मोरङ-३ मा सुनिल शर्माले जित्ने बलियो सम्भावना, भानुभक्त ढकाल धेरै पछाडि - Pahilo Online

मोरङ-३ मा सुनिल शर्माले जित्ने बलियो सम्भावना, भानुभक्त ढकाल धेरै पछाडि

writer

पहिलो अनलाइन

बेलबारी (मोरङ) । कुनै नेताले मन्त्री हुँदा बोलेका तीन शब्दको किमत कतिसम्म हुँदो रैछ भन्ने कुरा यसपालिको चुनावमा मोरङ-३ पुगेपछि थाहा हुन्छ!

कोरोना महामारी कालमा स्वास्थ्यमन्त्री रहेका नेकपा (एमाले) का नेता भानुभक्त ढकालले पत्रकारले प्रश्न सोध्दा दिएको अभिव्यक्ति त्यतिबेला निकै विवादित भएको थियो। कोरोना महामारी नियन्त्रणमा सरकारको तयारी लगायत विषयमा पत्रकारले प्रश्न सोध्दा मन्त्री ढकाल ‘पाहुना आइराछ घरमा’ भन्दै जवाफ नदिई हिँडेका थिए।

उक्त दृश्य टेलिभिजन, अनलाइन र सामाजिक सञ्जालहरूमा देखेका मोरङ-३ का मतदाताले अहिले पनि त्यो घटना बिर्सेका छैनन्। यसपालि यो क्षेत्रमा फेरि उम्मेदवार बनेका ढकाललाई त्यो घटना निकै महंगो सावित हुने देखिएको छ।

कानेपोखरी गाउँपालिका वडा नम्बर ७ का मदन सिवाकोटी कोरोना कालमा ढकालको काम-कारबाही र व्यवहार देखेर मन मरेको बताउँछन्।

‘कोरोनाले त्यत्रा मान्छे मरिरहँदा ‘मेरो घरमा पाहुना आएको छ’ भन्दै परिस्थितिबाट भाग्न खोज्ने व्यक्तिसँग हामीले थप के अपेक्षा गरिरहनु?’ २४ वर्षीय सिवाकोटीले बुधबार सेतोपाटीसँगको कुराकानीमा भने, ‘मैले २०७४ को चुनावमा भानुभक्तलाई नै भोट दिएको हुँ तर स्वास्थ्यमन्त्री हुँदा उहाँले जस्तो व्यवहार गर्नुभयो, त्यो देखेर म यसपालि कांग्रेसका सुनिल शर्मालाई भोट दिँदैछु।’

मोरङ-३ को चुनावी माहौल बुझ्न र विश्लेषण गर्न सेतोपाटी टिम पछिल्ला केही दिनमा यहाँका विभिन्न बजार, गाउँ, टोल र चोकहरूमा जाँदा सिवाकोटीले जस्तै धेरैले कोरोना कालमा ढकालको कार्यसम्पादनप्रति असन्तोष व्यक्त गरे।

कतिपयले ओम्नी इन्टरनेसनलमार्फत् चीनबाट मेडिकल सामग्री खरिद गर्दा उत्पन्न विवाद र त्यति बेला महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरूप्रति ढकालले गरेको टिप्पणी पनि सम्झे।

अर्कातिर स्थानीय जनतालाई स्वास्थ्य सेवा पुर्‍याएकै कारण धेरै मतदाताले सत्ता गठबन्धनका उम्मेद्वार तथा नेपाली कांग्रेसका नेता सुनिल शर्मालाई भोट दिने मन बनाएको बताए। आफू बिरामी पर्दा विराटनगरस्थित शर्माको नोबेल अस्पतालमा पाएको छुट र सुविधाको गुन तिर्न यसपालि उनलाई मत दिन लागेको धेरै मतदाताले हामीलाई बताए।

२०७४ को आमनिर्वाचनमा मोरङ-३ मा ढकाल र शर्माबीच नै मुख्य प्रतिष्पर्धा भएको थियो। त्यतिबेला दुई हजारभन्दा कम मतान्तरले ढकाल विजयी भएका थिए। पाँच वर्षपछि पनि यो क्षेत्रमा ढकाल र शर्मा नै मुख्य प्रतिस्पर्धी बनेर मैदानमा उत्रिएका छन्।

यसपालिको चुनावमा मतदाताले कसलाई मत दिन्छन्, यहाँका मतदाताका चुनावी प्राथमिकता के हुन्? यिनै विषयमा मतदाताको मन बुझ्न र विश्लेषण गर्न सेतोपाटी टिमले यो क्षेत्रका ३१३ जनासँग कुराकानी गरेको छ।

यो निर्वाचन क्षेत्रमा पथरी शनिश्चरे नगरपालिकाका १, २, ३, ४, ७, ८, ९ र १०, कानेपोखरी गाउँपालिकाका ४, ५, ६ र ७, बेलबारी नगरपालिकाका १, २, ३, ४, ८, ९, १० र ११ र सुन्दरहरैचा नगरपालिकाका १, ८, ९, १०, ११ र १२ वडाहरू पर्छन्। हामीले यी सबै वडामा पुगेर त्यहाँका मतदातालाई भेटेका छौं।

हामीले कुराकानी गरेका ३१३ जना मतदातामध्ये शर्मालाई भोट दिन्छु भन्नेहरू १३४ जना अर्थात् ४३ प्रतिशत छन्। जबकि एमालेका ढकाललाई मत दिन्छु भन्नेहरू ५६ जना अर्थात १८ प्रतिशत मात्रै छन्।

यसबाहेक ३३ जना अर्थात् साढे १० प्रतिशतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार रेखा थापालाई मत दिने बताए। त्यस्तै घन्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीसहित लौरो, माछालगायत अन्य विभिन्न चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवारहरू लाई मत दिन्छु भन्नेहरूको संख्या १७ जना अर्थात् झन्डै साढे ५ प्रतिशत थियो।

हामीले कुराकानी गरेकामध्ये अहिलेसम्म कसलाई भोट हाल्छु भनेर निर्णय नगरिसकेका मतदाता संख्या ७३ जना अर्थात् २३ प्रतिशत छ।

माथिको यो आँकडाले देखाउँछ यो क्षेत्रमा शर्माले यसपालि निर्वाचन जित्ने बलियो सम्भावना छ। अघिल्लोचोटि विजयी एमाले उम्मेदवार ढकाल भने यो प्रतिस्पर्धामा धेरै पछि परेका छन्। पाँच वर्ष अघि ढकाललाई भोट दिएका मतदाताको ठूलो हिस्सा यसपालि उनीबाट टाढिएपछि उनी पछि परेका हुन्। अघिल्लोचोटि ढकाललाई भोट हालेको बताउने धेरै मतदाताले यसपालि शर्मालाई भोट हाल्ने भएपछि उनलाई दोहोरो मार परेको छ।

२०७४ को निर्वाचनमा ढकालले मोरङ-३ मा पाएको मत कसरी यसपटक उनीबाट टाढिँदै छ र शर्माको मत कसरी थपिँदैछ हेरौं।

२०७४ को निर्वाचनमा ढकालले ४२ हजार ४ सय १३ मत ल्याएर जित हात पारेका थिए भने शर्माले ४० हजार ५ सय ६ मत पाएका थिए। अघिल्लोचोटि ढकाललाई भोट दिएकामध्ये कति मतदाताले यसपालि ढकाललाई छाडेर शर्मालाई मत दिन्छन् भन्नेले यहाँ को विजयी हुनेछ भन्ने बलियो संकेत गर्नेछ।

हामीले यसपटक भेटेका ३१३ जनामध्ये १४५ जनाले अघिल्लोचोटिको चुनावमा एमालेका ढकाललाई भोट हालेको बताए भने शर्मालाई भोट दिनेहरू ९४ जना थिए। पाँच वर्षअघि ढकाललाई भोट दिएका थुप्रै मतदाताले यसपालि उनलाई नदिने बताए।

२०७४ मा ढकाललाई भोट दिएको बताउने १४५ जनामध्ये ५१ जनाले मात्र यसपालि पनि ढकाललाई नै भोट दिने बताए। अर्थात् उनलाई मत दिएका ९४ जना मतदाता टाढिएका छन्।

जबकि अघिल्लोचोटि सुनिल शर्मालाई भोट दिएको बताउने ९४ जनामध्ये ६७ जनाले फेरि पनि उनलाई नै निरन्तरता दिने इच्छा देखाए।

यसको अर्थ ढकालले अघिल्लोपटक पाएको ३५ प्रतिशत मत मात्र यसपटकलाई फेरि पक्का गरेका छन्, ६५ प्रतिशत मत उनीबाट बाहिँरिदै छ। शर्माका हकमा भने आफूसँग कायम राखेको मतको अनुपात निकै बढी छ। उनले अघिल्लो चुनावमा पाएको मतमध्ये ७१ प्रतिशत फेरि आफ्नो पक्षमा कायम राख्न सकेका देखिन्छन्।

अर्कोतिर पहिले ढकाललाई भोट दिएका ३७ जना (साढे २५ प्रतिशत) मतदाता यसपालि कांग्रेसका शर्मालाई मत दिने पक्षमा छन् भने पहिले शर्मालाई भोट दिएर यसपालि ढकाललाई दिन्छु भन्नेहरू हामीले एक जना पनि भेटेनौं। यसले मोरङ-३ मा चुनावको हावा कतातिर बगेको छ भन्ने बलियोसँग संकेत गर्छ।

पाँच वर्षअघि ढकाललाई मत दिएका मतदाताको ठूलो हिस्सा कांग्रेसतिर मात्र हैन राप्रपातिर पनि सरेको छ। यसरी ढकालको पुरानो मत-खाताबाट धेरै मत चुहिएर अन्यत्र छरिने भएपछि त्यसको स्वाभाविक लाभ अघिल्लोचोटि दुई हजारभन्दा कम मतले पराजित शर्मालाई हुनेछ।

नेपाली चलचित्रकी चर्चित अभिनेत्री रेखा थापाको उम्मेदवारीका कारण पनि यो निर्वाचन क्षेत्र राष्ट्रिय रूपमा चर्चामा छ। ‘हिरोइजम’ भएकी ‘हिरोइन’ का रूपमा ख्याति कमाएकी रेखा घरदैलोमा जाँदा भीड बटुल्न सफल हुन्छिन्। उनी जहाँ गए पनि वरिपरि मान्छे झुम्मिन्छन् र फोटो खिचाउँछन्। उनको यो क्रेज मतमा कति रूपान्तरण होला भन्ने यहाँ चासोका साथ हेरिएको छ।

तर हामीले निर्वाचन क्षेत्रअन्तर्गत पर्ने सबै पालिकाका सबै वडामा पुगेर त्यहाँका मतदातासँग कुरा गर्दा उनी चुनावी प्रतिस्पर्धामा सुनिल शर्मा र भानुभक्त ढकालपछि तेस्रो स्थानमा छिन्। उनको चर्चा धेरै छ, मत भने कम छ। उनले यहाँ एमालेको पुरानो मत धेरै काट्ने देखिन्छ भने केही मत कांग्रेसको पनि काट्ने छिन्। हामीले कुराकानी गरेकामध्ये पहिले ढकाललाई भोट हालेका १५ जनाले यसपालि रेखालाई मत हाल्ने बताए भने कांग्रेसबाट राप्रपातिर मत सर्नेहरूको संख्या ७ जना छ।

पथरी शनिश्चरे नगरपालिका- १ का २५ वर्षीय सचिन ताम्राकारले अघिल्लोचोटि ढकाललाई भोट हालेका थिए। उनी यसपालि रेखालाई मत दिँदै छन्। भन्छन्, ‘म रेखाको फ्यान हुँ।’

रेखालाई भोट हाल्छु भन्ने कतिपय मतदाताले उम्मेदवारभन्दा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको व्यक्तित्व र एजेन्डाबाट आकर्षित भएको बताए।

‘रेखा त सेलेब्रिटी हुन्, फोटो खिचाइन् भन्दैमा उसैलाई भोट हाल्नुपर्छ भन्ने छैन,’ बेलबारी- १ का ५० वर्षीय डम्बरबहादुर बिष्टले भने, ‘पार्टीको मुख्य मान्छे राजेन्द्र लिङ्देनको नेतृत्व र एजेन्डा मलाई मनपरेको छ।’ बिष्टले यसअघि कांग्रेसलाई भोट हालेका थिए।

कतिपय महिला मतदाता भने महिला उम्मेदवार जिताउनुपर्छ भनेर पनि रेखाको पक्षमा लागेका छन्। ‘मैले पहिले एमालेलाई भोट हालेको हुँ। यसपालि महिला उम्मेदवार जिताउनुपर्छ भनेर रेखालाई दिने सोच बनाएको छु,’ बेलबारी- १० की ४६ वर्षीया सरस्वती कार्कीले भनिन्।

परम्परागत रूपमा राप्रपा कमजोर रहेको यो क्षेत्रमा केही मतदाता रेखा थापाप्रति आकर्षित भए पनि त्यो संख्याले उनी मुख्य प्रतिस्पर्धीका रूपमा रहेको भने देखिँदैन। यहाँको चुनावी प्रतिस्पर्धाका ढकाल र शर्मामा केन्द्रीत छ।

हामीले कुराकानी गरेका मतदाताका अनुसार ढकालबाट शर्मा लगायत अन्य उम्मेदवारमा मत चुहिनुका पछाडि केही कारण छन्।

पहिलो, कोरोना महामारी कालमा ढकाल स्वास्थ्यमन्त्री हुँदा गरेका काम र भएका विवादले धेरै मतदातालाई उनीसँग कैफियत छ।

कोरोना नियन्त्रण गर्न चीनबाट १ करोड अमेरिकी डलरभन्दा बढी मूल्यका मेडिकल उपकरणहरू खरिद गर्ने क्रममा उत्पन्न अनियमिततासम्बन्धी विवाद अहिले पनि यहाँका मतदाताबीच चर्चाको विषय बनेको छ। राष्ट्रिय राजनीतिबाट सेलाइसकेको भए पनि यहाँका मतदाताले त्यो प्रकरण बिर्सेका छैनन्। ढकालले अहिले पनि चुनावी प्रचारमा जाँदा मतदाताहरूलाई त्यसको प्रस्टीकरण दिँदै हिँड्नुपरेको छ।

कतिसम्म भने, ढकाललाई नै भोट हाल्छु भन्नेहरू पनि उनको काम र व्यवहारप्रति असन्तोष व्यक्त गर्छन्।

बेलबारी-२ का ४० वर्षीय मणि श्रेष्ठले पहिलेदेखि नै एमालेलाई भोट हाल्दै आएका छन्। उनले २०७४ को आमनिर्वाचनमा ढकाललाई भोट हाले र यसपालि फेरि उनैलाई दिँदै छन्। तर उनी ढकालको कामबाट सन्तुष्ट छैनन्।

‘उनको काम हेर्दा भोट हाल्न त मन छैन तर पार्टीका कारण उनलाई नै हाल्छु,’ उनले भने, ‘व्यक्तिको अनुहार हेरिएन, पार्टी हेरियो।’

दोस्रो, ढकालले चुनाव जितेर गएपछि स्थानीयहरूको वास्ता नगरेको र निर्वाचन क्षेत्र आउँदा पनि आफू निकटका कार्यकर्ताहरूबीच घेरिएर बस्ने गरेको मतदाताहरू बताउँछन्।

‘चुनाव जित्नुभयो, मन्त्री हुनुभयो तर यो क्षेत्रको वास्ता गर्नुभएन,’ पथरी शनिश्चरे नगरपालिका- ४ का ५१ वर्षीय पदमबहादुर बस्नेतले भने, ‘कहिलेकाहीँ निर्वाचन क्षेत्र आउँदा पनि निकटका स्थानीय कार्यकर्ताहरूबीच घेरिएर बस्नुभयो। हामी आममतदातासँग कहिल्यै कुनै विषयमा भेटघाट र छलफल गर्नुभएन।’

बस्नेत एमालेका दृढ मतदाता हुन्। अहिलेसम्म एमालेबाहेक अरूलाई भोट नहालेको उनी बताउँछन्। यसपालि भानुभक्तको कामबाट असन्तुष्ट भए पनि पार्टी हेरेर एमालेलाई नै भोट दिँदै छन्। भन्छन्, ‘म एमालेको मान्छे हुँ, भानुभक्तको कार्यकर्ता होइन।’

भानुभक्तले स्थानीयलाई वास्ता नगरे पनि कोरोना महामारी बेला मेडिकल उपकरणमा भ्रष्टाचार गरेको भने उनी मान्दैनन्। ‘त्यो विपक्षीहरूले उछालेको कुरा हो। मलाई त्यसमा पत्यार छैन। तर आममतदाताको मनमा त्यो कुरा गढेर बसेको छ,’ उनले भने।

तेस्रो, कांग्रेस उम्मेदवार सुनिल शर्माले मोरङ-३ का स्थानीयलाई स्वास्थ्य उपचारमा सहुलियत दिँदै आएकाले यसपालि उनैलाई भोट हाल्ने मन बनाएको भन्ने मतदाता पनि हामीले थुप्रै भेट्यौं। उनले चुनाव हारे पनि यहाँका स्थानीयलाई स्वास्थ्य सेवामा सहुलियत दिइरहेको र निर्वाचन क्षेत्रका विभिन्न गाउँमा नियमित स्वास्थ्य शिविर चलाइरहेको उनीहरू बताउँछन्।

‘मैले अघिल्लोचोटि भानुभक्त ढकाललाई भोट दिएको हुँ। तर सुनिल शर्माले आफूलाई भोट नदिए पनि यो पाँच वर्षमा धेरैचोटि हाम्रो परिवारको दबाइ-पानी गरे। त्यसैले यसपालि उनलाई भोट दिएर पाप कटाउनुपर्‍यो भन्ने निधो गरेको छु,’ पथरी शनिश्चरे नगरपालिका-३ का ७० वर्षीय बालकृष्ण दाहालले भने।

कानेपोखरी गाउँपालिका-७ का ६५ वर्षीय राजदेव पोद्दारको पनि यस्तै भनाइ छ।

‘सुनिल शर्माले मोरङ-३ त लालकिल्ला हो भन्ठानेनन्। चुनाव हारे पनि गाउँको काम गरिरहे। यहाँका जनतालाई आधा पैसामा उपचार गराए। परेको बेला सहयोग गरे,’ उनले भने। अघिल्लोचोटि एमालेलाई भोट हालेका पोद्दार यसपालि शर्मालाई हाल्दै छन्।

शर्मा आफैं पनि मेडिकल पढ्ने विद्यार्थीसँग सरकारले तोकेभन्दा बढी शुल्क लिएर पटकपटक विवादमा आइरहन्छन्। उनले विराटनगरस्थित आफ्नो अस्पताललाई चुनावकै लागि उपयोग गरेको भनाइ पनि छ। केही महिनायता यो निर्वाचन क्षेत्रका बिरामीले शर्माको अस्पतालमा उपचार गराउन कम्तिमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म छुट पाउने गरेका छन्।

अरू धेरै उम्मेदवारलाई चुनाव बेला मात्र निर्वाचन क्षेत्र आउने गरेको आरोप लाग्छ। शर्मा यो आरोपबाट मुक्त छन्। उनले पछिल्लो पाँच वर्ष चुनावी लक्षित दौडधुपमै उपयोग गरेको यहाँका मतदाता बताउँछन्।

पथरी शनिश्चरे नगरपालिका- २ का २३ वर्षीय गंगाराम साह पहिलोचोटि प्रतिनिधिसभा निर्वाचनमा भोट हाल्दै छन्। भानुभक्तले चुनाव जितेर पनि यो क्षेत्रका लागि केही नगरेको तर सुनिलले हारेर पनि स्थानीयका निम्ति सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उनको भनाइ छ।

‘भानुभक्तले सरकारमा बसेर नगरेको काम सुनिलले सरकारबाहिर बसेर गरे,’ उनले भने।

चौथो, यसपालि फेरिएको गठबन्धनको लाभ पनि शर्माले पाउने छन्। २०७४ को चुनावमा यहाँ एमाले र माओवादी केन्द्रको गठबन्धन थियो अहिले माओवादी केन्द्र सत्ता गठबन्धनमा छ।

गत वैशाखमा भएको स्थानीय तह चुनावमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने यो क्षेत्रको सबैभन्दा ठूलो पार्टी एमाले हो। यहाँ एमाले वडाध्यक्ष उम्मेदवारहरूले ३७४१०, कांग्रेसले ३६९१६ र माओवादी केन्द्रले ७३७३ मत पाएका छन्। यो क्षेत्रमा पर्ने सबै पालिकाका प्रमुख भने एमालेले जितेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) को मत यहाँ लगभग उस्ताउस्तै छ। राप्रपा वडाध्यक्ष उम्मेदवारहरूले २१२१ मत पाउँदा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारले १८५५ मत पाएका छन्।

स्थानीय निर्वाचनको यो आँकडा हेर्दा अबको चुनावमा कांग्रेसले माओवादी र एकीकृत समाजवादीसँगको गठबन्धनबाट आर्जन गर्न सक्ने मत संख्या एमाले एक्लैको भन्दा बढी छ।

हामीले गठबन्धनका कारण शर्मालाई भोट दिन लागेका माओवादी केन्द्रका केही मतदाता पनि भेट्यौं।

बेलबारी गाउँपालिका- ४, बेतनाका ४१ वर्षीय प्रकाश लिम्बू माओवादी समर्थक हुन्। अघिल्लो चुनावमा माओवादीसँगको गठबन्धनका कारण एमालेका ढकाललाई भोट हालेको बताउने लिम्बूले यसपालि सत्तारूढ गठबन्धनका कारण प्रत्यक्षतर्फ कांग्रेसका शर्मालाई भोट हाल्न लागेको बताए। समानुपातिकमा भने उनी माओवादीलाई नै भोट दिँदै छन्।

‘पहिले पनि भूमिहीनलाई लालपुर्जा दिन्छु भन्दै भोट माग्नुभयो तर जितेको एक सातामै हामीलाई बिर्सनुभयो,’ उनले भने, ‘यसपालि फेरि त्यही एजेन्डा उठाउँदै हुनुहुन्छ। जनतालाई अब उहाँको कुरामा पत्यार छैन।’

कतिपय मतदाता सुनिल शर्माको पनि आलोचना गरे। उनले स्वास्थ्य सहुलियतका नाममा राजनीति गरेको आरोप लगाए।

सुन्दरहरैचा-९ का खम्बासिंह विश्वकर्मा हामी पुग्दा आरन चलाइरहेका थिए। अघिल्लो पटक शर्मालाई मत दिएको बताउने विश्वकर्माले उनको अस्पतालमा आफ्ना दाइ गुमाएको कुरा बिर्सन सकेका छैनन्।

‘गएको असारमा दाइ बिरामी पर्नुभयो। नोबेल अस्पतालमा लग्यौं। अपरेशन गर्नुपर्छ भने। अपरेशनअघि बोलिरहेका दाइ दुई घन्टापछि त बिते,’ विश्वकर्माले भने, ‘हाम्रो कुरा कसैले सुनेन। छुटसुट पनि केही दिएनन्।’

शर्माले जित हात पार्न पार्टीभित्रको आन्तरिक किचलो पार गर्नुपर्ने चुनौती भने छ। गत मंसिरमा भएको पार्टी महाधिवेशन, वैशाखको स्थानीय चुनावमा भएको टिकट वितरणलगायत विषयमा उनको भूमिकाप्रति कांग्रेसको एउटा समूह असन्तुष्ट छ। कांग्रेस महाधिवेशन प्रतिनिधि भइसकेका नेता जयराज संजोग लिम्बुले यहाँ बागी उम्मेदवारी दिएका छन्। शर्मासँग असन्तुष्ट कांग्रेसका केही मतदाताले लिम्बुलाई मत दिन सक्ने सम्भावना छ।

मतदातामा राजनीतिक दलहरूप्रतिको वितृष्णा हामीले मोरङ-३ मा पनि केही मात्रामा देख्यौं। दल र नेताहरूको व्यवहारका कारण वाक्क भएको बताउने त्यस्ता केही मतदाता घन्टी लगायत अन्य स्वतन्त्र उम्मेदवारहरूलाई भोट हाल्ने पक्षमा छन्।

घन्टी लगायत स्वतन्त्र उम्मेदवारहरूलाई जाने मत पनि शर्माको तुलनामा ढकालकै मत-खाताबाट बढी गइरहेको देखिन्छ। हामीले कुराकानी गरेकामध्ये अघिल्लोपटक ढकाललाई भोट हालेका ८ जना अर्थात् साढे ५ प्रतिशतले यसपालि घन्टी र अन्य स्वतन्त्र उम्मेदवारलाई भोट दिने बताएका छन्। यसबाट स्वतन्त्र उम्मेदवारहरूले थोरै संख्यामा भए पनि ढकालकै भोट काट्ने स्थिति छ।

सुन्दरहरैचा नगरपालिका- ९ का २६ वर्षीय रविन अधिकारीले अघिल्लोचोटि एमालेलाई भोट हालेका थिए। यसपालि घन्टीलाई दिने सोच बनाएका उनी भन्छन्, ‘अब पुराना दल र पुराना नेताहरूलाई फालेर नयाँ युवालाई मौका दिने बेला भयो।’

पहिलोपटक मतदान गर्ने केही मतदाता पनि हामीले भेट्यौं। तीमध्ये धेरैजसो सुनिल शर्मा, रेखा थापा र स्वतन्त्र उम्मेदवारमध्ये कसलाई हाल्ने भनेर अन्यौलमा छन्। पहिलो भोट हाल्नेहरूमध्ये भानुभक्त ढकाललाई दिन्छु भन्नेहरू भने हामीले एकदमै कम भेट्यौं।

एमालेको परम्परागत किल्ला मानिने मोरङ-३ मा अध्यक्ष केपी शर्मा ओलीले २०७४ को निर्वाचन बेला ढकाललाई अवसर दिएका थिए। उक्त निर्वाचनमा एमाले र माओवादी गठबन्धन बनेको थियो। त्यस बेला ढकाललाई यहाँ ‘पाहुना उम्मेदवार’ को ट्याग लागेको थियो। यसबीच उनले यही क्षेत्रमा घर बनाइसकेका छन्। तर त्यो घरले पनि यसपालि निर्वाचनमा उनलाई फाइदा हुने स्थिति देखिन्न।

हामीले कुराकानी गरेका ३१३ जनामध्ये अहिलेसम्म कसलाई भोट हाल्छु भनेर निर्णय नगरिसकेका मतदाताको संख्या ७३ जना थियो। त्यस्ता अनिर्णित मतदातामध्ये अघिल्लोपटक भानुभक्तलाई भोट हालेका ३४ जना यसपालि अनिर्णित देखिन्छन्।

अनिर्णित मतदातामध्ये जसले आफ्नो भोट कसलाई हाल्ने निर्णय गरेका छैनन्, उनीहरूले पनि ढकाललाई भने कसैगरी नहाल्ने भनेर हामीसँगको कुराकानीमा बताएका छन्। सुनिल शर्माका हकमा भने पहिले उनलाई भोट हालेर अहिले अनिर्णित रहेकाहरू एकदमै कम छन्।

हामीले भेटेका ७३ जना अनिर्णित मतदाताहरू सबैले यसपालि भानुभक्तलाई नै भोट हाल्ने निर्णय गरे पनि उनले सुनिल शर्मालाई उछिन्न नसक्ने देखिन्छ। त्यो अवस्थामा पनि ढकालले पाउने भोट अहिले सुनिल शर्मालाई भोट दिन्छु भन्नेहरूको संख्याभन्दा थोरै नै हुनेछ। यस आधारमा यो निर्वाचन अघिल्लोचोटिका विजेता भानुभक्त ढकाललाई निकै कठिनपूर्ण देखिन्छ भने शर्मा जिततर्फ अग्रसर छन्।

सेतोपाटी

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes