पथरीशनिश्चरे, पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ स्थित श्री भागीरथ माध्यमिक विद्यालयमा नेपाल शिक्षक संघ नगर कार्य समितिले पाँचौं प्रतिनिधि सभाको अवसर पारेर सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि हस्तलेखन (कक्षा १-५) तथा पावर पोइन्ट प्रेजेन्टेसन (कक्षा १-१०) प्रतियोगिताको आयोजना गरेको छ।
“गुणस्तरीय शिक्षा, उच्च शिक्षक मर्यादा र सुरक्षित नागरिक स्वतन्त्रता, नेपाल शिक्षक संघको प्रतिबद्धता” भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघ नगर अध्यक्ष भरत बहादुर खड्काले प्रविधिको युगमा विद्यार्थीहरूलाई नवीनतम कार्यक्रममार्फत अवसर प्रदान गर्न खोजिएको बताउनुभयो। उहाँले फागुन २४ गते सम्पन्न हुने प्रतिनिधि सभाको कार्यक्रमअन्तर्गत विद्यार्थी प्रतिभा पहिचानको उद्देश्यसहित आजको कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो।
नेपाल शिक्षक संघ नगर सचिव शैलेन्द्र बस्नेतले सहभागी विद्यार्थीहरूलाई कार्यक्रमका नियमबारे जानकारी गराउँदै उनीहरूलाई उत्तम प्रस्तुति दिन प्रेरित गर्नुभयो ।
कार्यक्रममा सोही विद्यालय व्यवस्थापन समिति अध्यक्ष पर्शुराम कार्की, विभिन्न विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिताका विजयी विद्यार्थीहरू
हस्तलेखन प्रतियोगितामा:
- प्रथम: आराध्या कटुवाल (बुद्ध मावि)
- द्वितीय: सुदिन लिम्बु (पंचायत मावि)
- तृतीय: यशोदा कटुवाल (सिंहवाहिनी मावि)
- सान्त्वना: पिङ्की मण्डल (दुर्गा मावि)
पावर पोइन्ट प्रेजेन्टेसन प्रतियोगितामा:
- प्रथम: निर्देश बुढाथोकी (पंचायत मावि)
- द्वितीय: सलिन तामाङ (भागिरथ मावि)
- तृतीय: खुशी आङ्देम्बे (चन्द्रकिरातेश्वर मावि)
- सान्त्वना: अनुशा सुनामा (सुनाखरी मावि)
नगरभरिका २१ वटा सामुदायिक विद्यालयहरू सहभागी रहेको प्रतियोगितामा प्रथम हुने विद्यार्थीहरूलाई नगद रु ३,०००, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ भने द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरूले क्रमशः नगद रु २,०००, रु १,०००, र रु ५०० सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिता विद्यार्थीहरूको सिर्जनशीलता, प्रस्तुति कौशल तथा प्रविधिसँगको समझदारी अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक समितिले जनाएको छ।