पथरीमा यसरी मनाइयो विश्व वातावरण दिवस - Pahilo Online

पथरीमा यसरी मनाइयो विश्व वातावरण दिवस

writer

पहिलो अनलाइन

पथरी । विश्व वातावरण दिवस मोरङको पथरीमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ ।

यसवर्ष ‘हाम्रो भूमि,हाम्रो भविष्य’ भन्ने नारा तय गरिएको थियो । दिवसका अवसरमा पथरीशनिश्चरे –१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले विरुवा रोपण कार्यक्रमको आयोजना गरेको थियो । वन समूहको भुटानी शरणार्थीहरु तेस्रो मुलुक पुनःस्थापना भइ खाली रहेको जमिनमा कागती, अनार, रुख कटहर, बडहर लगायतका बिरुवा रोपण गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ नगर अध्यक्ष मैनादेवी फुयलले अहिले नै वातावरण संरक्षणमा जुट्न नसके आगामी पुस्तालाई जीवन जिउन कठिन हुने बताइन् । उनले अहिले प्लाष्टिकको बोटलमा पानी खानुपर्ने अवस्थाले मानिसको जीवनमा निकै असर पुग्ने भएपनि त्यसतर्फ ध्यान दिन नसकेको धारणा राखिन् ।

सो अवसरमाकार्यक्रमका विशेष अतिथि सव–डिभिजन वन कार्यालय पथरीका प्रमुख दिवशकुमार चौधरीले विश्व वातावरण दिवसलाई विरुवा रोपण गरी मनाएर मात्र नपुग्ने भन्दै वर्षभरि नै वातावरण संरक्षणको कार्यक्रम गर्नुपर्ने बताए ।

उनले सबैको सहयोगले जलवायुको समस्या, हरितगृह ग्यास उत्सर्जनको कारणले भएको वातावरण प्रदूषणलाई कम गर्न वृक्षारोपण आवश्यक रहेको बताए । हरितगृह ग्याँसको उत्सर्जन कम गर्नु भनेको वन जङ्गलको संरक्षण, संवद्र्धन र वन विकासमा टेवा पु¥याउने उनको भनाई छ ।
मानव जातिको महत्वाकांक्षा बढ्दै जाँदा भएको प्रकृतिको दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रासका साथै बढ्दो प्रदूषण आज चुनौती बनेको भन्दै वन अकृत चौधरीले विकासलाई वातावरणमैत्री बनाउन वृक्षारोपण आवश्यक रहेकाले वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको उल्लेख गरे ।

कार्यक्रममा उपभोक्ता समूहका उपाध्यक्ष बालकुमार ठाडा मगर, सचिव आरती राई, सह–सचिव रणबहादुर राई, कोषाध्यक्ष उमा लामा राई, पूर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार संयोजक ईश्वर चौहान, लेखा समिति सदस्य निरञ्जन मण्डललगायतको उपस्थिति रहेको थियो ।

यसैगरी, लेटाङ–९ जाँतेस्थित बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा विरुवा रोपण कार्यक्रम सम्पन्न भएको छ । समूहको खाली खाल्सा जमिनमा जामुन लगायतका विरुवा रोपण गरिएको अध्यक्ष होमनाथ सुबेदीले जानकारी दिए ।


सो अवसरमा कार्यसमिती, सव–डिभिजन जाँते, सव–डिभिजन वन कार्यालय मंगलबारेका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

यस्तै, पथरीशनिश्चरे–१ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समितिले भुल्के सिमसार क्षेत्रमा विरुवा रोपेर दिवस मनाएको हो । अध्यक्ष कुलमणी गुरुङ, उपाध्यक्ष नवराज मिश्र, कोषाध्यक्ष रोमान्सी धिमाल लगायतका पदाधिकारी, सदस्य उपस्थित कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी गणेश श्रेष्ठ, कार्यपालिका सदस्य वीरध्वज शिवा, सव डिभिजन वन कार्यालय पथरी लगायतबाट विरुवा रोप्न आएका थिए ।

यसैगरी नमुना घोषित पञ्चायत माविले पनि वृक्ष रोपन गरेर वातावरण दिवस मनाएको छ । वृक्ष रोपन कार्यक्रममा प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज बास्कोटा, शिक्षक र विद्यार्थीहरु रहभागी भएका थिए । विद्यालय परिसरमा समी, टिक, निम, धुपी लगायतका विरुवा रोपिएको प्रधानाध्यापक बुढाथोकीले बताए ।

संयुक्त राष्ट्र सङ्घले सन् १९७२ को जुन १६ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । यो सम्मेलनमा वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने विषय उठेको थियो । त्यसैअनुसार सम्मेलनको दोस्रो वर्ष अर्थात् १९७३ जुन ५ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes