नगरको संक्रमित र उनीहरुका परिवारलाई सहयोग पुर्याउने जनप्रतिनिधिहरुको वचनवद्धता - Pahilo Online

नगरको संक्रमित र उनीहरुका परिवारलाई सहयोग पुर्याउने जनप्रतिनिधिहरुको वचनवद्धता

writer

पथरी शनिश्चरे । कोरोना संक्रमितहरुको आत्मबल बढाउँदै रोग परास्त गर्ने वातावरण सृजना गर्न मोरङको पथरी शनिश्चरे नगरका जनप्रतिनिधिहरुले संक्रमित र उनीहरुका परिवारलाई भेटेर साथ सहयोग पुर्याउने वचनवद्धता व्यक्त गरेका छन् ।

नगर उपप्रमुख, कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति सहसंयोजक एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अनुगाईको टोलीले आज नगरका विभिन्न ठाउँका संक्रमित र उनीहरुका परिवारलाई भौतिक दूरी कायम गरी स्वास्थ्य सतर्कता अपनाएर भेटेको हो । अनुगमन् समिति सदस्य एवम् नगर प्रवक्ता यामप्रसाद गुरागाईं, नगर सूचना सम्पादक भूपेन्द्र तिम्सिना, पथरी उद्योग वाणिज्य संघका उपाध्यक्ष यादवचन्द्र दुलाल र नगर प्रहरीको टोलीले कोरोना संक्रमितहरुले आत्मबल बढाउँदै स्वास्थ्य उपचारको उचित व्यवस्थापन सहित खानपानमा ध्यान दिन अनुरोध गरेको छ । नगरमा आइसोलेसन समेत तत्काल सञ्चालनमा आउने जनाउँदै कुनै पनि समस्यामा नगरपालिका साथसाथै रहेकाले रोग परास्त गर्न आत्मबल बढाउन उत्साह प्रदान गरिएको छ । टोलीले कोरोनाबाट निधन भएका परिवारलाई समेत भेटी समवेदना प्रकट गरेको छ ।


नगरमा कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेकाले यसबाट बच्ने सतर्कताका लागि जेठ २ गते राती १२ बजेदेखि अर्काे सूचना नभएसम्मका लागि औषधि बाहेकका सवैखाले पसल, व्यवसाय र आवतजावत वन्द गर्ने निर्णय भएको छ । जस अनुसार पथरी बजार, बोक्रेचोक, आइतबारे, पिपलचोक, किर्तिपुर, किरातीचोक, भातेगौंडा, सोमबारे, शनिश्चरे, रिंगुवा सहितका क्षेत्रमा अनुगमन् गर्दै छिटफुट रुपमा खुला रहेका पसल, व्यवसाय तथा आवतजावतलाई वन्द गराइएको छ । नगर प्रमुख दिलीपकुमार राईले पनि अनुगमन् गर्दै कोरोना संक्रमण रोक्न नगरवासीमा अनुरोध गरेका छन् । वडा वडामा वडाध्यक्षको अगुवाईमा समन्वय समितिमार्फत संक्रमण रोकथाममा पहल भइरहेको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीले पसल, व्यवसाय, यातायात संचालन र हिडडुल रोक्ने काम गरिरहेको छ ।

संघीय सरकारको नीति अनुरुप निर्माणका क्रममा रहेको सार्वजनिक निर्माण कार्यका लागि आवश्यक ढुंगा, गिट्टी र बालुवा बोक्ने ट्रिपर सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरेर विहान ६ देखि विहान १० बजेसम्ममात्र सञ्चालन गर्न पाउने कुरा उल्लेख गरेको छ । तोकिएको यसखाले निर्णय पालना नगरे, नगराएमा तथा बस्तुहरुको कालोबजारी गरेमा कानून बमोजिम कारबाही समेत हुने निर्णय गरिएको छ ।

यसैबीच, आज नगरपालिका कार्यालयले एक सूचना प्रकाशित गरी नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु अर्काे सूचना नभएसम्मका लािग स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालयले पुनः १ गते रातीबाट जेठ ११ गते राती १२ बजेसम्मका लागि थप कडाईका साथ निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ । नगरमा पछिल्लो पटक स्वाब संकलन गरिएका ४८ जनामध्ये १६ जनालाई कोरोना संक्रमण भएको रिपोर्ट आएपछि संक्रमितको संख्या ६२ पुगेको छ । नगरमा कोरोना संक्रमणबाट हिजो वडा नम्बर १ मा दम्पत्तीको निधन भएसँगै कुल ६ जनाको ज्यान गएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes