शनिश्चरे । मोरङ पथरीशनिश्चरे–९ स्थित शनिश्चरे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी शिक्षा कार्यक्रम गरेको छ । २०५९ सालमा स्थापना भएको सो सहकारीले नयाँ सदस्यहरुलाई सहकारीसम्बन्धी ज्ञान दिनका लागि कार्यक्रम गरेको हो ।
सहकारीबारे आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा अन्तर्गतका बचत सेवा र ऋण सेवासँगै सहकारी नीति, नियमबारे सदस्यहरूलाई जानकारी दिन सो कार्यक्रम गरिएको संस्थाका अध्यक्ष खगेन्द्र दाहालले बताए । कार्यक्रममा अध्यक्ष दाहालले संस्थामा नयाँ सदस्य बनेका सदस्यहरूलाई स्वागत गर्दै संस्थाबारे जानकारी दिएका थिए ।
उनले सहकारीको मर्मअनुसार संस्थाले समान रूपले काम गर्ने बताउँदै सहकारी संस्था स्थापनाको उद्देश्यबारे जानकारी लिनु जरुरी रहेको बताए । उनले सहकारी सामाजिक उत्तरदायित्व वहन गरि सदस्यहरूको आर्थिक, सामाजिक समस्या समाधानका लागि स्थापना भएको बताए ।
संस्थालाई अघि बढाउनका लागि विभिन्न उपसमिति गठन गरि अघि बढेको उल्लेख गर्दै सहकारी अभियानलाई पूरा गर्न सहकारीको संचालक समितिको मात्र नभएर सदस्यहरूको पनि भूमिका हुने उनले बताए ।
सहकारीको शिक्षा उपसमितिले आयोजना गरेको कार्यक्रममा सञ्चालक समिति सचिव थानेश्वर भट्टराईले सहकारी शिक्षाको महत्वबारे प्रष्ट गरे । उनले सहकारीको क्षेत्रमा शनिश्चरे साकोसको बेग्लै पहिचान रहेको उल्लेख गर्दै सहकारी संचालनका लागि तय गरिएका नीतिहरूबारे जानकारी समेत दिएका थिए ।
उनले सहकारीका सदस्यहरुलाई तालिमले अझै जिम्मेबार हुन प्रेरणा पुग्ने विश्वास ब्यक्त गरे । सचिव भट्टराईले सहकारीमा आधापेट खाएर वा बिभिन्न सानातिना काम गरेर बचत भएको संचिति जम्मा गर्ने उद्देश्यले जम्मा गरेको पैसा सुरक्षित रहेको बताए । सेयर सदस्यहरुलाई सहकारीको अवस्था कस्तो छ ? के भइरहेको छ ? हाम्रो लगानीको अवस्था कस्तो छ ? यसका नीति नियम कस्ता रहेका छन् ? भनेर सहकारी शिक्षा तालिम दिएको उनले बताए ।
सहकारीमा रहेका शेयर सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले वार्षिक कार्ययोजना अनुसार नै तालिम प्रदान गरेको व्यवस्थापक डिकबहादुर खड्काले जानकारी दिए ।
सहकारीलाई व्यवस्थित रुपमा सञ्चालनका लागि शेयर सदस्य, सञ्चालक र कर्मचारीको भूमिका प्रभावकारी हुनु पर्ने भएकाले तालिम सहयोगी भएको सहभागीहरुले बताए ।
तालिममा सहकारीको इतिहास, वर्तमान अवस्था, बचतको महत्व, जोखिम न्युनिकरण, वित्तिय अवस्था, सहकारीका नीति नियम, योजना निर्माण लगायतका बिषयमा अध्यक्ष दाहालले सहजीकरण गरेका थिए ।