लेटाङ । लेटाङ–३ स्थित कमलपुर सामुदायिक वन उपभोक्ता समूहले विपन्न उपभोक्तालाई बंगुर पाठा र मकै छर्ने मेसिन वितरण गरेको छ ।
वन समूहले कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी आर्थिक रुपले विपन्न उभोक्ता छनौट गरी बंगुर पाठा वितरण गरेको हो । समूहको गरिवि न्यूनिकरण कार्यक्रम अन्तर्गत ९६ जना विपन्न उपभोक्ता परिवारलाई पाठा वितरण गरिएको समूहका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । कृषिमा आत्मनिर्भर बनाउँदै विपन्न उपभोक्ताको आर्थिक स्तर वृद्वि गर्ने वन समूहको उदेश्य रहेको उनको भनाई थियो ।
कार्यक्रमका अतिथि लेटाङ ३ नं. वडा सदस्य एवं समूहका लेखा संयोजक कमलराज राईले बंगुर पालनबाट राम्रो लाभ लिन सकिने भन्दै पालन पोषणमा ध्यान दिन आग्रह गरेका थिए ।
कृषकलाई मकै रोप्ने मेसिन प्रदान
कमलपुर सामुदायिक वन उपभोक्ता समूहले किसानका लागि कृषि उपकरण प्रदान गरेको छ । समूहका विपन्न वर्गका उपभोक्ता किसानलाई मकै छर्ने मेसिन प्रदान गरिएको हो । समूहका किसानले अब परम्परागत कृषि पेशा छोडेर आधुनिक कृषि प्रणाली अंगाल्ने विश्वास गरिएको छ ।
परम्परागत खेती गरिरहेका किसानहरूलाई राहत पुग्नेगरी समूहले अनुदानमा १४ वटा कृषि सामग्री प्रदान गरिएको समूहका अध्यक्ष गोपाल श्रेष्ठले बताए । कृषि क्षेत्रलाई समूहले प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै अध्यक्ष श्रेष्ठले भने, ‘व्यावसायिक रुपमा कृषि पेशामा थप अनुदानका कार्यक्रम पछिल्ला वर्षमा ल्याउँछौं ।’
कमलपुरलाई कृषि क्षेत्रको माध्यमबाट पहिचान स्थापित गर्न किसानको भूमिका प्रमुख हुने भन्दै आउने दिनमा थप कार्यक्रम समूहले ल्याउने उनले बताए । उनले भने, ‘कुटो कोदालो प्रयोग गर्ने जमना अब गए ।’ परम्परागत खेती र विषादीयुक्त औषधी प्रयोगले हरेक गाउँमा क्यान्सर, मिर्गौला, मधुमेह लगायतका रोग दिनहुँ बढ्ने गरेको उनको भनाई छ ।
समूहकी सचिव गिता खतिवडा चौलागाईले व्यावसायिक रुपमा किसानले खेती गरे कामका लागि विदेशिनु नपर्ने बताइन् । ‘किसानहरूलाई कृषि पेशामा नै आत्मानिर्भर बनाउन समूहले दर्जनौं योजना ल्याएको जानकारी दिंदै खतिवडाले भनिन् ‘किसानहरुले अब कमलपुरलाई कृषिमा आत्मनिर्भर बनाउनुहुन्छ, हामी उहाँहरुलाईं व्यावसायिक किसान बनाउँछौं ।’
परम्परागत विधिभन्दा मेसिनले रोपेको मकैबाली सप्रिने, राम्रो घोघा र दाना लाग्ने भएपछि मकै रोप्नका लागि मेसिन प्रदान गरिएको उनको भनाई छ ।
सीसी क्यामेरा जडान
कमलपुरका विभिन्न क्षेत्रमा सिसी क्यामरा जडान गरिएको छ । अपराधलाई न्युनिकरण गरी शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले तीन वटा अत्याधुनिक सिसी क्यामरा जडान गरिएको कमलपुर सामुदायिक वनका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।
वन समूहले आफ्नो लगानीमा कमलपुरको पुछार चौरी, समूहको कार्यालय परिसर र माथिल्लो चौरीमा सिसी क्यमरा जडान गरिएको हो । ‘यो जडान भएमा विभिन्न खाले अपराधिक घटना सजीलै प्रष्ट रुपमा देखिने भएकाले कारबाहीमा सहजता आउछ’ समूहका अध्यक्ष श्रेष्ठले भने ।
सडक र वन क्षेत्रमा फोहर फ्याँक्ने, वन्य जन्तु, काठ चोरी गर्ने, तिब्रगतिमा गाडी कुदाउने र विभिन्न अपराध गर्ने व्यक्तिको क्यामराले पहिचान सजीलै खुल्ने भएकाले कारबाही गर्न सहज हुने बताइएको छ । ‘हामी कमलपुरलाई स्वच्छ सफा र शान्ति क्षेत्रका रुपमा विकास गर्न चाहन्छौ,’ अध्यक्ष श्रेष्ठले भने ‘अब कसैले अपराध गर्ने सपना नदेखे हुन्छ । किनकी कसले के के ग¥यो भन्ने कुरा सबै सिसी क्यमाराले हामीलाई भनिदिन्छ ।’
कमलपुर क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमलाई कम गर्न यसअघि नै सामुदायिक वनले सौर्य बत्ती जडान गरेको छ ।
विरुवा गोडमेल तथा झाडी सफाई
कमलपुर सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा हस्तान्तरित वन क्षेत्र वरपर अनावश्यक रुपमा रहेको झाडीहरु हटाउने काम गरिएको छ । उक्त क्षेत्रमा साल लगायत अन्य विभिन्न वोट विरुवाहरु संरक्षण गर्न दुईदिनसम्म सरसफाई अभियान चलेको थियो ।
कार्यक्रम अन्तर्गत सामुदायिक वन क्षेत्रमा पर्ने खेल मैदान र संभावित सिमसार क्षेत्र वरपर, सरसफाई गरिएको थियो ।