पथरी । वन डढेलोको बढ्दो जोखिमलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न पालिकामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छन् । मोरङको पथरीशनिश्चरे, लेटाङमा सामुदायिक वन उपभोक्ता महासंघ, डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालयहरुको संयोजनमा जनचेतनामूलक र्याली, कोणसभा, व्यानर प्रदर्शन र अभिमुखीकरण कार्यक्रमहरू सम्पन्न भएका छन् ।
आज सोमबार मोरङको पथरीशनिश्चरेस्थित सामुदायिक वन उपभोक्ता महासंघ नगर महासंघको आयोजनामा वन डढेलो नियन्त्रण सप्ताहको उद्घाटन कार्यक्रम भएको छ । मनकामना सामुदायिक वनबाट सुरु भएको र्याली हाटखोला, भेटनरी लाइन, सिनेमाहल लाइन हुँदै शिखर चोकबाट मन्दिर लाइन भएर शान्ति सामुदायिक वनको भुल्के सिमसारमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा नगर महासंघकी अध्यक्ष मैनादेवी फुयल आचार्यको अध्यक्षता रहेको थियो भने सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) प्रदेश महासचिव रेणुका दाहाल, प्रदेश सचिवालय सदस्य अग्नी पौडेल, जिल्ला कार्यबाहक अध्यक्ष मदन पोखरेललगायतको उपस्थिति रहेको थियो । नगर महासंघका सचिव हेमभक्त गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
सप्ताहको उद्घाटन कार्यक्रम अन्तर्गत फायर लाइन सफा गर्ने, नमुना अभ्यास, पातपतिङ्गर हटाउने र जलाउने जस्ता गतिविधिहरू गरिएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगर महासंघका अध्यक्ष फुयलका अनुसार वनमा डढेलो लाग्न नदिन स्थानीयलाई सचेत बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा सव डिभिजन वन कार्यालय पथरीका निमित्त प्रमुख कृष्ण चोङबाङले वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपायहरू अवलम्बन गर्दै जनधन र वनको क्षति न्यूनीकरण गर्न सबैलाई सक्रिय भूमिका खेल्न आग्रह गरे । उनले वनबाट हुने आम्दानीको संरक्षण गर्दै अन्य विकल्पहरू पहिचान गरी आयआर्जनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।
त्यस्तै फेकोफन प्रदेश सचिवालय सदस्य अग्नी पौडेलले वन डढेलो रोकथामका लागि स्थानीय उपभोक्ताको भूमिका महत्वपूर्ण रहेको बताउँदै नेपालको संविधानअनुसार जंगलमा आगो लगाउनेलाई कानुनी कारबाही हुने चेतावनी दिए । कार्यक्रममा उपस्थित विभिन्न सामुदायिक वनका उपभोक्ताहरूले “डढेलोबाट वन जोगाऔं“, “जैविक विविधताको संरक्षण गरौं“ जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
फेकोफन जिल्ला कार्यबाहक अध्यक्ष मदन पोखरलले वनमा लाग्ने ९९ प्रतिशत डढेलो मानवीय कारणले हुने हुँदा यसको रोकथामका लागि सबैलाई सचेत रहन आग्रह गरे । पोखरेलले गर्मी मौसममा वन डढेलोको जोखिम बढ्ने भएकाले सबैलाई सचेत रहनुपर्ने बताए ।
यस्तै, मोरङको पथरीशनिश्चरेका चार सामुदायिक वनले डढेलो तथा आगलागी नियन्त्रण सम्बन्धी सचेतनामुलक र्याली सम्पन्न गरेका छन् । बिहीबार कानेपोखरी सव डिभिजन वन कार्यालय अन्तर्गतका डाँस मोरङी सामुदायिक वन, भुल्के पशुपति सामुदायिक वन, सिताछधारे सामुदायिक वन र महिला जागृति सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा उपभोक्ताका साथै वन अभियन्ताहरूको उपस्थिति रहेको थियो ।
सिता छधारे सामुदायिक वनको कार्यालय परिसरबाट सुरु भएको र्याली वडा नं. ९ को मगरटोल, महिला जागृति सामुदायिक वनको कार्यालय परिसर, शनिश्चरे बजार, काङ्सोरे चोक, वडा नं. ८ को नयाँ मंगलबारे बजारहुँदै बुद्ध मावि, सखुवारा बजारबाट उत्तर लागेको थियो । र्याली गुराँस चोकबाट शनिश्चरे चोक हुँदै सगरमाथा चोक, महेन्द्र चोक हुँदै धिमाल टोलबाट ऐयाबारी हुँदै भुल्के पशुपति सामुदायिक वनको आसपासबाट डाँस मोरङ्गी सामुदायिक वनको कार्यालय परिसरमा पुगेर समापन भएको थियो ।
र्यालीसँगै विभिन्न चोकहरूमा कोणसभा पनि गरिएको थियो । नयाँ मंगलबारे बजार, सखुवारा बजार र शनिश्चरे बजारमा आयोजित कोणसभामा समुदायलाई डढेलो नियन्त्रणका उपायहरूबारे जानकारी दिइएको थियो ।
र्यालीमा सहभागीहरूले डढेलो नियन्त्रण सम्बन्धी प्लेकार्ड बोकेका थिए भने वनलाई डढेलोबाट बचाउन जनचेतनामूलक विभिन्न नाराहरू लगाएका थिए । साथै, डढेलो लगाउनेको पहिचान गरी कारवाहीका लागि नजिकैको प्रहरी, वन समूह वा वन कार्यालयलाई खबर गर्न अनुरोध गरिएको थियो । वन्यजन्तु चोरी तस्करी नगर्नसमेत सबैलाई आग्रह गरिएको थियो ।
विभिन्न क्षेत्रहरूमा सचेतना पोस्टर टाँस्ने, सचेतना कार्यक्रम गर्ने तथा डढेलो रोकथामका उपायहरूबारे जानकारी गराउने अभियान चलाइएको छ ।
यसैगरी, सुख्खा मौसममा हुने वन डढेलो तथा गाउँघरमा हुने आगलागीबाट हुन सक्ने क्षति र वातावरणीय असन्तुलनलाई न्यूनीकरण गर्न जनचेतना विस्तार गर्ने उद्देश्यले लेटाङमा वृहत ¥याली सम्पन्न भएको छ । वन डढेलो तथा आगलागी नियन्त्रण सप्ताह अन्तर्गत आयोजित उक्त ¥याली बुधबार लेटाङ बजारमा निकालिएको हो ।
सब डिभिजन वन कार्यालय, लेटाङको आयोजनामा तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, लेटाङ नगर महासंघको अध्यक्षता रहेको मूल समारोह समितिको संयोजनमा भएको उक्त ¥यालीमा स्थानीय संघसंस्था, विद्यालयका विद्यार्थी, सुरक्षा निकाय तथा स्थानीयबासीको उत्साहजनक सहभागिता रहेको थियो ।
लेटाङ बजारको पुच्छारस्थित विश्वकर्मा मन्दिर अगाडिबाट सुरु भएको ¥याली बजार परिक्रमा गर्दै सचेतनामूलक नारासहित सम्पन्न भएको थियो । वन तथा वातावरण संरक्षणका लागि सचेतनात्मक प्लेकार्ड र व्यानरसहित ¥यालीमा सहभागीहरूले ‘वन डढेलो रोकौं, वातावरण जोगाऔं’, ‘सुरक्षित वन, सुरक्षित भविष्य’, ‘आगलागी रोकथाममा सबैको जिम्मेवारी’ जस्ता सन्देश प्रवाह गरेका थिए ।
कार्यक्रममा वन संरक्षण र आगलागी नियन्त्रणका उपायहरूमा स्थानीय समुदायको प्रत्यक्ष संलग्नता आवश्यक रहेको उल्लेख गरिएको सामुदायिक बन उपभोक्ता महासंघ लेटाङ नगर अध्यक्ष आनन्द सागर तिम्सिनाले जानकारी दिए । साथै, हरेक व्यक्तिले सचेत रहँदै आगलागी रोक्ने उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिएको थियो ।