कानेपोखरी । मोरङको कानेपोखरीमा १० औं सि.एच.आई.टी.एफ. तेक्वान्दो प्रतियोगिता हुनेभएको छ ।
सी.एच.आईटीएफ तेक्वान्दो संघ कोशी प्रदेशको आयोजनामा यही वैशाख १५, १६ र १७ गते कानेपोखरीको जनसेवा माध्यमिक विद्यालयको खेल मैदानमा हुन लागेको हो ।
आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको विषयमा जानकारी गराएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ स्थापित संघले तेक्वान्दो खेल मार्फत् स्वस्थ, शिक्षित र अनुशासित नागरिक उत्पादन गर्ने लक्ष्य लिएको बताइएको छ । सो प्रतियोगितामा २५ जिल्लाबाट करिब ४ सय ५० जना सहभागी हुने आयोजकहरूले जनाएका छ । सहभागीहरू मध्ये ३ सय ५० जना खेलाडी, ५० जना रेफ्री, १० जुरी, १० अफिसियल तथा ३० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरु रहनेछन् ।
पुरुष र महिला दुवैतर्फ सिंगल फाइट, ग्रुप फाइट, सिंगल प्याटन र ग्रुप प्याटन विधामा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ २० केजीदेखि ९० केजी र महिलातर्फ २० केजीदेखि ८० केजीसम्मको तौल समूहमा प्रतिस्पर्धा हुने जनाइएको छ ।
संघले हालसम्म २२ जना ब्ल्याक बेल्ट वान डन, २ जना टु डन र २ जना थ्री डन खेलाडी उत्पादन गरिसकेको छ । प्रदेशभर खेलाडी संख्याको हिसाबले तेह्रथुमको आठराई गाउँपालिकाबाट ७० जना र मोरङको उर्लाबारी, कानेपोखरी र रंगेलीबाट १ सय २० जना खेलाडीहरु सक्रिय छन् ।
प्रतियोगिता आयोजना गर्न करिब ८ लाख ७० हजार रुपैयाँको अनुमानित लागत लाग्ने बताइएको छ । यसका लागि स्थानीय सरकार, संघ संस्था, खेलप्रेमी र दाताहरूसँग सहयोगको अपेक्षा गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
कार्यक्रमको सफल आयोजनाका लागि संघका अध्यक्ष युवराज भूजेल (ब्ल्याक बेल्ट थ्री डन) र सचिव दिनेश सुब्बा लिम्बु नेतृत्वमा तयारी कार्य तीव्र पारिएको छ । सञ्चारकर्मीको जिज्ञासाहरुलाई नेपाल सी.एच.आईटिएफ तेक्वान्दो संघ कोशी प्रदेशका अध्यक्ष ंयुवराज भूजेलले प्रष्ट पार्नुभएको थियो ।