पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका कोरोना भाइरस संक्रमितहरुका लागि आइसोलेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आइसोलेसनका रुपमा खडा गरिएको वडा नम्बर २ मा रहेको नगर अस्पतालको नवनिर्मित भवनमा टायल विछ्याउने र भवन अगाडि सम्माउने काम भएको छ । बुधबार नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य आइसोलेसनस्थल निर्माणमा खटिएका थिए ।
यसैबीच, नगरमा कोरोना संक्रमणको दर तीव्ररुपले बढिरहेको छ । पछिल्लो पटक ४० जनाको स्वाब संकलन गरी प्रदेश ल्याबमा पठाइएको रिपोर्टमा २९ जनामा कोरोना देखा परेको स्वास्थ्य शाखाले जनाएको छ । हालसम्म संक्रमितको संख्या ९१ पुगेको छ भनें ६ जनाको निधन समेत भएको छ । हिजो २६ जनाको र आज ३९ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
यस सन्दर्भमा, नगर प्रमुख राई र उपप्रमुख वास्तोलाले नगरवासीलाई घर घरमै सुरक्षित रुपमा बसेर मात्र कोरोना संक्रमणबाट बच्न सकिने उल्लेख गर्दै सवैलाई घरमै वस्न अनुरोध गरे । निषेधाज्ञालाई वडा वडामा झनै कडाई गर्नु आवश्यक रहेको उनीहरुले जानकारी दिए । कोरोना संक्रमण बढेपछि नगरमा जेठ २ गते राती १२ बजेदेखि अर्काे सूचना नभएसम्मका लागि औषधि बाहेकका सवैखाले पसल, व्यवसाय र आवतजावत वन्द गर्ने निर्णय भएको छ ।