बहुवर्षीय योजनाहरू समयमै सक्न वन मन्त्री उप्रेतीको निर्देशन - Pahilo Online

बहुवर्षीय योजनाहरू समयमै सक्न वन मन्त्री उप्रेतीको निर्देशन

writer

पहिलो अनलाइन

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती ‘सुशील’ ले प्रदेशका बहुवर्षीय योजनाहरू समयमै सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका छन् । बुधबार निर्माण व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम गरी मन्त्री उप्रेतीले प्रदेशका बहुवर्षीय योजनाको काम समयसीमाभित्रै सक्न निर्देशन दिएका हुन् ।

मन्त्री उप्रेतीले बहुवर्षीय योजनाको काममा ढिलासुस्ती नगरी यथासक्य रूपमा निर्माण सम्पन्न गर्न निर्देशन दिँदै त्यसका लागि मन्त्रालयले सहयोग गर्ने पनि उल्लेख गरे । उनले प्राविधिसहित आफैं पुगेर बहुवर्षीय योजनाहरूको अनुगमन गर्ने जनाउँदै त्यसबेलामा समय र बजेट थप्न परेमा नीति–नियम र परिधिभित्र रहेर थपिने पनि जनाए ।

‘आवश्यकता र औचित्यता हेरेर समय बजेट र समय थप्न सकिन्छ,’ उनले भने, ‘ तर, औचित्य पुष्टि गर्नुपर्छ, त्यतिकै समयावधि र बजेट थप्न सकिँदैन ।’ कतिपय आयोजनाहरू अलपत्र छोडिने गरेको बताउँदै मन्त्री उप्रेतीले भने, ‘प्रायः बहुवर्षीय आयोजना अपपत्र पर्ने गरेका छन् । हामीले बजेट पनि प्रशस्तै हालेका छौं, पुगेन भने थप पनि गर्ने गरेका छौं । तर, गम्भीर भएर समयमै काम सकेको राम्रो । यो आग्रह गर्नका लागि नै हामीले यहाँ अन्तरक्रिया राखेका हौं ।’ यस्तै, कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव विशाल घिमिरेले योजनाहरू समयमै सक्नका लागि मन्त्रालयले सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

आयोजना प्रमुख कुलदीप यादवले बहुवर्षीय योजनाको डिपिआर छुटपुट हुँदा कतिपय कामले गति लिन नसकेको भए पनि त्यो समस्या चाँडै अन्त्य गर्न लागिपरेको सुनाए । यता, निर्माण व्यवसायीहरूले निर्माणका कामहरूमा मन्त्रालयले पहिलोपटक अन्तरक्रिया गरेकोमा खुसी व्यक्त गरे । उनीहरूले समयमै काम सक्ने प्रतिबद्धता जनाउँदै आवश्यकता हेरेर समयसीमा–बजेट थपेर मन्त्रालयले सहयोग गरिदिनुपर्ने बताए । कोशी प्रदेशमा अहिले चारवटा बहुवर्षीय योजनाहरू रहेका छन् ।

मोरङको रङ्गेली नगरपालिकास्थित संसारीमाईस्थानको पर्यटकीय पूर्वाधार विकास कार्य यसै वर्षको फागुन २५ गतेसम्म सकिसक्नुपर्ने छ । काठमाडौंको धुलीखेल निर्माण सेवा प्रालिले असार २०७७ मा सम्झौता गरी निर्माण कार्यलाई निरन्तरता दिइरहेको छ । यस्तै, काठमाडौंकै आरके जेभीले असार २०७७ सालमै सम्झौता गरी विराटनगर महानगरपालिकामा मुसाफिरखाना भवन निर्माणको काम गरिरहेको छ । यसको समयसीमा आगामी वर्षको वैशाखसम्म रहेको छ ।

यसैगरी, बहुवर्षीय योजनाका रूपमा सुनसरीको कोशी गाउँपालिका ६ र ७ मा मत्स्यगन्धा फनी निर्माणको काम भइरहेको छ । काठमाडौंको बिकोइ–प्रतिष्ठा–जोया एन्ड ब्रदर्श जेभीले वैशाख २०७८ मा सम्झौता गरेको यो योजना आगामी वर्षको असारसम्ममा सकिनुपर्ने छ । पाँचथरमा महागुरु फाल्गुनन्दको धार्मिक पार्क निर्माणको काम पनि भइरहेको छ ।

काठमाडौंको रसुवा–स्वामीनारायण–आशीष जेभीले माघ २०७८ मा सम्झौता गरी यसको काम गरिरहेको छ, जसको समयसीमा २०८१ मङ्सिरसम्म छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes