पथरी शनिश्चरे । स्वास्थ्य मापदण्डको पालना गर्दै सम्मान र नाटक प्रस्तुतिका साथ मोरङको पथरी शनिश्चरेमा १० दिने नाट्य कार्यशाला सम्पन्न भएको छ । नाटक प्रस्तुति हेरिसकेपछि कार्यक्रममा बोल्दै नगर प्रमुख दिलीपकुमार राईले नगरमा नाट्य क्षेत्रबाट धेरै प्रकारका विषयवस्तुमाथि सचेतना फैलाउन सकिने उल्लेख गर्दै यस कार्यमा नगरपालिकाले सदैव सहयोग पुर्याउने बताए ।
नगरपालिकाको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिको आयोजना र स्थानीय शब्द थिएटरको संयोजनमा सञ्चालित कार्यशालाको समापनका अवसरमा नगरका अग्रज गायक वीरध्वज शिवालाई नगद २५ हजार, दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको छ । कार्यक्रममा, ३ नम्बर वडाध्यक्ष डम्बरबहादुर चेम्जोङ, ५ नम्बर वडाध्यक्ष जोगबहादुर धिमाल, ८ नम्बर वडाध्यक्ष बाबुराम दहाल, १० नम्बर कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयल आचार्य र सम्मानित सर्जक वीरध्वज शिवाले सृजनाको विकासमा सवै जुट्नु पर्ने बताउनु भयो ।
नाट्य क्षेत्रमा राष्ट्रियस्तरमा चर्चा कमाएका नाटककार गोपाल अर्याल र जीवन बरालले कार्यशालाको सहजिकरण गर्दै कार्यशालामा सहभागिबाट उत्पादित २ वटा कचहरी नाटक प्रस्तुत गरे । कार्यशालामा भूटानी शरणार्थी शिविरका समेत गरी नाटकमा इच्छुक नगरका १६ जनाको सहभागिता रहेको थियो । जसमा, सुमन बराल, मनोज तिम्सिना, सदिक्षा अधिकारी, रेखा सोरेङ, नविन गुरुङ, सन्दिप पोख्रेल, यसोदा श्रेष्ठ, विमला पोख्रेल, विमन सुन्दास, सुविन मिश्र, बिक्रम बस्नेत, जानुका बस्नेत, ईश्वर दुलाल, प्रतिमा पोखरेल, जंगबहादुर मगर र योगराज लुङ्गेली रहनु भएको छ ।