नमुना वडा कार्यालय : सेवाग्राही लिन घरैमा पुग्छ वडाको गाडी - Pahilo Online

नमुना वडा कार्यालय : सेवाग्राही लिन घरैमा पुग्छ वडाको गाडी

writer

पहिलो अनलाइन

सेवाग्राही लिन वडा कार्यालयको गाडी घरघरमै पुग्छ भनेको सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । किनकि अधिकांश वडा कार्यालय वा सरकारी कार्यालयमा सेवाग्राही जाँदा सामान्य काममा धेरै दुःख पाएका उदाहरण छन् । तर, ललितपुर महानगरपालिका वडा नम्बर ३ को गाडी बिहान नौ बजेदेखि १० बजेसम्स सेवाग्राही खोज्दै वडाभरि चक्कर मार्छ । वडाको यो विद्युतीय भ्यान सेवाग्राही लिन र घरैमा पुर्‍याउनसमेत जान्छ । उक्त विद्युतीय गाडीमा ६–७ जना चढ्न मिल्छ ।

अन्य समयमा उक्त भ्यानलाई ललितपुरको सानेपास्थित वडा कार्यालय प्रांगणमा पार्किङ गरिन्छ । सेवाग्राहीकै सहजताका लागि खरिद गरिएको उक्त भ्यानले सहज बनाएको वडाध्यक्ष श्रीगोपाल महर्जनले बताए । ‘हामीले एउटा वडाले दिनुपर्ने न्यूनतम सुविधा वडावासीलाई दिएका छौँ,’ उनले भने, ‘वडावासीबाट कर मात्रै उठाउने, तर सेवा नदिने गर्नु त भएन नि ?’ यसरी सेवाग्राहीलाई छुट्टै गाडी सुविधा दिने उपत्यकाकै एक मात्र वडा कार्यालय हुन सक्छ । यसबाहेक पनि यो वडा कार्यालय वडावासीलाई सेवा–सुविधा दिन निकै अगाडि छ ।

वडाले प्रशासनिक सुविधाबाहेक थप २२ प्रकारमा सुविधा दिँदै आएको छ । एकल पुरुषलाई भत्ता वितरण, वडा कार्यालयबाट नि:शुल्क कानुनी परामर्श, गर्भवतीका लागि मासिक एक हजार पौष्टिक भत्ता, ७० वर्षभन्दा माथिका व्यक्तिलाई घरघरमै वडाको प्रशासनिक सुविधा, शववाहन सुविधा र दुई हजार किरिया खर्चलगायत सुविधा दिँदै आएको छ ।

म:मदेखि खाद्य स्टोरसम्म सञ्चालन, तीन सयभन्दा बढीलाई रोजगार  
वडा कार्यालयले स्थानीयवासीका लागि प्रवाह गर्दै आइरहेका सुविधा उनीहरूको दैनिक जीवनसँग सम्बन्धित छन् । स्वरोजगार कार्यक्रमअन्तर्गत पुल्चोक, धोबीघाट र ज्वागलमा वडा खाद्यस्टोर, हाइजेनिक वार्ड मःम पसल, सुपथ मूल्य पसल, प्याकेट मसला बिक्री पसललगायत सञ्चालन गर्दै आइरहेको छ । यी पसलका सामनाको मूल्य निर्धारण पनि वडाले गर्छ । अन्य पसलमा भन्दा यहाँ कम मूल्यमा दैनिक आवश्यक खाद्यवस्तु बिक्री–वितरण गर्दै आइरहेको वडाध्यक्ष महर्जनले बताए । ‘हामीले यस्ता व्यवसाय सञ्चालन गरेर तीन सयभन्दा बढी स्थानीयलाई रोजगारी पनि दिएका छौँ,’ उनले भने, ‘यसलाई अझ विस्तार गर्दै लैजान्छौँ ।’ उनका अनुसार वडाकै बजेट र अनुदानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको हो । यसबाहेक वडाले २४सै घन्टा नि:शुल्क एम्बुलेन्स सेवा पनि प्रदान गर्दै आइरहेको छ ।

यी हुन् वडाले दिने फरक सुविधा 

  • नि:शुल्क विद्युतीय गाडी सुविधा 
  • एकल पुरुष भत्ता (मासिक दुई हजार) 
  • ढल सफा गर्न जेट मेसिन 
  • विपन्न परिवारका लागि धारा, बत्ती र नि:शुल्क शिक्षा 
  • एक व्यक्ति एक वडा स्वास्थ्य परिचयपत्र 
  • वडा कार्यालयबाट नि:शुल्क कानुनी परामर्श 
  • गर्भवतीका लागि मासिक एक हजार रुपैयाँ (पौष्टिक भत्ताका लागि) 
  • ७० वर्षभन्दा माथिका व्यक्तिलाई घरघरमै वडाको प्रशासनिक सेवा ।
  • शववाहन सुविधा र दुई हजार किरिया खर्च 
  • व्यक्तिगत घटना दर्ता (जन्म, विवाह, मृत्यु, बसाइँसराइ र सम्बन्धविच्छेद) गर्न आउँदा पाँच सय भत्ता 
  • निदान, सुमेरु, मेघा, ब्लड अस्पतालमा १५ देखि २५ प्रतिशतसम्म छुट 
  • आवश्यक पर्दा भाडामा सिसी क्यामरा प्रयोगलगायत ।        नयाँ पत्रिकाबाट

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes