शनिश्चरे । प्याराडाईज इङ्लिस बोर्डिङ स्कुलको २१ औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम २०८१ भव्य रूपमा सम्पन्न भएको छ । विद्यालय परिसरमा आयोजित यस कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घोषण शिक्षक दुर्गा बहादुर कार्कीले गरेका थिए । औपचारिक कार्यक्रमको शुरुवात आसन ग्रहणबाट भएको थियो, जसमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र लिम्बुले अध्यक्षता गरेका थिए । प्रमुख अतिथिका रूपमा वडा नं. ९ का वडा अध्यक्ष वीरबहादुर राई रहेका थिए भने विभिन्न सम्माननीय व्यक्तित्वहरू विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रमको पहिलो चरण स्वागत मन्तव्य र औपचारिक उद्घाटनबाट प्रारम्भ भएको थियो । कार्यक्रम संयोजक शान्तिराम बरालले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए । त्यसपछि प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरि उद्घाटन गरिएको थियो । विद्यालयका विद्यार्थीहरूले स्वागत नृत्य ‘हर रात सपनामा नेपाल देख्न पाऊँ’ प्रस्तुत गरेका थिए ।
विद्यालयका छात्रा चाहना तिम्सिनाले विद्यालयसँग सम्बन्धित आफ्ना अनुभवहरू व्यक्त गरिन् । त्यसपछि विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई विभिन्न विधामा पुरस्कृत गरियो । सांस्कृतिक कार्यक्रमअन्तर्गत विभिन्न नेपाली लोक नृत्य, आधुनिक नृत्य तथा गायन प्रस्तुति भएका थिए ।
पहिलो सत्रमा विद्यालयका विद्यार्थीहरूले ‘भूईसोरी ढोगे है’, ‘जुत्ता सिउने साइला दाई’, ‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो’, ‘आँखैमा राख्छु मेरो देश’ लगायतका गीतमा नृत्य प्रस्तुत गरेका थिए । यसैगरी, प्रमुख अतिथिले मन्तव्य राख्दै विद्यालयको प्रगतिको प्रशंसा गर्दै विद्यार्थीहरूलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको दोस्रो सत्र विद्यार्थीहरूको विभिन्न सांस्कृतिक प्रस्तुति सहित सम्पन्न भयो । यस क्रममा ‘जुनी काट्छौ भन्थेउ नि मसित’, ‘साना साना आँखा’, ‘लेकका हामी केटाकेटी’, ‘पानी मुनी माछा’ जस्ता बाल नृत्यहरू प्रस्तुत गरिएका थिए । त्यसैगरी, गुरुङ, थारु, मारुनी लगायतका जातीय नृत्य तथा नाटक ‘महिला हिंसा’ प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको अन्त्यतिर कक्षा १० का विद्यार्थीहरूद्वारा गिटार सङ्गीतसहित ‘जीवनको बाटोमा’ गीत प्रस्तुत गरियो । कार्यक्रमको समापन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र लिम्बुले गर्दै विद्यालयको आगामी लक्ष्य र विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिने बताएका थिए । अध्यक्ष लिम्बुले वार्षिक उत्सवले विद्यालयमा विद्यार्थीको प्रतिभा उजागर गर्ने अवसर प्रदान गरेको बताए । यस कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायलाई एकताबद्ध गर्ने महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ ।