आमजुंगी सामुदायिक वन क्षेत्रफल सानो, काम अरुभन्दा ठूलो - Pahilo Online

आमजुंगी सामुदायिक वन क्षेत्रफल सानो, काम अरुभन्दा ठूलो

writer

पहिलो अनलाइन

केराबारी । उत्तरी मोरङको केराबारी–८ स्थित आमजुंगी सामुदायिक वन संरक्षण सुरु गरेको दुई दशक भएको छ । उक्त अवधिमा यस सामुदायिक वनले वन विकासका साथै सामाजिक विकास र गरिवी न्यूनिकरणका क्षेत्रमा उदाहरणीय काम गरेको छ ।

आमजुंगी सामुदायिक वन उपभोक्ता समूहले वनको वैज्ञानिक व्यवस्थापन कार्यक्रम अन्तर्गत वार्षिक पुनरउत्पादन कटान भएका कुपलाई तारजालीले घेराबारा गरेको छ । २०७० सालबाट १० वर्षिय कार्ययोजना बनाई दिगो वन व्यवस्थापन अन्तर्गत वनको वैज्ञानिक व्यवस्थापन कार्य अनुरुप उक्त कुपलाई समय समयमा उपभोक्ता परिचालन गरी गोडमेल गरेर विरुवा हुर्काउने कार्य गर्दै आएको छ ।


वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत हालसम्म चार वटा कुप कटान गरिसकेको उक्त समूहले रुख काट्ने काम मात्रै गर्दैन, खाली खाल्सा भएको वन क्षेत्रमा वार्षिक रुपमा विरुवा उत्पादन गरी रोप्ने र हुर्काउने कार्य समेत गर्दै आएको समूहका अध्यक्ष जितबहादुर बस्नेत बताउंछन् । ‘हामीले तीन वटा नर्सरीमा विरुवा उत्पादन गरी रोपेका छौं’– अध्यक्ष बस्नेतले भने ‘रोपीएका विरुवाहरु गोडमेल गर्ने र तिनीहरुमा पानी लगाउने काम हाम्रा उपभोक्ताबाटै हुन्छ ।’ अध्यक्ष बस्नेतका अनुसार समूहले वर्दीधारी वन हेरालुद्वारा नियमित रुपमा वन संरक्षण गर्नुका साथै समितिबाट पनि रात्री कालिन र छड्के गस्ती गर्ने गरीएको छ ।


आमजुंगी सामुदायिक वनले वन संरक्षणका साथै भु तथा जलाधार क्षेत्र पनि संरक्षण गरेको छ । जसमा नदि कटान नियन्त्रणका लागि ढुंगा जाली, खोला किनारमा बांस, अम्रिसो रोपण गरी भू–क्षय हुनबाट जोगाउने उद्देश्य रहेको समूहका कार्यालय सचिव कुलबहादुर बस्नेत बताउंछन् । ‘समूहले आयमुलक कार्यक्रम अन्तर्गत बेसार, अदुवा रोपण तथा बेमौशमी तरकारी खेती अति विपन्न उपभोक्तालाई सहयोग गर्ने लक्ष लिएको छ’– उनले भने । त्यसैगरी, मौरी पालक उपभोक्ता कृषकलाई व्यवसायिक तालिम, मह काड्ने मेसिन र आवश्यक रकम विना व्याज उपलब्ध गराउने वार्षिक कार्यक्रम रहेको कार्यालय सचिव बस्नेतले जानकारी दिए ।

समूहले यसै वर्ष सुंगुर, बाख्रा पाठा अनुदान तथा उत्कृष्ट कृषकलाई पुरस्कार समेत दिने लक्ष लिएको छ । गरीवि न्यूनिकरण कार्यक्रम अन्तर्गत समूहले केराबारी गाउंपालिकाको सहकार्यमा विपन्न उपभोक्तालाई घर निर्माण गर्ने उद्देश्य राखेको छ ।


यसैगरी, सामुदायिक विकास तर्फ बाटो, सडक निर्माणका साथै मर्मत, विद्यालय, स्वास्थ्य भवन निर्माणका लागि नगद अनुदान सहयोग गरेको छ । समूहले विभिन्न समयमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री वितरण, जेष्ठ नागरिक, एकल महिला, दलित तथा विपन्न वर्गलाई आर्थिक तथा आवश्यक सामग्री वितरण गर्दै आएको छ । वार्षिक रुपमा ४१ लाख ३६ हजार आम्दानीको लक्ष राखेको आमजुंगी सामुदायिक वनले मन्दिर, पाटीपौवा, चौतारो, पोखरी, बाल उद्यान निर्माणका लागि र खेल सामग्री साहगोग गर्दै आएको जनाइएको छ । कुल क्षेत्रफल १५८ दशमलब ७८ हेक्टर रहेको वन समूहका २९९ घरधुरीका २ हजार १ सय जनसंख्यालाई आवश्यक वन पैदावर उपलब्ध गराउंदै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes