अनुगमन गर्दागर्दै नवनिर्मीत वडा भवनको छतबाट पानी चुहियो - Pahilo Online

अनुगमन गर्दागर्दै नवनिर्मीत वडा भवनको छतबाट पानी चुहियो

writer

सनम रोक्का । कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ३ को नवनिर्मित भवन यहि असार २७ गते उद्घाटन भयो। उद्घाटन कार्यक्रममा सोही वडाका अध्यक्ष कृतिमान मादेनले नयाँ भवनको छतबाट पानी रसाउने गरेको गुनासो राखेका थिए । त्यससँगै केही समयअगाडि सो भवनको छतबाट पानी रसाउँदै गरेको केही भिडियो तथा फोटोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।

वडा नं. ३ माथिल्लो हरकपुरमा अवस्थित १ तले वडा कार्यालयको भवन जिल्ला समन्वय समितिको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत गरि ४९ लाख ५३ हजार ६ सय १४ रुपैयाँ ५२ पैसामा निर्माण सम्पन्न भएको हो । निर्माण कार्यको ठेक्का स्थानीय ठेकेदार पुरुषोत्तम सुवेदीको पुरुषोत्तम कन्ट्रक्सनले लिएको हो । निर्माण सम्पन्न भएको केही समयमा नै छतबाट पानी झर्न थालेपछि गुनासाहरू सार्वजनिक भएका थिए। यी सम्पूर्ण कुराहरू बाहिरिएसँगै समुदायस्तरबाट चौतर्फी विरोधका आवाज सुनिन थालेका छन् । आर्थिक चलखेल भयो कि भन्ने जिज्ञासा आउँन थालेपछि सम्बन्धित व्यक्तीहरूले स्पष्टीकरण समेत दिनुपरेको छ ।

वडाअध्यक्षसँग कुरा गर्ने क्रममा आफुले भवन निर्माणका बेला बारम्बार निगरानी राख्दै गुणस्तरीय बनाउन अनुरोध गरेको बताए । प्राविधिक ज्ञान नभएपनि निर्माण सामग्री कमसल नहोस भनि अनुगमन गर्दागर्दै पनि काम दिगो नभएको उनले गुनासो गरे । ‘यसमा प्राविधिक गल्ती सम्बन्धित निकायको केही हदसम्म छ, त्यसलाई सच्याएर गुणस्तरीय भवन वडालाई हस्तान्तरण गर्नुप¥यो,’ उनले भने । छतबाट पानी चुहिन थालेको कुरा ठेकेदार र इन्जिनियर सुनाएपनि सुनुवाइ नभएको कुरा उनले राखे । हाल मैले यस समस्यालाई सम्बन्धित निकायमा पु¥याई दबाब दिन थालेपछि ठेकेदारले त्रुटी सच्याउने बाचा गरेको अध्यक्ष मादेनले सुनाए ।

पालिकाका प्रमुख इन्जिनियर रन्जन निरौलाले नहुनुपर्ने घटना भएको बताए । छत ढलान गर्ने क्रममा मौसम प्रतिकुलता, भौगोलिक हिसाबले असुविधा, ढलान गर्ने क्रममा कामदार र ठेकेदारबीचको समन्वय अभाव र केही निर्माण प्रविधिका गल्तिका कारण छतबाट पानी चुहिएको बताए ।

‘हामीले ठेकेदारलाई भुक्तानी दिएका छैनौं, काम पूर्ण रूपमा सम्पन्न भएपछि मात्र दिन्छौं,’ उनले भने, ‘१३ महिनासम्म केही समस्याहरू देखापरे ठेकेदारले नै बनाइदिनुपर्ने जिम्मेवारी रहन्छ ।’ प्राविधिक मापदण्डको पक्षबाट कुनै गल्ती नगरिकन चुस्तदुरुस्त काम गर्दैगर्दा छतबाट पानी चुहिनु दुर्भाग्य र संयोग भएको उनले सुनाए । चार वटा नयाँ भवनहरू मध्ये अन्य तीनवटा भवन जतिकै निगरानी राख्दा राख्दै पनि भवन रहेको जग्गाको स्थितिका कारण पनि समस्या आएको जानकारी दिए ।

भवन निर्माणको ठेक्का लिएका पुरुषोत्तम सुबेदीले भवन निर्माणको समयमा केही कमजोरीका कारण भवनको छत रसाउने समस्या देखिएको र सो भवन सम्बन्धित पक्षलाई हस्तान्तरण गर्न बाँकी रहेकाले सो वडा भवनको मर्मत कार्य जारी रहेको र पूर्ण मर्मत पश्चात मात्र सम्बन्धित पक्षलाई जिम्मा लगाउने सुबेदीले प्रतिबद्धता व्यक्त गरे ।

भवन निर्माणमा आर्थिक अनियमितता त भएन भन्ने स्थानीय सरोकारवालाहरुको गुनासो छ नि ? भन्ने सवालमा कानेपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठले त्यसमा कुनै सत्यता नभएको बताए । उनले सबै कार्य चुस्तदुरुस्त र पूर्ण निगरानीका साथ सम्पन्न भएको जानकारी दिए । ‘यदि त्यस्तो हो, भने अन्य भवनमा पनि समस्या देखिनुपर्ने त,’ उनले भने, ‘भवन निर्माणका क्रममा केही त्रुटीका कारण सामान्य पानी रसाउने समस्या भएको तर त्यसलाई तत्कालै सुधार गर्न लगाएर वडालाई जिम्मा लगाउँछौं ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes