा समेत गिटी हालेर रोलर लगाउन माग गरेका छन् ।

स्थानीयवासीले बिहीबार विहानैदेखि बाँस तेस्र्याएर निर्माण कार्य अवरोध गरेका छन् ।

घर अगाडिको सडक कालोपत्रे हुने थाहा पाएपछि खुशी हुँदै आँगन, चर्पी, ट्युववेल, पशुपंक्षीको खोर र फलफूलका रुख समेत हटाएर नम्बरी जग्गा सडकका लागि दिएका स्थानीय अहिलेको निर्माण तरिकाबाट आक्रोशित छन् ।

‘गाउँलेहरुले गाइ गोठ, कुखुरा, बाख्रा, सँुगुरको खोर नभनी फलफुलका रुख पनि नभनी बाटो पिच गर्नका लागि जग्गा दिएका थियौं’–स्थानीय शान्ता ठकुरीले भनिन् ‘अहिले बाटो त होइन मान्छे मार्ने पासो पो बनाउन थाले ।’
सभासद लालबहादुर सुस्लिङका अनुसार सम्पूर्ण १६ सय मिटर सडकमा ग्राभेल गर्ने सिफारिससहित मन्त्रालयमा पेश गरेर बजेट ल्याइएपनि स्थानीय सरोकारवाला नागरिकलाई जानकारी नै नदिई डेढ किलोमिटर टाढाका व्यक्तिसँग मात्र सल्लाह गरेर काम अघि बढाइएकोप्रति असहमति जनाएका छन् ।

पूर्व जनप्रतिनिधिसमेत रहेका स्थानीय खड्ग सुस्लिङ मगरका अनुसार वडा नम्बर ४ र ८ का वडाध्यक्ष मिलेर प्राविधिक स्टिमेट संशोधन गरी छोटो दुरीको कालोपत्रे गर्न लागेको जनाइएको छ । ‘हामीले सिफारिस गरेअनुसार नभई मनपरी निर्णय गरेर काम गर्दा स्वीकार्य छैन’, उनले भने ।

यसैबीच वडा नम्बर ८ का वडाध्यक्ष नविन कार्कीले भने ठेकेदार कम्पनीसँग समन्वय गरी स्थानीयको माग अनुसार कालोपत्रे बाहेकको भागमा गिटी हाल्ने सहमति भएको बताएका छन् । यता वडा नम्बर ४ का वडाध्यक्ष लोकनाथ न्यौपानेले भने ‘स्थानीयवासीको इच्छा र सुविधाका लागि कालोपत्रे बन्न लागेको हो, उनीहरुको चित्त बुझाएर हामी काम गरिदिन्छौं ।’

निर्माण क्षेत्रमा कुन तहको सरकारको बजेट, कति बजेट, कति लम्बाई चौडाइको सडक, कहिलेसम्ममा सक्ने आदिबारेको आयोजना सूचना पाटीसमेत नराखिएको हुँदा स्थानीयले पारदर्शीतामा समेत आशंका गरेका छन् । स्थानीयवासीले आफ्नो माग पूरा नभएसम्म कुनै ‘उधारो आश्वासन’ नमानेर निर्माण कार्य रोक्ने अडान लिएका छन् ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes