सनम रोक्का । कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष ०७८/७९ को बजेट गत आर्थिक वर्षभन्दा २०.२६ प्रतिशतले वृद्धि गरेको छ । यस आर्थिक वर्षमा वडा नं. ४ मा रहेको बयरवन स्वास्थ्य चौकीलाई स्तरोन्नति गरि १५ सैयाको कानेपोखरी अस्पताल बनाउने, सेवा प्रवाह सुविधाजनक बनाउन २८ जना स्वयंसेविकालाई साइकल उपलब्ध गराउने, गाउँपालिकाले बाल कक्षा शिक्षक र कर्मचारी गरि ६५ जनालाई तलबका निम्ति रु. ६२ लाख छुट्टाएको छ, सबै वडाको मुख्य–मुख्य ठाउँमा फ्री वाइफाई जडान गरिने, कानेपोखरी, रमाइलो, बयरवन, दलेली बजारलाई सुरक्षित राख्न सिसिटिभि जडान गरिने लगायतका राम्राराम्रा योजनाहरू अघि सारेको छ । गाउँपलिकाको फुसको छानो विस्थापित गर्ने कार्यक्रम अनुसार ३३३ घर खरको छानो विस्थापित गरिने गाउँपालिको निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गाउँपालिका भित्रका भुमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्था समधानका लागि ४० लाख बजेट विनियोजन गरिएको छ । कृषि उपज खास गरि सागसब्जी सुरक्षित राख्न मिनि कोल्ड स्टोरका लागि ११ लाख अनुदानमा विनियोजन गरिएको, खेलकुद र खुल्ला व्यायामशालाका लागि आवश्यक व्यवस्थापनका लागि ४५ लाख विनियोजन गरिएको बताइएको छ । पालिकामा अघिल्लो आर्थिक बर्षदेखि नै केही वडामा सुगर, प्रेसर लगायतको दीर्घरोगी विरामीको लागि निःशुल्क औषधि वितरण गर्दै आएका छन् ।
यस गाउँपालिकाले आर्थिक वर्ष ०७८/७९ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार पालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी गाउँसभाबाट पारीत भएको ७६ करोड ९७ लाख ३० हजार ३ सय ४१ रुपैयाँ बराबरको अनुमानित बजेट पालिका प्रवक्ता सुशील बुढाथोकीले सार्वजनिक गरेका हुन् ।बजेटमा अनुमानित आम्दानी तर्फ संघिय समानिकरण अनुदानबाट १३ करोड ७५ लाख, संघिय सशर्त अनुदानबाट २१ करोड ४३ लाख, संघिय राजस्व बाँडफाँडबाट ८ करोड १५ लाख ६ हजार, संघिय समपूरक अनुदानबाट १ करोड ३९ लाख, संघिय विशेष अनुदानबाट १ करोड २५ लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदानबाट ८० लाख १५ हजार, प्रदेश सरकार सशर्त अनुदानबाट ५० हजार, प्रदेश सरकार सवारी बाँडफाँड अनुदान ५ लाख ३ हजार ७ रुपैयाँ, प्रदेश सरकार समपूरक अनुदानबाट १० लाख, जिल्ला समन्वय अनुदानबाट १० लाख, सामाजिक सुरक्षा भत्ताबाट १ करोड ८० लाख, आन्तरिक राजस्वबाट ६० लाख, मालपोत बाँडफाँडबाट प्राप्त राजस्वबाट १२ लाख ५० हजार , चिसाङ्ग खोलाबाट नदिजन्य पदार्थको बाँडफाँडबाट १७ लाख, सामुदायिक वन समूह १० प्रतिशत आम्दानीबाट २ लाख ५० हजार, विविधबाट २ लाख ५० हजार र अल्याबाट ५ करोड ६४ लाख २९ हजार २ सय ७१ रुपैयाँ गरि ७६ करोड ९७ लाख ३० हजार ३ सय ४१ रुपैयाँ आम्दानीको रूपमा देखिएको छ ।
आर्थिक वर्ष २०७८/०७९ व्ययतर्फको योजनाहरुको अनुमान अन्तर्गत चालू खर्च (स्थानीय तहको बजेटबाट) ७ करोड ३९ लाख ६० हजार, चालू खर्च (सशर्त बजेटबाट) २१ करोड ४३ लाख, सामाजिक सुरक्षा भत्तामा १८ करोड, आर्थिक विकास तर्फ कृषी तथा पशुपंक्षी, सिँचाई, सहकारी र पर्यटनमा गरि जम्मा ३ करोड ७ लाख ३५ हजार, समाजिक विकास तर्फ स्वास्थ्य, शिक्षा, भाषा धर्म, युवा खेलकुद, लक्षित वर्ग, भुमी समस्या समाधान, खानेपानी र विविधमा गरि ६ करोड ४७ लाख ९९ हजार ५० रुपैयाँ, पुर्वाधारमा १६ करोड ७३ लाख ८१ हजार २ सय ९१, सुशासनमा ९२ लाख ५५ हजार र वन वातावरणमा तथा विपद व्यवस्थापनमा २ करोड ९३ लाख गरि जम्मा ७६ करोड ९७ लाख ३० हजार ३ सय ४१ रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिकाले जनसंख्याको आधारमा वडागत सिलिङ बजेट ७ वटै वडालाई छुट्याएका थिए । वडा नंं. १ लाई ५८ लाख, वडा नं. २ लाई ७२ लाख, वडा नं. ३ लाई ६० लाख, वडा नं. ४ लाई ६० लाख, वडा नं. ५ लाई ७५ लाख, वडा नं. ६ लाई ७० लाख र वडा नं. ७ लाई ५५ लाख वडास्तरीय बजेट छुट्याएको थियो । चालू वर्ष ०७७÷७८ मा सडक, स्वास्थ्य, शिक्षा, प्रधानमन्त्री रोजगार, पञ्जिकरण, कृषि पशुपंक्षीको क्षेत्रमा उपलब्धिमुलक कार्यहरू सम्पन्न भएका छन् । हालसम्म ६५ प्रतिशत बजेट खर्च भईसकेको आर्थिक वर्ष अन्त्यसम्म ९० प्रतिशत खर्च हुने अनुमान गरिएको छ।