विगतलाई फर्केर हेर्दा - Pahilo Online

विगतलाई फर्केर हेर्दा

writer

शिवप्रसाद तिम्सिना

शिवप्रसाद तिम्सिना

म सानैदेखि समाजसेवी स्वाभावको थिएँ । धेरै नबोल्ने तर बोलेपछि भने गम्भीर कुरा मात्र बोल्ने मेरो वानी थियो । म कहिल्यै झगडालु स्वाभावको भइनँ, साथीहरूसंग असाध्यै मिल्थें ।
प्रायः मान्छेहरू सानैदेखि मैले बोलेका कुराहरू खुब ध्यान दिएर सुन्थे । समाजमा कसैलाई दुःख प¥र्यो भने म सहयोग गर्न पुगिहाल्थें । घरको आर्थिक अवस्था मध्यम थियो । बुबाआमा खेतीकिसानी गर्नुहुन्थ्यो । पढ्नको लागि मैले खुब संघर्ष गर्नुप¥यो ।

वि.सं. २०१५ साल वैशाख १९ गते जिल्ला तह्रथुम अम्फुवा गाविसमा मेरो जन्म भयो । बाल्यकालको शिक्षा त्यहींको सरस्वती प्रा.वि.मा ७ कक्षासम्मको अध्ययन पूरा भएको थियो ।

२०२८ सालको चैत महिनामा मोरङको बयरवना गाविसमा बसाई सरी आएपछि त्यहाँ माध्यमिक विद्यालय थिएन । नयाँ ठाउँ नयाँ परिवेश मध्यम वर्गीय परिवार भएकोले बाहिर गएर अध्ययन गर्ने अवसर थिएन । तीन वर्ष पढाई रोकियो । २०३२ सालमा जनसेवा माध्यमिक विद्यालयको स्थापना भयो । अब त्यहाँ अध्ययनको कार्य सुरु गरी २०३५ सालमा १० कक्षा उत्तिर्ण गरियो । अब उच्च शिक्षाको अवसर प्राप्त भएन ।

कक्षा १० पास गरेर मैले साविकको श्री जनकल्याण प्राथमिक विद्यालय आइतबारेमा २ वर्ष शिक्षण गरी विताएँ ।
त्यस पश्चात् रमाइलोबाट बसाई सर्ने क्रममा २०३८ सालमा शनिश्चरे गाविस आइयो । नयाँ ठाउँ नयाँ परिवेश, अब शिक्षण पेशा पनि छोडियो । र, खेतीपाती नै निर्भर रहेर बस्दै जाँदा ३÷४ वर्ष बितेको पत्तै भएनछ ।
जीवनमा म केही नगरी बस्नै सकीनँ । आर्थिक समस्या टार्न होस् या सामाजिक सेवाभावले होस् मैले केही न केही काम गरिरहेँ । मनमा भनें कुनै ठाउँमा जागिर खाने सोच आउँदै थियो । कहाँ जाने कुन प्रकारको काम गर्ने खुल्दुली चलि रहेको अवस्थामा अचानक सिंहबाहिनीका अध्यक्ष र पूर्व अध्यक्ष मेरो घरमा आउनुभयो ।

वहाँहरुले हाम्रो विद्यालयमा शिक्षण गर्नु पर्यो, यस्तै युवकको आवश्यकता छ भनेर भन्नु भयो । पुनः शिक्षण पेसामा लाग्न उहाँहरुले मलाई प्रेरणा दिनुभयो । मलाई पनि लाग्यो आजका बालबालिका भोलीका देश हाँक्ने खम्बा हुन् । उनीहरूलाई सहि दिशानिर्देश गर्नु मेरो सौभाग्य हो । शिक्षण पेसा समाज सेवा गर्नका लागी एउटा राम्रो ठाउँ भएकोले मैले यो पेशा रोजेको हुँ ।

दिनहरु अगाडि बढ्दै गए । एक वर्ष कुनै सर्त विना स्वयम् सेवक भएर कार्य गरियो । त्यसपछि सामान्य तलब भत्तामा कार्य गर्दै २०४८ सालमा स्थायी समेत भइयो । पैसा मात्रै कमाउने र आफ्नो घरपरिवार पाल्नलाई अरु पनि थुप्रै पेशा थिए तर शिक्षण पेसा मैले समाज सेवागर्नकै लागि अपनाएको हुँ । मलाई मेरो पेसाप्रति गर्व छ । म एकदमै खुशी पनि छु । मैले आफूलाई केटाकेटी, विद्यालय, कक्षाकोठा र सिकाइमै जोड दिएँ । त्यसमा म कति सफल भएँ वा असफल त्यो इतिहासले, समयले, मैले पढाएका केटाकेटीले र समुदायले मूल्यांकन गर्ला, गरिरहेको होला ।
कतिपय शिक्षक साथीहरूले जागीरको रूपमा यो पेसालाई लिने गर्नुहुन्छ, त्यो मलाई चित्त बुझ्दैन । वास्तबमा शिक्षण पेशा अत्यन्तै मर्यादित पेसा हुनुपर्ने हो तर त्यसो हुनसकेको छैन । त्यसमा मलाई दुःख लाग्छ ।

मेरो प्रमुख लक्ष्य भनेको शिक्षण पेसालाई नमुनाको रूपमा समाजमा स्थापना गर्ने र निरन्तर रूपमा शिक्षण पेशालाई मर्यादित बनाउनु पर्छ भन्ने हो । त्यसका लागि तीन दशकको शिक्षण यात्रालाई फर्केर हेर्दा अहिले मलाई लाग्छ,
१. शिक्षक राम्रो, सफा र मिलेको लुगा लगाएर कक्षामा जानुपर्छ ।

२. अनुहार हँसिलो बनाउनुपर्छ ।३. पढाउने पाठको पूर्व तयारीसहित कक्षामा जानुपर्छ ।

४. विद्यार्थीलाई आफूतिर आकर्षित गर्ने विभिन्न उपायहरू अवलम्बन गर्नु पर्छ ।

५. अध्यापन गर्दा विद्यार्थीकेन्द्रित शिक्षण विधि अपनाउनुपर्छ ।

६. पाठ पढाइसकेपछि बुझे नबुझेका कुराहरूको नियमित मूल्याङ्कन गर्नु पर्छ ।

७. सकारात्मक सोच राख्नुपर्छ ।

करिब तीन दशक लामो सहभागितापछि मैले शिक्षण पेशाबाट अवकाश लिइसकेको छु । मेरो लामो शिक्षण अनुभवले सिकाएका केही व्यवहारिक कुराहरू आजका शिक्षक साथीहरूलाई केही हदसम्म उपयोगी हुनसक्लान् कि भन्ने आशा राख्दै केही बुँदागत रूपमा उल्लेख गर्नु सान्दर्भिक ठान्दछुः

१. अभिभावक र प्रअबाट सकारात्मक सहयोग लिन जान्नुपर्दछ ।

२. शिक्षकहरूबीच सधैँ पारस्परिक सकारात्मक विचारको आदानप्रदान गर्नु पर्दछ ।

३. विद्यार्थीमा नयाँ–नयाँ कुरा सिक्ने बानीको विकास गराउनु पर्छ । उनीहरूमा सकारात्मक सोचको विकास गराउन विशेष ध्यान दिनुपर्दछ ।

४. पढाउने पाठको पूर्व तयारीका साथै विद्यार्थीलाई आफूतिर आकर्षित गर्ने विभिन्न क्रियाकलाप गर्नु पर्दछ ।

५. पाठ्यवस्तुलाई सघाउने थप विषयवस्तु र क्रियाकलाप आदि आवश्यक पर्दछन् ।

६. प्रअकोे हकमा विद्यालयमा नियमित उपस्थिति, आर्थिक कारोबारको पारदर्शिताका साथै शिक्षक, विद्यार्थी एवम् अभिभावकमा समान व्यवहार अपरिहार्य छ ।

७. शिक्षकको सम्बन्धमा विद्यार्थी र अभिभावकसँगको समान व्यवहारका साथै प्रअ एवम् शिक्षक, कर्मचारीबीच पारस्परिक सहयोगात्मक विचारको आदान–प्रदान भइरहनु पर्छ ।

८. शिक्षक, कर्मचारी र व्यवस्थापन समितिबीच राम्रो र सहयोगात्मक सम्बन्ध हुनुपर्दछ । त्यसनिम्ति प्रअको सकारात्मक भूमिका रहनु पर्दछ ।

९. विद्यालय विकासको लागि व्यवस्थापन समिति, अभिभावक प्रअ एवम् शिक्षकहरूबीच निरन्तर संवाद र अन्तरक्रिया हुनुपर्दछ ।

यति हुनसक्यो भने हाम्रा सार्वजनिक स्कूलहरूको स्तरमा केही वर्षमै उल्लेखनीय सुधार आउँछ भन्नेमा मलाई पूरा विश्वास छ । धन्यवाद !
(लेखक सिंहबाहीनी माविका पूर्व शिक्षक हुन् । सं.)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes