डम्बर बहादुर विश्वकर्मा
लेटाङ्ग । विगत लामो समय देखिनै उत्तरी मोरङ्गको लेटाङ्ग स्थित नमुना सामुदायिक वन उपभोक्ता समुह साँच्चिकै नमुना काम गर्दै आईरहेको छ । यसैको निरन्तरता स्वरुप यस आर्थिक वर्षमा पनि लेटाङ्ग नगरसँगको सहयोगमा सञ्चालन हुन गईरहेको साझेदारी स्वास्थ्य विमा कार्यक्रमको एक समारोहको विच उद्घाटन गरिएको छ । साथै सोहि समारोहमा व्युटीपार्लर र ड्राइभिङ तालिम कार्यक्रमको समेत उद्घाटन गरिएको छ ।
लेटाङ्ग ३ विरन स्थित समुहको आफ्नै सभाहलमा कार्यक्रमका प्रमुख अतिथि नवनिर्वाचित नगरप्रमुख भुपेन्द्र लावतीले उद्घाटन गर्नुभएको थियो । समुहका पाँच सय ७६ वटै घरधुरीमा पाँच वर्ष भित्र स्वास्थ्य विमाको पहुच पुर्याउने साथै समुहका सदस्यहरु लाई स्वरोजगार मुलक सिप दिलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम शुरु गरिएको समुहका अध्यक्ष भिम देवानले बताए ।
अध्यक्ष देवानका अनुसार आर्थिक वर्ष ०७६÷०७७ मा ३६ घरधुरीबाट थालिएको निःशुल्क स्वास्थ्य विमा कार्यक्रम २०७७÷०७८ मा त्यस संख्यालाई बढाएर दोब्बर ७२ घरधुरी बनाईएको थियो । शुरुका दुई वर्ष समुहको आफ्नै मात्र लगानीमा उपभोक्ताहरुको विमा गर्दै आएकोमा यस आ.व.मा भने लेटाङ्ग नगरपालिका सँग साझेदारी गरिएको समुहका सह–सचिव बमबहादुर भुजेलले जनाए । यस पटक गरिएको साझेदारी अनुसार समुहका तर्फ बाट ७२ घरधुरी र नगरका तर्फ बाट ३० घरधुरीको गरी जम्मा एक सय २ घरधुरीका उप भोक्ताहरुको स्वास्थ्य विमा गरिने जनाईएको छ । सह–सचिव भुजेलका अनुसार यस आर्थिक वर्ष ०७८÷७९ सम्म आईपुग्दा जम्मा दुई सय १० घरधुरी उपभोक्ताहरु स्वास्थ्य विमाको पहुँचमा आईपुगेका छन् ।
यसरी गरिने स्वास्थ्य विमा पाँच वर्ष भित्र सबै खाले उपभोक्ता घरधुरीहरुलाई प्रथम पटक मात्र गरिने छ । विमाको समयावधि थप गर्नुपरे उपभोक्ता स्वयंले गर्नु पर्ने जनाईएको छ । आर्थिक अभावका कारण कुनै उपभोक्ताहरुले विमाको समयावधि थप गर्ननसकेमा भने समुहले नै समुहको टोली प्रमुखको सिफारिसमा गरिदिने समुहका कोषाध्यक्ष सागर राईले बताए । हाल समुहको जम्मा ३६ वटा टोल कमिटी रहेको जनाईएको छ । यसरी स्वास्थ्य विमामा मात्र हालसम्म संस्थाको ६ लाख ३० हजार लगानी भै सकेको छ भने लेटाङ्ग नगरपालिकाको एक लाख ५ हजार लगानी रहेको छ ।
यसैगरी, सोही दिन उद्घाटन भएको व्युटीपर्लर र ड्राइभिङ तालिममा समेत समुहका टोलबाट सिफारिस भै आएका ईच्छुक ३२ जना युवा युवतीहरुको सहभागिता रहेको छ । निःशुल्क दिईने यी दुई वटै तालिम मध्ये व्युटीपार्लरमा १६ जनाको सहभागीता रहेको छ भने ड्राइभिङमा पनि १६ जनाको सहभागिता रहेको छ । उपभोक्ताहरुलाई सिप सिकाई आत्म निर्भरता दिलाउने उद्देश्यले गरिएको यस कार्यमा समेत समुहले यस पटक मात्र ३ लाख खर्च गर्ने खाका तयार भएको जनाईएको छ ।
आफ्नो स्थापना कालदेखि नै हरेक वर्ष केहि न केहि उदाहरणीय कार्य गर्दै आईरहेको समुहले लेटाङ्ग क्याम्पसमा अध्ययनरत ३÷४ जना गरिव तथा जेहेन्दार छात्र÷छात्राहरुलाई छात्रवृत्ति समेत वितरण गर्दै आईरहेको समुहकी सचिव उर्मिला श्रेष्ठले जनाईन् । उनका अनुसार समुहले गरिवी न्युनीकरणको कार्यदेखि समुह बाहिरका बिभिन्न संघ संस्थाहरुलाई समेत सहयोग गर्दै आईरहेको छ ।
संस्थाका अध्यक्ष भिम बहादुर देवानको अध्यक्षतामा सम्पन्न समारोहमा नगरका नवनिर्वाचित प्रमुख र ३ नं. वडाध्यक्ष डम्बर राईलाई स्वागत सम्मान समेत गरिएको थियो ।