प्रदेश १ मा गठबन्धनकै सरकार बन्ने संभावना - Pahilo Online

प्रदेश १ मा गठबन्धनकै सरकार बन्ने संभावना

writer

पहिलो अनलाइन

विराटनगर । प्रदेश नं. १ प्रदेशसभाको प्रत्यक्षतर्फ ५६ निर्वाचन क्षेत्रमध्ये ५३ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन परिणाम अन्तिम चरणमा पुग्दा आगामी सरकारबारे जोडघटाउ सुरु भएको छ । अहिलेसम्म मतपरिणाम घोषणा भएका ५३ क्षेत्रमध्ये एमालेले २४ सिट जितेको छ । यस्तै काँग्रेसले १५, माओवादी केन्द्रले ९, एकीकृत समाजवादीले ३ र राप्रपाले २ सिट जितेको छ । अहिलेसम्म सत्तारुढ गठबन्धनले २७ सिटमा जित निकाल्दा एमाले गठबन्धनको २६ सिट छ ।

मतगणना जारी रहेका प्रदेशसभाको सुनसरी क्षेत्र नं. ३(२), क्षेत्र नं. ४(१) र ४(२) को भने परिणाम आइसकेको छैन । ती तिनवटै क्षेत्रमा चुनाब जित्ने सत्तारुढ गठबन्धनको दावी छ । ४ नं. क्षेत्रको दुबै प्रदेशसभामा काँग्रेसका उम्मेदवारले अग्रता लिएको बेला मतगणना स्थगित भएको छ । ४(१) मा सत्तारुढ गठबन्धनका उम्मेदवार काँग्रेसका सदानन्द मण्डल ११८४१ मतसहित अग्रतामा छन् भने उनलाई पछ्याइरहेका नेकपा एमाले गठबन्धनबाट उम्मेदवार भएका जनता समाजवादी पार्टीका पर्शुराम बस्नेतले ८९३६ मत पाएका छन् । ४(२) मा काँग्रेसकै इस्राइल मन्सरीले ११६०९ मतसहित अग्रता लिएकोमा उनलाई पछ्याइरहेका एमालेका अब्बास अन्सारीले ९८१२ मत पाएका छन् ।

सुनसरीको क्षेत्र नं. ३(२) को मतगणना जारी रहँदा भने एमालेका रामदेव यादवले ५१६ मतले अग्रता लिएका छन् । उनले १३०१२ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका काँग्रेसका विन्देश्वर यादवले १२४९६ मत पाएका छन् । सो क्षेत्रको बर्जु गाउँपालिकाको मतगणना भइरहेको छ । सो क्षेत्र पनि जित्ने काँग्रेसले दावी गर्दै आएको छ । तर, अहिलेसम्मको मतपरिणामको ट्रेन्ड हेर्दा सो क्षेत्रमा एमाले उम्मेदवार विजयी हुने देखिन्छन् ।

गणना जारी रहेका तीन क्षेत्रमध्ये काँग्रेसले २ र एमालेले १ सिट जित्ने संभावना छ । त्यसो भए गठबन्धनको प्रत्यक्षतर्फ २९ सिट हुनेछ भने एमाले गठबन्धनको २७ सिट हुनेछ । त्यो अवस्थामा सरकार निर्माणको लागि आवश्यक बहुमत जुटाउन समानुपातिकबाट गठबन्धनले १८ सिट प्राप्त गर्नुपर्नेछ ।

अहिलेसम्म समानुपातिकको करिब ९० प्रतिशत मतगणना भएको छ । समानुपातिकतर्फ अहिलेसम्म गणना भएको सदर मत १७ लाख १० हजार ९९७ मतमध्ये एमालेले सबैभन्दा धेरै ५,९८,१८०, काँग्रेसले ५,०१,७०३, राप्रपाले १,८२,८९८, माओवादीले १,६७,६२६, जसपाले ५५,२७६ र नेकपा एकीकृत समाजवादीले ५०,८४९ मत पाएका छन् । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि २६०२८ मत पाएर प्रदेश १ मा थ्रेसहोल्ड कटाएको छ ।

अहिलेसम्मको समानुपातिक मतपरिणाको ट्रेन्ड जारी रहेमा प्रदेशको समानुपातिकतर्फका ३७ सिमध्ये एमालेले १४, काँग्रेसले १२, माओवादीले ४, राप्रपाले ४, जसपाले १, एकीकृत समाजवादीले १ र संघीयल लिम्बूवानले १ सिट पाउनेछन् । जसमा सत्ता गठबन्धनको सिट संख्या १८ हुनेछ भने एमाले गठबन्धनको १९ हुनेछ ।

अहिलेको गठबन्धन कायम रहेमा सत्तारुढ गठबन्धनको ४७ सिट र एमाले गठबन्धनको ४६ सिट हुने संभावना देखिएको छ । तर, चुनाबमा गठबन्धन नगरि तालमेल मात्र गरेको बताउँदै आएको जसपा एमालेकै गठबन्धनमा सामेल हुने संभावना भने कम छ । प्रदेश १ मा एमाले गठबन्धनबाट प्रदेशसभामा उम्मेदवार भएका जसपाका दुबै उम्मेदवार पराजित हुने अवस्थाले जसपाले प्रदेश सरकारसँग एमालेको साझेदारीमा संकट आउने देखिन्छ । जसको फाइदा सत्तारुढ गठबन्धन ४८ सिटसहित बहुमतमा हुनेछ ।

प्रदेश १ मा एमालेसँग गठबन्धन गरेर उम्मेदवार भएपनि जसपाबाट स्वास्थ्यमन्त्री रहेका जयराम यादवलाई गठबन्धनले मन्त्रीबाट हटाएको छैन । जसले गर्दा उनीहरुबीच आगामी सरकारमा पनि सहकार्य हुने आँकलन गरिएको छ ।

प्रदेश १ मा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी तथा एमाले, राप्रपा र जसपाले छुट्टाछुट्टै गठबन्धन बनाएर चुनाबमा होमिएका थिए । सत्तारुढ गठबन्धनबाट काँग्रेसका २६, माओवादी केन्द्रका १९ र एकीकृत समाजवादीका ११ उम्मेदवार थिए भने नेकपा एमालेले झापाका २ प्रदेशसभा राप्रपालाई तथा सुनसरीको १ र मोरङको १ प्रदेशसभा जसपालाई छाडेर ५२ उम्मेदवार उठाएको थियो । एमालेको समर्थन पाएका

राप्रपाका दुबै उम्मेदवार भक्तिप्रसाद सिटौला र सविना बजगाईं विजयी भएका छन् भने एमालेको समर्थन पाएका जसपाका उम्मेदवारमध्ये मोरङमा जयराम यादव पराजित भइसकेका छन् । सुनसरीका पर्शुराम बस्नेत पनि पराजयउन्मुख रहेका छन् ।

यी हुन्, प्रत्यक्षतर्फका विजेताहरु :

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes