कमलपुर सामुदायिक वन उपभोक्ता समूहको २३औं साधारणसभा - Pahilo Online

कमलपुर सामुदायिक वन उपभोक्ता समूहको २३औं साधारणसभा

writer

पहिलो अनलाइन

लेटाङ । डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्धप्रसाद साहले वन क्षेत्रको खोलाजन्य पदार्थ पालिकाले नै निकालेर घाटगद्दि गरी टेण्डरबाट बिक्री गर्दा दीर्घकालिन समाधान हुने बताएका छन् । सोमबार लेटाङस्थित कमलपुर सामुदायिक वन उपभोक्ता समूहको २३औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले अहिलेको खोलाजन्य पदार्थको टेण्डर प्रकृया नै अवैज्ञानिक भएको टिप्पणी गरे । ‘अहिले खोला टेण्डर गरेर ढुंगा, गिटी, बालुवा यतिमात्र निकाल्नु भनेर छोडिदिंदा पछि गएर हेर्दा एक बाँस गहिरो खनेको हुन्छ, यो टेण्डरको प्रकृया नै अवैज्ञानिक छ’– साहले भने ‘वन कार्यालय र वन समूहले जसरी काठ काटेर घाटगद्दि गरी टेण्डर गर्छ त्यसरी नै पालिकाहरुले खोलाजन्य पदार्थ निकालेर घाटगद्दि गरी टेण्डरबाट बिक्री गरेमा कहिल्यै समस्या आउँदैन ।’


एकअर्को प्रसंगमा साहले सामुदायिक वनहरुको कमजोर व्यवस्थापनका कारण मोरङमा सालको रुख घट्दै गएको जिकिर गरे । उनले वन क्षेत्रमा सिमेन्टको संरचना निर्माण गर्न निरुत्साहित गरिनुपर्ने समेत बताए । उनले भने –‘प्रवेशद्वार सिमेन्टको होइन बुटिक हुनुपर्छ, भित्र सिमेन्ट भएपनि बाहिर बुट्टादार काठ हुनुपर्छ ।’ यस्तै उनले सुख्खा मौसममा वनलाई डढेलोबाट जोगाउन छिमेकी सामुदायिक वनहरु मिलेर ट्यांकर सहितको ट्याक्टर खरिद गर्न सुझाव दिए ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं.१ का सचिव अग्नी पौडेलले सरकारले जारी गरेको वन नियमावलीले उपभोक्ता बाहिर काठ बिक्री गर्दा बिक्री गर्न तयार पारिएको मध्ये ५० प्रतिशत जिल्लाको आपुर्ति समितिलाई दिनुपर्ने, बाहिर बिक्री पनि नेपाल वन निगमलाई नै बिक्री गर्नुपर्ने, पहिला प्रतिबन्ध रहेको वन क्षेत्र भित्र रहेको खोलाबाट ढुङ्गा, गिटी र वालुवा बिक्री खुलाइएको, जडिबुटीको छुट्टै समिति निर्माण गर्नुपर्ने बुँदाहरु संसोधन गर्न सुझाव दिए । पौडेलले जिल्ला आपुर्ति समिति भ्रष्टहरुको संगठन भएको आरोप लगाए । उनले हालसम्म आपुर्ति समितिले वितरण गरेको काठको विवरण कोहीसँग नभएको दावी गर्दै आपुर्तिको नाममा छुट्टिने काठको पहुँचवालाहरुकोमा पुग्ने गरेको बताए ।

वन क्षेत्रमा लामो समयदेखि समुदाय स्तरमा सहयोग पु¥याउँदै आएको सामुदायिक वन उपभोक्तालाई मारमा पार्नेगरि, महिलाको पहुँचमा वन नियमावली नभएको सचिव पौडेलले बताए । ‘सामुदायिक वन उपभोक्ता महासंघ नेपालको नेतृत्व र नागरिक समाजको ऐक्यबद्धतामा भएको सडक आन्दोलनका माध्यमबाट वन नियमावलीको अन्तिम मसौदामा सामुदायिक वन अधिकार सुरक्षाका लागि विभिन्न व्यवस्थाहरु गरिएका थिए’–पौडेलले भने ‘यद्यपि, वन प्रशासनमा रहेका केही छद्मभेषीहरुद्वारा वन नियमावलीलाई कुरुप बनाउँदै स्वार्थ समूह, विचौलिया वर्ग एवं सामुदायिक वन र महिला विरोधी तत्वहरुको निहित स्वार्थको पक्षपोषण गर्ने व्यवस्थाहरु ल्याउने दुश्साहस गरियो ।’


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लेटाङ नगर प्रमुख भुपेन्द्रकुमार लावतीले अन्य सामुदायिक वनहरुभन्दा कमलपुर फरक पहिचान बोकेको भन्दै प्रसंसा गरे । ‘कमलपुरबाट अरुले पनि सिक्नुपर्छ’– उनले भने ।
सो अवसरमा फेकोफन नगर अध्यक्ष आनन्दसागर तिम्सिनाले लेटाङका सामुदायिक वनहरुले मिलेर काठ मिल स्थापना गरी उपभोक्ताहरुलाई चिरान काठ वितरण गर्न सुझाव दिए । त्यसो गर्दा रोजगारी समेत सिर्जना हुने उनको तर्क छ ।

कार्यक्रममा लेटाङ ३ का वडाध्यक्ष डम्बर राई, फेकोफन केन्द्रीय सदस्य सिता श्रेष्ठ, जिल्ला अध्यक्ष सुभद्रा भट्टराई, सामुदायिक वनहरुको तर्फबाट जनसेवा सामुदायिक वनका अध्यक्ष मिनकुमार राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा समूहका अध्यक्ष गोपाल श्रेष्ठले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्ष श्रेष्ठले वन विकास तर्फ झाड सफाई, अग्नी रेखा निर्माण, घाटगद्दि मर्मत, खोलामा वायो ईन्जिनियरिङ प्रविधिबाट तटबन्ध, खाली जमिनमा तारजाली गरी विरुवा रोपण, थिनिङ प्रुनिङ, विशेष गस्ती, वन सम्बन्धि तालिम गोष्ठीलगायतका कार्य गर्ने प्रस्ताव गरेका थिए ।

यसैगरी, गरिवि न्यूनिकरण तर्फ कम्प्युटर तालिम, महिलाहरुलाई व्युटिपार्लर, सिलाई कटाई तालिम, हाउस वायरिङ, प्लम्बर तालिम, विपन्नलाई घर मर्मत तथा निर्माण, कृषी सम्बन्धि तालिम, उन्नत जातको बाख्रा, बंगुर वितरण, विपन्नलाई स्वास्थ्य वीमा, छात्रवृत्ति, किसानलाई टनेल वितरण, सुत्केरी आमालाई पोषीलो खानेकुरा वितरण गरिने योजना रहेको जानकारी दिए ।

सामाजिक विकास तर्फ बाटो सरसफाई, विद्युत्त लाइन मर्मत, कुलो नहर पैनी, कल्भर्ट मर्मत तथा निर्माण, पर्यटन प्रबद्र्धन प्रारम्भिक थालनी, खेलकुद, सीसी टीभी जडान, संस्कृति जगेर्ना गर्न रोटेपिङ निर्माण, ट्रि हाउस निर्माण जस्ता कार्य गर्ने जनाइएको छ ।
समूहकी सचिव नरमाया तामाङले कार्यक्रम सञ्चालन तथा समूहको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्् भनें लेखा संयोजक कमलराज राईले स्वागत गरेका थिए ।

प्रमुख अतिथि, विशिष्ठ अतिथिहरुले विरुवामा पानी हालेर उद्घाटन गरिएको कार्यक्रममा वन संरक्षणमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । जसमा जेष्ठ नागरिक, अपांग, वडाध्यक्ष, एकल महिला, कर्मचारीलाई सम्मान गरिएको थियो भनें विपन्न परिवारलाई खाट वितरण गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes