‘विभेदको अन्त्य नभई समावेसी र समृद्ध मुलुक निर्माण हुन सक्दैन’ - Pahilo Online

‘विभेदको अन्त्य नभई समावेसी र समृद्ध मुलुक निर्माण हुन सक्दैन’

writer

पहिलो अनलाइन

‘म संविधानसभा सदस्य चण्डी राईको श्रीमतीमात्रै भएर चुनावमा आएकी होइन, जनताको माग र चाहना हो भन्ने लाग्छ ।’– आसन्न स्थानीय तह निर्वाचनमा मोरङको पथरीशनिश्चरे नगरपालिकामा उप–प्रमुख पदका लागि तीन दलीय गठबन्धनका तर्फबाट उम्मेदवार भएकी विन्दु राईले गर्वका साथ भनिन् ।
पथरीशनिश्चरे वडा नं. १० कि स्थायी बासिन्दा राई भन्छिन् ‘आज पनि महिलाले विवाह गर्ने भनेको अरुको घर गएर परनिर्भर हुनु हो भन्ने कुष्ठित चिन्तन छ । म त्यही परनिर्भरतामुखी सोचलाई बदल्न राजनीतिमा आएकी हुं ।’ दोस्रो संविधानसभा सदस्य चण्डीप्रसाद राईकी श्रीमती विन्दुलाई आफ्नो परिचय दिन नामको अगाडि श्रीमान्को नाम जोडिराख्नु पर्दैन, विद्यार्थी जीवनदेखि सुरु भएको उनको राजनीति सत्ता परिवर्तनका लागि भएका विभिन्न कालखण्डका आन्दोलन, सामाजिक संघ संस्थाको सफल नेतृत्वलाई हेरे पुग्छ ।
वि.सं. २०२८ सालमा जन्मिएकी विन्दुको २०४२ सालमा अमरसिंह माविमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको सचिवबाट राजनीतिक यात्रा सुरु भएको हो । २०४६ सालमा विराटनगरमा भएको पञ्चायती तानाशाही व्यवस्था विरोधी आन्दोलनमा सक्रिय सहभागि हुने क्रममा २३ दिनसम्म प्रहरी हिरासतमा बसेको याद मानसपटलमा ताजै रहेको विन्दु बताउंछिन् । ‘अनेम संघले आयोजना गरेको त्यो आन्दोलनको नेतृत्व वर्तमान राष्ट्रिपति विद्यादेवी भण्डारीले गरेकी थिइन्’– राईले स्मरण गरिन् ।
उनी अनेरास्ववियुको मोरङ जिल्ला कमिटी सदस्य, अनेरास्ववियु महिला जिल्ला विभाग अध्यक्ष समेत भएर नेतृत्व सम्हालेको अनुभव सुनाउछिन् । विन्दुको राजनीतिक यात्रा त्यतिमै टुंगिएन, उनी नेकपा एमाले पथरीशनिश्चरे नगर कमिटी उपाध्यक्ष भई सकेकी छिन् ।
सामाजिक कार्य र संघ संस्थाको नेतृत्वदायि भुमिकामा पनि विन्दु उत्तिकै अव्बल र सक्षम छिन् । उनी पथरीशनिश्चरे–२ स्थित लर्डबुद्ध सहकारीमा ४ कार्यकाल सञ्चालक समिति सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष भई कार्य गरिसकेकी छिन् । यस्तै उत्साही साना किसान सहकारी संस्थाको अध्यक्षको कार्यभार सम्हालिरहेकी छिन् । उनी रेडक्रसको आजिवन सदस्य, पथरी बहुमुखी क्याम्पसको परिषद सदस्य हुन् ।
राजनीति, सामाजिक कार्यका साथै विन्दु सञ्चारमा पनि उत्तिकै रुची र प्रभाव राख्दछिन् । एकताका पूर्वाञ्चलकै लोकप्रिय साप्ताहिक पत्रिका मोफसल साप्ताहिकको १० वर्षसम्म प्रकाशन समूहमा रहेर पत्रिकालाई देशबाहिरको पहिलो ‘क’ वर्गमा पुर्याउन नेतृत्वदायी भुमिका निर्वाह गरिसकेकी छिन् ।
यस्तो बहुप्रतिभा र क्षमता भएकी अब्बल महिलालाई पथरीशनिश्चरेमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले उप–प्रमुखको उम्मेदवार बनाएको छ । महिलाहरु श्रमदेखि राजनीतिसम्मै अहिले पनि विभेदमा रहेको उनको तर्क छ । ‘विभेदको अन्त्य नभई समावेसी र समृद्ध मुलुक निर्माण हुन सक्दैन’ भन्ने मुल मन्त्रका साथ चुनावी मैदान होमिएको उनले बताइन् । अब महिला ३३ प्रतिशतमात्र होइन, कुनै पनि पदका लागि योग्य भइसकेको उनको दावी छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes