जलवायु परिवर्तन न्यूनीकरणमा ढुसीको भूमिका - Pahilo Online

जलवायु परिवर्तन न्यूनीकरणमा ढुसीको भूमिका

writer

सुदीप राई

सुदीप राई

नेपाल एक जैविक विविधतामा धनी राष्ट्र हो । नेपालमा करिव ६ हजार ५०० प्रजातिका रेसादार वनस्पतिहरु पाइन्छन् । साथै २०० प्रजातिका झ्याउ, हजार प्रजातिका लेउहरु पाइन्छन् । विस्वको करीब शुन्य दशमलब ०१ % भुभाग ओगटेको यस राष्ट्रमा करिव ३.२ % जैविक विविधता रहेको छ । नेपालको उच्च जैविक विविधताको श्रेय भौगोलिक संम्रचना र जलवायुको विविधतालाई जान्छ ।

१. के हो त ढुसि भनेको ?

नेपालको जैविक विविधता अन्तर्गत रहेका अनेकौं जीवहरु मध्ये ढुसी पनि एक हो । ढुसीलाई अंग्रेजीमा ‘फन्जी’ भनिन्छ । स्पेसिस फङ्गोरम डाटाबेस, २०२० को तथ्याङ्क अनुसार हाल १,४८,००० प्रजातिका ढुसी पहिचान भइसकेको छन् भने हक्सवर्थ र लुकिंग, २०१७ को अनुमानमा तिनिहरूको विविधता २२ देखि ३८ लाख प्रजातिहरू सम्म हुन सक्ने आंकलन छ । महेशकुमार अधिकारीले सन् २०१४ मा नेपालमा कुल २४६७ ढुसीको प्रजातिहरू रिपोर्ट गरेका छन् ।


ढुसीहरु सुष्मजीवी देखि नाङ्गो आखाँले देखिने सम्मको हुन्छन् । मौसमी रूपमा, ढुसीहरू गोबर, घाँसे मैदान, जंगल र काठका लट्ठाहरू सहित विभिन्न प्रकारका स्थानहरुमा संसारभरि पाइन्छन् । इस्ट, मोल्ड र च्याउ ढुसीको प्रकारहरू हुन । मर्चामा हुने ढुसी (इस्ट) एककोशीय सुष्मजीव हो भने मोल्ड निक्कै सानो बहुकोशिय तर नाङ्गो आखाँले स्पष्ट रूपमा छुट्याउन नसकिने ढुसी हो । मोल्डको आकार करिब ५ मिलिमिटर सम्मको हुन्छ भने च्याउहरु नाङ्गो आखाँले स्पस्ट दखिने ठूला अकारका हुन्छन् ।

मोल्डलाई झट्ट हेर्दा विभिन्न कालो, सेतो, हरियो, आदि रङको धब्बा जस्तो देखिन्छ । यसलाई सडेको चिजहरुमा वा झ्याँउहरु सँग सम्बन्धित भएर बसेको देख्न सकिन्छ । सामान्यतया, च्याउहरु भने छाता आकारका सजिलै नाङ्गो आँखाले देख्न सकिने ठूला हुन्छन् । साथै च्याउहरु अन्य विभिन्न प्रकार जस्तै जाली, अम्ला, डल्लो, कप, जेली, कोरेल आदि आकारका हुन्छन् । वास्तवमा च्याउ बीजाणु उत्पादन गर्ने वा प्रजनन् संरचना हो जुन केवल केहि ढुसीले उत्पादन गर्दछ । शिव देवकोटा र हरी अर्याल, २०२० को प्रतिवेदन अनुसार नेपालको जङ्गली च्याउ १०८ परिवारमा १२९१ प्रजातिका छन् । तिमध्ये १५१ खाने च्याउ, ७४ औषधिय र १०० विषालु च्याउ रहेका छन् ।

जब बर्खायाम सुरु हुन्छ, ओस बढ्छ तब माटोमाथि र खसेका हाँगाहरूमा च्याउ लगायतका अन्य जीवहरु देखा पर्न थाल्छन् । वास्तवमा, च्याउ आकर्षक र प्रकृतिको एक सुन्दर बासिन्दा हो । सो समयमा मानिसहरू च्याउ खानको लागि सङ्कलन गर्ने गर्दछन् । यद्यपि च्याउहरु विषालु पनि हुन्छन् र यसको गलत पहिचान घातक हुन सक्छ । साथै अन्य विभिन्न कारण जस्तै रोचक जीवको रूपमा वा फोटोग्राफि विषयहरूको रूपमा च्याउको खोजी गर्ने गरिन्छ ।

२. ढुसीको भुमिका

ढुसीहरुको उपस्थितिले जैविक पदार्थ सड़ाउने क्षमता राख्दछ । ढुसीले जैव–रासायनिक चक्रमा एक महत्वपूर्ण भूमिका खेल्छ । माटोमा रहेका पोषक तत्वहरुको पुनः प्रयोगको लागि ढुसीहरुले मरेका बोटबिरुवा र जनावरहरू सडाउँछन् र मुख्य पोषक तत्वहरू माटोमा फर्काउँछन् ।

थोरै जीवहरू मध्ये काठमा रहेको मुख्य यौगिक लिग्निनलाई ह्रास गर्न सक्ने जीव ढुसी हो । ढुसी नभएको भए हाम्रो वातावरण मृत जैविक वस्तुहरुको थुप्रोहरुले भरिएको हुन्थ्यो । ढुसीकै यस्तै अन्य थुप्रै भुमिकाहरु छन् जस बिना पारिस्थितिक प्रक्रियाको कल्पना गर्न सकिदैन ।

३. जलवायु परिवर्तनलाई कम गर्न ढुसीले कसरी मदत गर्छ ?

वायुमण्डलमा रहेको कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड र क्लोरोफ्लोरोकार्बन हरितगृह ग्याँसहरू हुन् । कार्बन डाइअक्साइड मुख्य हरितगृह ग्याँस हो जसको कुल ७६% हरितगृह प्रभाव रहेको छ । सूर्यबाट आएको ताप ऊर्जालाई हरितगृह ग्याँसहरूले पृथ्वीमा भण्डार गर्दछ । यी ग्याँसहरूले जलवायु परिवर्तनमा ठूलो असर पार्दछ । अहिलेको विश्वव्यापी बढ्दो गर्मी हरितगृह प्रभावको एउटा ज्वलन्त उदाहरण हो । वायुमण्डलीय कार्बन डाइअक्साइडको एकाग्रता बढ्नुमा मानवीय क्रियाकलाप र प्राकृतिक घटना दुवै जिम्मेवार छन् । वायुमण्डलमा रहेका हरितगृह ग्याँस कार्बन डाइअक्साइडलाई बोटबिरुवाहरुले प्रकाश संश्लेषणद्वारा (फोटोसेन्थेसिस) आफ्नो शरीरमा जैविक पदार्थमा रुपान्तरण गर्दछ ।

एवरिल एट अल. (२०१४) को भनाइ अनुसार प्रकाश संश्लेषणद्वारा बनेको खाना (ग्लूकोजको रुपमा) करिब २०% विरुवाको जरा छेउको माटोमा स्थानान्तरण हुन्छ । यसरी वायुमण्डलमा रहेको कार्बन डाइअक्साइड माटोको सञ्जालमा फैलिन पुग्दछ र माटोमा रहेका ढुसी लगायत सूक्ष्मजीवहरूले उक्त खानालाई उर्जा र शरीर निर्माणमा खर्च गर्छन् । यसरी वायुमण्डलको कार्बन डाइअक्साइड जैविक पदार्थको रूपमा माटोमा ढुसीको शरीरमा भण्डारण हुन्छन् । उच्च जैविक विविधता भएको माटोमा कार्बन भण्डार गर्ने माटोको क्षमता बढी हुन्छ । यसरी लामो समयसम्म माटोमा भण्डारण गरिएको कार्बनले वायुमण्डलमा हरितगृह ग्याँसको रिहाईलाई कम गर्न मद्दत गर्छ ।


माइकोराइजल नामक एक ढुसीको प्रजाति रूखको जरामा रहेका हुन्छन् । माइकोरिजल ढुसीले जंगलमा कार्बन डाइअक्साइडलाई छिटो अवशोषित गर्न मद्दत गर्ने वैज्ञानिकहरूले बताएका छन् । यस ढुसीले जरा विस्तार, बिरुवा वृद्धि विकास, उच्च प्रकाश संश्लेषक दर र विभिन्न प्रकारका रोगहरूबाट सुरक्षा प्रदान गर्न बोटबिरुवालाई मद्दत गर्दछ । साथसाथै माटो सुधारमा पनि टेवा पु¥याउँदछ । यसरी बायुमण्डलमा भएको हरितगृह ग्याँसहरुलाई माटो र जैविक पदार्थमा भण्डारण गर्न ढुसीको महत्वपूर्ण भुमिका रहेको छ । यसले पारिस्थितिक प्रणालीलाई सन्तुलीत गर्न र जलवायु परिवर्तनलाई कम गर्न मद्दत गर्छ ।
माटोले कार्वन उत्सर्जक र स्रोत दुवैको भुमिका खेल्दछ । माटोमा रहेको ढुसी लगायतका अन्य सुष्म जीवहरुले उर्जा उत्पादनमा अक्सिजन प्रयोग गरेर कार्बन डाइअक्साइड फाल्ने गर्दछ । वास्तवमा माटोमा कार्वन भण्डारण र उत्सर्जक दुबै भइरहेका हुन्छन् । ढुसीले कार्वनको उत्सर्जक र भण्डारणमा कस्तो भुमिका खेल्छ भन्ने निकै कम अनुसन्धान भएको छ । अझ बृस्तितमा बुझ्नलाई यस्ता अनुसन्धानहरु हुन आवश्यक छ ।

४. ढुसी किन जोखिममा छ ?

ढुसि अध्ययनहरू लामो समयदेखि वन पारिस्थितिक प्रणाली र मानव जीवनमा महत्वपूर्ण भूमिकाको लागि विश्वका वैज्ञानिकहरूको लागि चासोको विषय भएको छ । अत्यधिक दोहन, वन फँडानी, जलवायु परिवर्तन, चेतना र दस्तावेजीकरण कमीको कारण ढुसीको अश्तित्व जोखीममा छन् । ‘इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचर’ नामक संस्थाले खतरामा परेका प्रजातिहरूका संरक्षणको लागि रातो सूचीमा हाल ५५१ ढुसी समावेश गरेको छ, जबकि ५८,३४३ बोटबिरुवा र १२०० कीराहरू छन् र तुलनात्मक रूपमा ढुसीको सुची निकै कम हो । बोटबिरुवाको वृद्धि विकास, रोगजनकहरू र जैविक वस्तु सडाउने अभिकर्ताको रूपमा ढुसीले स्थलीय पारिस्थितिक प्रणालीको कामकाजमा महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले, जैविक विविधताको संरक्षण र उपयोग गर्न पर्याप्त वर्गीकरण र पारिस्थितिक ज्ञान आवश्यक छ, साथै हालको र भविष्यको वातावरणीय परिवर्तनहरूको पहिचान गर्न र बुद्धिमानीपूर्वक प्रतिक्रिया दिन सहयेग गर्नेछ (डोनोग्यू एट अल. २००९)।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2022 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes