पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका ७० वर्ष माथिका ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम वडा वडामा सञ्चालनमा रहेको छ । यस क्रममा आज वडा नम्बर १ र १० को सम्मान कार्यक्रम सम्पन्न भएको हो । प्रत्येक वडाका दलित, आदिवासी जनजाति तथा आर्थिक विपन्न २०,२० जना ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रको आयोजनामा भौतिक दूरी कायम गरेर कार्यक्रमको आयोजना गरी काँसको थाल, ढाकाटोपी, बर्काे सहितले सम्मानित गरिएको छ ।
वडा नम्बर १ को कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाले ज्येष्ठ नागरिकलाई सम्मानित गर्दै नगरको विकासमा ज्येष्ठ नागरिकको महत्वपूर्ण भूमिका रहेकाले उहाँहरुको सधैं सम्मान गर्नुपर्ने वताए । ७० वर्ष माथिका ज्येष्ठका लागि वर्षको एक पटक उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा, ८० वर्षमाथिकालाई घर घरमा स्वास्थ्य जाँच सहितका कार्यक्रम नगरले तय गरेको पनि जानकारी गराए । नगरले ५ लाख रुपैयाँ विनियोजन गरेपछि चालु आर्थिक वर्षमा यस प्रकारको कार्यक्रम बनेको समन्वय केन्द्रका नगर अध्यक्ष नेत्रप्रसाद दहालले जनाए ।