महिला जागृति सामुदायिक वनद्वारा विपन्नलाई खाट वितरण - Pahilo Online

महिला जागृति सामुदायिक वनद्वारा विपन्नलाई खाट वितरण

writer

पहिलो अनलाइन

शनिश्चरे । पथरीशनिश्चरे–९ स्थित महिला जागृति सामुदायिक वन उपभोक्ता समूहले विपन्न वर्गका उपभोक्तालाई खाट तथा हाटबजारलाई डस्टविन वितरण गरेको छ । सोमबार पथरीशनिश्चरे–९ स्थित शनिश्चरे बजारमा कार्यक्रम आयोजना गरी उक्त सामग्री वितरण गरेको हो ।

वन समूहले विपन्न वर्ग लक्षित कार्यक्रम अन्तर्गत चारजना उपभोक्ताहरुलाई खाट वितरण गरेको हो । जसमा गोपे माझी, भागबहादुर धिमाल, सोमकुमारी लिम्बू र छत्रमाया धिमालको परिवारलाई एक–एक ओटा खाट प्रदान गरिएको हो । यसैगरी, सामाजिक कार्य अन्तर्गत समूहले शसस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेलाई तीन वटा खाट समेत प्रदान गरेको समूहका सचिव तुलसीराम श्रेष्ठले जनाए ।

सामाजिक कार्य अन्तर्गत नै चारवटा साप्ताहिक हाट बजारलाई डस्टविन वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अितिथि पथरीशनिश्चरे वडा नं. ९ का अध्यक्ष वीरबहादुर राई र समूहका अध्यक्ष चन्द्रकला चेम्जोङले सामग्री वितरण गरेका थिए । प्रत्येकलाई चारवटाको दरले सोमबारे बजार, शनिश्चरे बजार, मंगलबारे बजार र दोहलु शुक्रबारे बजारलाई डस्टविन वितरण गरिएको सचिव श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा वडाध्यक्ष राईले महिला जागृति सामुदायिक वनका उपभोक्ता र समितिले दुःखका साथ संरक्षण गरी वनबाट आएको आम्दानीले विपन्न उपभोक्ताहरुलाई खाट, हाट बजारलाई डस्टविन वितरण गरी उदाहरणीय कार्य गरेको भन्दै प्रसंसा गरे । उनले भने ‘कतिपय सामुदायिक वनमा आर्थिक अनियमितता गरेको सुन्नमा आए पनि महिला जागृतिले वनबाट आएको आम्दानीले गरिवि निवारण र सामाजिक काम गर्दै जाओस् साथै विकासमा वडा तथा नगरलाई समेत सहकार्य गर्न आग्रह गर्दछु ।’ सामुदायिक वनको आम्दानीले सामाजिक उत्तरदायित्वमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै उनले समूहले आम्दानीको केही प्रतिशत रकम समूदायको शिक्षा, सडक, खानेपानी लगायतका सामाजिक विकासमा खर्च गर्न आग्रह गरे ।

महिला जागृति सामुदायिक वन तत्कालिन जिल्ला वन कार्यालय मोरङमा वि.सं. २०६० फागुनमा संरक्षण सुरु गरी २०६७ सालमा विधिवत दर्ता भई वि.सं. २०७२ सालमा १ सय ७० हेक्टर वन क्षेत्र हस्तान्तरण भई सञ्चालनमा रहेको छ । महिला जागृति सामुदायिक वनले ४ सय १६ घरपरिवारलाई काठ दाउरा तथा वन पैदावर उपलब्ध गराउँदै आएको छ । महिला जागृति सामुदायिक वन उपभोक्ता समूहले साल, कर्मा, बो.ध., बर्रो, राजवृक्ष, अस्ना, जमुना, साधन जातका रुख विरुवाको संरक्षण र सम्बद्र्धन गर्दै आएको छ ।

समूहले वन हेरालु र एक जना चौकीदार नियुक्ति गरेर नियमित रुपमा वन संरक्षण र चोरी तस्करी नियन्त्रण गरिरहेको समूहका कोषाध्यक्ष धर्मध्वज कार्कीले बताए । वन संरक्षण र सम्बद्र्धनका लागि समूहले समयअनुसार अग्नी नियन्त्रण रेखा निर्माण, तार घेराबारा, डढेलो नियन्त्रण सचेतना गोष्ठी एवं वन पथ निर्माण, झाडी सफाई, विरुवा उत्पादन गरि रोपण गर्ने गरेको अध्यक्ष चन्द्रकला चेम्जोङले जानकारी दिइन् ।

यस्तै, विवाह, ब्रतबन्ध तथा पूजा जस्ता सामाजिक कार्यका लागि समूहले सहुलियत दरमा दाउरा उपलब्ध गराउँदै आएको छ । उपभोक्ताको मृत्यु भएमा, अशक्त विरामी, सुत्केरी तथा काजकिरिया गर्नका लागि दाउरा उपलब्ध गराएको छ ।

समूहका उपभोक्ताहरुलाई आत्मनिर्भर बनाउन महिला तथा युवा वर्गलाई सिपमुलक तालिमको आयोजना गरिने अध्यक्ष चेम्जोङको भनाई छ । समूहको प्रत्येक टोल भेला गरी गाउँमा स्वास्थ्य तथा सरसफाई सचेतना कार्यक्रम सञ्चालन गर्ने समूहको योजना रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes