अक्सिजन प्लान्ट जडान गर्ने सम्झौता अवधि सकिदा पनि जडान भएन - Pahilo Online

अक्सिजन प्लान्ट जडान गर्ने सम्झौता अवधि सकिदा पनि जडान भएन

writer

मोरङ । कोरोनाको गम्भीर र कडा लक्षण भएका संक्रमितको उपचारमा अक्सिजन आवश्यक भइरहेका बेला विराटनगरस्थित कोशी अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न ढिलाइ भइरहेको छ । मंसिरमा सम्झौता भइ वैशाख २५ गतेभित्र कोशी अक्सिजन जडान गर्ने गरी निर्माण कम्पनीसँग समझदारी भएको थियो । तर, सम्झौता अवधि सकिएको २० दिन भइसक्दा पनि अहिलेसम्म अक्सिजन प्लान्ट निर्माण भएको छैन ।

नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसनको १ करोड ७ लाख रुपैयाँ सहयोगमा कोशी अस्पताल परिसर भित्र बन्ने अक्सिजन प्लान्ट जडानमा ढिलाइ भएको हो । अक्सिजन प्लान्ट जडानको लागि काठमाडौंस्थित डाइनोक्यामले ठेक्का पाएर काम सुरू गरेको लामो समय भइसक्दा पनि अहिलेसम्म प्लान्ट जडान हुन सकेको छैन । अक्सिजन प्लान्टको लागि कोशी अस्पताल परिसरभित्र संरचना बनिसक्दा पनि निर्माण कम्पनीले तेस्रो मुलुकदेखि उपकरण ल्याउन ढिलाई गरेको कारणले प्लान्ट जडानमा ढिलाइ भएको हो ।

हाल संक्रमित बिरामीको चाप बढ्दै जाँदा अस्पताल प्रशासनलाई अक्सिजनको व्यवस्थापन गर्न हम्मे परेको छ । दैनिक ३० देखि ३५ जना संक्रमित भर्ना भइरहेकामा एक बिरामीलाई कम्तीमा २ देखि ३ सिलिन्डर अक्सिजन आवश्यक पर्छ । दैनिक कम्तीमा १ सय सिलिन्डर खपत हुनुका साथै थप त्यति नै संख्यामा जगेडामा राख्नुपर्ने कोशी अस्पतालका मेडिकल सुपरीटेनडेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

उनका अनुसार संक्रमितकै उपचारमा दैनिक ठूलो संख्यामा अक्सिजन सिलिन्डरको आवश्यकता परेको बताए । यसबाहेक अन्य गम्भीर बिरामीलाई पनि अक्सिजनको आवश्यकता पर्दा व्यवस्थापन गर्न समस्या भइरहेको उनको भनाइ छ । आफ्नै प्लान्ट भए यो झन्झटबाट मुक्ति मिल्ने उनले बताए । अहिले अस्पतालले निजी उद्योगसँग सम्झौता गरि अक्सिजन खरिद गर्दै आएको छ ।

कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. दिपक सिग्देलले अक्सिजन प्लान्ट जडान नहँुदा समस्या भएको बताए । ‘अहिले अस्पतालमा अक्सिजनको चरम आवश्यकता छ, यस्तै समस्या नहोस् भनेर चिकित्सकहरूको संस्थाले १ करोड ७ लाख रूपैयाँ पनि दिइसकेको छन् । रकम निकास भएपछि चाँडै काम सम्पन्न हुनुपर्ने हो,’ उनले भने, ‘अहिलेसम्म हुन सकेको छैन ।’ अहिले संक्रमितलाई अक्सिजन आवश्यक परिरहेकोले चाँडो प्लान्ट जडान गरिदिन भन्दै आएको उनले बताए । कोशीमा अक्सिजन प्लान्ट जडान भएपछि दैनिक ३ सय सिलण्डेर उत्पादन हुने अपेक्षा गरिएको छ । ३ सय सिलेण्डर दैनिक उत्पादन हुँदा कोशी कोभिड युनिटमा भर्ना भएका संक्रमितको उपचारमा सहज हुने अस्पतालले जनाएको छ । (थाहखबर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes