विविध कार्यक्रम गरी नमुना सामुदायिक वनको साधारणसभा सम्पन्न - Pahilo Online

विविध कार्यक्रम गरी नमुना सामुदायिक वनको साधारणसभा सम्पन्न

writer

पहिलो अनलाइन

लेटाङ । लेटाङ–३ मा रहेको नमुना सामुदायिक वन उपभोक्ता समूहको २२औं वार्षिक साधारणसभाका अवसरमा जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति र पूर्व सञ्चालक सदस्यहरुलाई सम्मान गरिएको छ । बुधबार कार्यालय परिसरमा आयोजित समारोहका बीच समूहले सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिति लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावती, विशिष्ठ अतिथिहरु डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्धप्रसाद साह, फेकोफन प्रदेश नं. एक का सचिव अग्नीप्रसाद पौडेल, लेटाङ ३ का वडाध्यक्ष डम्बर राईलगायतले दोसल्ला ओढाएर नगदसहित सम्मान गरेका हुन् । समूहले शारिरिक अशक्तहरु जितबहादुर राई, जितरानी लिम्बू, शुक्रप्रसाद ढकाललाई जनही नगद रु. ५ हजारका दरले सम्मान गरेको थियो । यसैगरी पूर्व सञ्चालकहरु मध्येबाट पदमकुमारी लिम्बू, चक्रप्रसाद आचार्य र शम्भुराज शर्मालाई सम्मान गरेको थियो । समूहले विपन्न तथा एकल महिलाहरु उमादेवी वस्ती, दुर्गादेवी ढकाल, पूर्णमाया हिङमाङ, गोमा आचार्य र माइलीमाया राईलाई नगद सहित सम्मान गरेको हो ।

यस्तै, जेष्ठ नागरिक तर्फ पवित्रा भण्डारी ८५ वर्ष, जानुकादेवी न्यौपाने ८४, श्रीप्रसाद गुरागाई ८३, खगेन्द्रकुमारी कोइराला ८३ र कृष्ण मास्के ८३ वर्षलाई समेत नगदले सम्मान गरेको थियो ।
कार्यक्रममा अध्यक्ष भीमबहादुर देवानले समुहका भावि योजना, सचिव उर्मिला श्रेष्ठले सांगठनीक र कोषाध्यक्ष सागर राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नमुना सामुदायिक वन उपभोक्ता समूहले वन विकास अन्तरगत प्राकृतिक प्रकोप तथा आगलागीबाट वन जोगाउन अग्नी रेखा निर्माण, वैज्ञानिक वन व्यवस्थापन गरिएको कुपहरुमा गोडमेल, समूहको कम्पाउण्ड र घाटगद्दि वरिपरि वन्यजन्तुले खाने आहारको रुपमा ६ हेक्टरमा विभिन्न जातका फलफुलका विरुवा रोपण, जडिबुटीको विरुवा रोपण गरिएको छ । विरुवारोपण गरिएको क्षेत्रमा बेला–बेला सफाई तथा गोडमेल गर्ने गरिएको समूहकी सचिव उर्मिला श्रेष्ठले प्रतिवेदनमा उल्लेख गरेकी छिन् । यसैगरी, गरिवी न्यूनिकरण अन्तरगत घरबार विहीन विपन्न उपभोक्ताहरुलाई नमुना बस्ती निर्माण गर्नका लागि जमिन खरिद गरिएको छ । यस्तै विपन्न विद्यार्थीहरु अध्ययन गर्ने विरन आधारभुत विद्यालयलाई आर्थिक सहयोग गरिएको, उपचार अभावमा छटपटाईरहेका उपभोक्ताहरुलाई आर्थिक सहयोग, कोभिड–१९ ले संक्रमित उपभोक्ताहरुलाई फलफुल तथा पोषिलो खानेकुरा राहत प्रदान, वन विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई आर्थिक सहयोग, विपन्न घर परिवार उपभोक्ताको स्वास्थ्य वीमा समेत गरिएको सचिव श्रेष्ठले जानकारी दिइन् । यस्तै, सामाजिक विकास तर्फ समूहले विभिन्न टोलका कालोपत्रे सडक, खेल मैदान, क्लब, संघ–संस्था, विजुली बत्तिका लागि सहयोग गरेको छ ।


साधारणसभामा समूहका अध्यक्ष भिमबहादुर देवानले भावी कार्यक्रम प्रस्तुत गरेका थिए । जसमा समूहले वन पैदावरको आम्दानीबाट मात्र सिमित नरहेर जिविको पार्जन कार्यक्रमको लागि पर्यापर्यटन तथा उद्यम क्षेत्रबाट पनि आम्दानीको श्रोत जुटाई बेरोजगारलाई रोजगारको अवसर र पहुँच पुगोस भन्ने उद्देश्यले विरन खेलमैदान छेउको ५ हेक्टर जमिनमा नमुना पुतली पार्क निर्माण गर्ने बताए ।

नमुना सामुदायिक वन उपभोक्ता समूह आर्थिक वर्ष २०७७÷०७८ मा वन तथा भु–संरक्षण विभागबाट गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारमा सान्तवना पुरस्कार र आ.व. २०७८÷०७९ मा तेस्रो पुरस्कार प्राप्त गर्न सफल भइसकेको छ ।

उपाध्यक्ष पुङबहादुर राईले स्वागत गरेको कार्यक्रममा नगर प्रमुख भुपेन्द्रकुमार लावतीले लेटाङमा रहेका सम्पूर्ण सामुदायिक वनले उपभोक्ताको आम्दानी समेत बढेको महसुस हुने गरी कार्य गर्न आग्रह गरे । ‘के गर्दा उपभोक्तालाई रोजगारी र आय बढ्न सक्छ त्यस क्षेत्रमा काम गर्न आग्रह गर्दछु’– उले भने । उनले खोला नियन्त्रणका लागि वायोईन्जिनियरिङ प्रविधि अपनाउनु पर्नेमा जोड दिए । खोला किनारमा बोटविरुवा रोप्नाले जैविक संतुलन समेत कायम हुने उनको भनाई छ । नगर प्रमुख लावतीले त्यस कार्यका लागी नगरपालिकाले पूर्णरुपमा साथ सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) प्रदेश एकका सचिव अग्नी पौडेलले नेपाल सरकारद्वारा मिति २०७९ असार १९ मा नेपाल राजपत्रमा प्रकाशित वन नियमावली २०७९ मा भएका विभिन्न व्यवस्थाहरु प्रति महासंघको आपत्ति, असहमति र विरोध रहेको बताए । ‘वन ऐन २०७६ लागू भएको लगभग ४ वर्षसम्म स्वार्थ समूह, विचौलिया वर्ग र सामुदायिक वन विरोधी तत्वहरुले निरन्तर चलखेल गरी वन नियमावली २०७९ मा संविधान, संघीयता, सामुदायिक वन र महिला विरोधी व्यवस्थाहरु समावेश गरेका छन्’– सचिव पौडेलले भने ‘जसका कारण सामुदायिक वनमा गम्भीर रुपमा प्रतिकुल प्रभाव परेको छ । त्यसैले फेकोफनको आन्दोलनले यो नियमावली सम्सोधनको तयारीमा छ ।’ उनका अनुसार कार्यदलको सुझाव वन मन्त्रालयमा टेवल भइसकेको र मन्त्रीको आग्रहमा एक महिनाका लागि आन्दोलन स्थगित गरिएको हो । पौडेलले नयाँ नियमावली सम्सोधन भएरर राजपत्रमा नआउन्जेल कार्यान्वयन नगर्ने सहमति भएको समेत जानकारी दिए । उनले सामुदायिक वन उपभोक्ता समूहको अधिकार र माग सम्बोधन हुनेगरी र स्वार्थ समूहको हस्तक्षेप हावी हुन नपाउने गरी वन नियमावलीमा तत्काल सुधार तथा संशोधन गर्नका लागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालय समक्ष आग्रह समेत गरे ।

सो अवसरमा डिभिजन वन अधिकृत अनिरुद्धप्रसाद साहले समूहहरुले खर्च पारदर्शिताका लागि बैंक मार्फत नै कारोबार गर्न कडाइका साथ लागु गर्न निर्देशन दिए । उनले वन क्षेत्रमा पक्की चिहान निर्माण गर्ने कुरामा सामुदायिक वनले पूर्णरुपमा रोक लगाउन आग्रह गरे ।
कार्यक्रममा ३ नं. वडाध्यक्ष डम्बर राई, फेकोफन जिल्ला उपाध्यक्ष सुभद्रा भट्टराई, फेकोफन नगर अध्यक्ष आनन्दसागर तिम्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes