प्रगतिशिल सामुदायिक वनको लोभलाग्दो प्रगति - Pahilo Online

प्रगतिशिल सामुदायिक वनको लोभलाग्दो प्रगति

writer

मोहन भट्टराई

उर्लाबारी । मोरङको उर्लाबारीस्थित प्रगतिशिल सामुदायिक वन उपभोक्ता समूहले पछिल्लो समय पर्यापर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकता दिँदै आएको छ । यस क्षेत्रलाई आकर्षक बनाउने उद्देश्यले विविध पूर्वाधार निर्माण भइरहेका छन् ।
स्थानीय श्रोतसाधनको अधिकतम उपयोग गर्दै यो क्षेत्र पूर्वकै महत्वपूर्ण पर्यटकीय स्थल बन्ने लक्ष्यमा अघि बढिरहेको छ ।

पर्यटकीय पूर्वाधार निर्माणमा तिव्रता
प्रगतिशिल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तारिलाल धिमालका अनुसार हालसम्म यहाँ विभिन्न संरचनाहरु निर्माण भइसकेका छन् । ‘हामीले बाटोघाटो, पिकनिक स्पट, शौचालय, खानेपानीको व्यवस्था तथा आकर्षक झुलाहरु निर्माण गरिसकेका छौं’– धिमालले भने ।
वन क्षेत्रमा हालसम्म ५ वटा पिकनिक स्पट निर्माण भइसकेका छन् भने लक्ष्य २० वटा निर्माण गर्ने रहेको छ । पर्यटकहरुको सुविधाका लागि विभिन्न संरचनाहरु थपिँदै छन् । हालै मात्र काठका कलात्मक पुलहरु बनाइएको छ, जसमा पर्यटकहरुले फोटो खिच्न र टिकटक बनाउन रुचि देखाएका छन् । यी पुलहरु स्थानीय कालीगढको सीप प्रयोग गरी मौलिक ढाँचामा निर्माण गरिएका छन् ।

नयाँ संरचनाको योजना
आगन्तुक पर्यटकहरुको आकर्षणका लागि यहाँ ट्रि हाउस, मासु पोल्न आवश्यक सामग्री, साना बैठक हल तथा मिनी हल निर्माण गरिएको छ । निकट भविष्यमा बालबगैँचा, फनपार्क, सुटिङ स्पट लगायत थप संरचना बनाउने योजना रहेको अध्यक्ष धिमालको भनाई छ । ‘हालसम्म यहाँ ७ वटा पोखरी निर्माण भइसकेका छन्’– अध्यक्ष धिमालले भने ‘जसमा ३ ठूला र ४ साना छन् ।’ पोखरीमा माछा पालन तथा बोटिङको व्यवस्था गर्दै पर्यटनबाट आम्दानी गर्ने लक्ष्य राखिएको उनले सुनाए ।

सहयोग आवश्यक
वन समूहका अध्यक्ष धिमालका अनुसार चुरे उत्थानशील आयोजनाले पोखरी निर्माणमा उल्लेखनीय सहयोग गरेको छ, जसले पर्यटकीय क्षेत्र निर्माणमा प्रेरणा प्रदान गरेको छ । तथापि, अन्य सरकारी निकायबाट पर्याप्त सहयोग प्राप्त नभएकाले आर्थिक अभावको समस्या देखिएको छ । ‘हामीले विभिन्न मनकारी दाताहरुलाई यस क्षेत्रको विकासका लागि सहयोग गर्न अनुरोध गरेका छौं’–अध्यक्ष धिमालले भने ‘हामी आफन्तको नाममा फलैंचा, धर्मशाला, स्वागत गेट, कटेज, शौचालय जस्ता संरचना बनाउन चाहने जो कोहीलाई स्वागत गर्नेछौं ।’

साल प्रजातिको वृद्धि र दिगो पर्यटन लक्ष्य
वन क्षेत्रमा साल प्रजातिको रूख न्यून भएकाले यसको वृक्षारोपणलाई प्राथमिकता दिने योजना छ । प्रगतिशिल सामुदायिक वनलाई पूर्वकै प्रसिद्ध पर्यटकीय स्थलको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ, जसले वार्षिक लाखौं पर्यटक भित्र्याउने अपेक्षा गरिएको छ ।
पर्यटकीय सम्भावना बोकेको यो वन क्षेत्रको विकासका लागि आवश्यक सहयोग जुट्ने हो भने उर्लाबारीको नाम नयाँ गन्तव्यको रूपमा स्थापित गर्न सकिनेछ ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes