शनिश्चरे । मोरङ पथरीशनिश्चरे–९ स्थित महिला जागृति सामुदायिक वन उपभोक्ता समूहले तीन दिवसीय साबुन, फिनेल र हर्पिक बनाउने सिपमूलक तालिम सम्पन्न गरेको छ । सहयोगी नेपाल, विर्तामोड झापाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको तालिममा ४९ जनाले सहभागिता जनाएका थिए । सहभागीहरूमा टोला प्रमुख, कार्य समिति सदस्य, लेखा समिति, अनुगमन समिति लगायतका व्यक्तिहरू रहेका थिए ।
तालिम अवधिभर सहयोगी नेपालका अध्यक्ष दयालाल राजवंशी (डीएल) ले प्रशिक्षकका रूपमा साबुन, फिनेल र हर्पिक बनाउने सीपको प्रशिक्षण तथा सहजीकरण गरेका थिए । तालिममा सहभागिहरूलाई सम्बन्धित उत्पादनहरू तयार पार्न आवश्यक सामग्री, प्रक्रिया र सुरक्षा सावधानीबारे जानकारी दिइएको थियो ।
तालिम समापन समारोहका प्रमुख अतिथि सव डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख अलाउद्दिन मियाले सहभागीहरूलाई शुभकामना व्यक्त गर्दै यस्तो प्रकारको सिपमूलक तालिमले महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी, पथरीशनिश्चरे–९ का वडा सदस्य जंगबहादुर कार्कीले समुदायमा रोजगारी सिर्जना हुने खालका यस्ता कार्यक्रमप्रति वडाको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए ।
प्रशिक्षक राजवंशीले तालिमपछि पनि सहभागीहरूसँग निरन्तर समन्वय गरी सिपको प्रयोगमार्फत उद्यम सुरु गर्न सहयोग गरिने बताए । प्रशिक्षार्थी प्रतिनिधिका रूपमा कमल दाहालले तालिमबाट आफूहरू धेरै लाभान्वित भएको अनुभव सुनाए ।
कार्यक्रममा सल्लाहकार समिति सदस्य तथा पत्रकार मोहन भट्टराईले तालिम अवधिभर सिकेको सिपलाई व्यवहारमा लागु गरी आय आर्जन गर्न आग्रह गरे । लेखा समिति संयोजक नवराज ढुंगानाले शुभकामना मन्तव्य दिँदै समूहका आर्थिक पारदर्शितालाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।
समापन समारोहको अवसरमा सहयोगी नेपालका तर्फबाट अध्यक्ष राजवंशीले महिला जागृति वन उपभोक्ता समूहलाई सम्मानपत्र प्रदान गर्दै समूहको सक्रियता र अग्रसरतालाई प्रशंसा गरे । सहभागीहरूलाई प्रमाणपत्रसहित उनीहरूले तालिम अवधिमा उत्पादन गरेका फिनेल, हर्पिक र साबुनको नमुना सामग्री उपहारस्वरूप वितरण गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता समूहकी अध्यक्ष तुलसा याखाले गरेकी थिइन् भने सहसचिव मुना पाण्डेले सञ्चालन तथा सचिव तुलसीराम श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।