झापामा निषेधाज्ञा, अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द - Pahilo Online

झापामा निषेधाज्ञा, अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द

यातायातमा जोर बिजोर प्रणाली लागु

writer

झापा । कोरोना संक्रमणले अति प्रभावित भारतसँग सीमा जोडिएको झापामा आइतबार राति १२ बजेदेखि निषेधाज्ञा लागु भएको छ। जिल्ला प्रशासन कार्यालय झापाले एक साता अर्थात् वैशाख २६ गते आइतबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो। दोस्रो लहरको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदायमा फैलिएको भन्दै निषेधाज्ञा जारी गरीएको हो । निषेधाज्ञा उल्लंघन र आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रमण रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुनबमोजिम सजाय हुने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए।

निषेधाज्ञामा सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, सामाजिक दूरी, स्वास्थ्य मापदण्ड पालना गर्न, नियमित रुपमा साबुन पानीले हात धुन, अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न, कुनै पनि भेला, जुलुस, सभा सम्मेलन, छलफल गोष्ठी नगर्न, हाट बजार, मेला, जात्रा‚ महोत्सव‚ भोज लगायतको भिडभाड हुने कार्य नगर्न नगराउन, अत्यावश्यकबाहेक १० वर्षभन्दा मुनि तथा ६० वर्षभन्दा माथिको उमेरका व्यक्ति तथा दीर्घरोगीले कुनै पनि काममा घरबाहिर नजान प्रशासनले आह्वान गरेको छ।

त्यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो कार्यालय र कर्मचारीको अवस्था हेरी सम्बन्धित माथिल्लो निकायको स्वीकृति लिई आलोपालो सेवा वा अत्यावश्यक सेवाबाहेक अन्य सेवा हाललाई स्थगित गर्ने निर्णय गरेको छ। सोही निर्णय बमोजिम जिल्ला अधिकांश सरकारी कार्यालयले आइतबार सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक सबै सेवा एक साताका लागि स्थगन गरिसकेको प्रजिअ तिमिल्सिनाले जानकारी दिए।

निषेधाज्ञाभरि जिल्लामा सबै प्रकारका सभा, सम्मेलन गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ्ग पुल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिम खाना, समूह खेल्ने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्ने नपाइने, सार्वजनिक एवं निजी सवारीसाधन‚ सिटी रिक्सा समेतले जोर गते जोर नम्बरको तथा बिजोर गते बिजोर नम्बरको आधारमा मात्र सञ्चालन गर्न पाउनेछन्।

अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारीसाधन, बैंक, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, रेडक्रस, क्वारेनटाइन, आइसोलेसन, फोहोर मैला व्यवस्थापन, कुरियर तथा डाक सेवालगायतका ढुवानी तथा यातायातका साधन सञ्चालन गर्न पाउने निर्णय गरेको छ। सञ्चारकर्मीको हकमा प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ र कार्यरत मिडियाको परिचयपत्र देखाएर सवारीसाधन चलाउन पाउने प्रशासन कार्यालयले जनाएको छ।

औषधि तथा स्वास्थ्य सामग्री पसलबाहेक अन्य पसल बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म खुला गर्ने, डिपार्टमेन्ट स्टोरको हकमा बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्ने, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा सवारीसाधनमा आवतजावत गर्ने पाउने छन्।

त्यसैगरी होटेल तथा रेष्टुरेन्टहरुले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरी बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने, विवाह, व्रतबन्ध लगायतका अन्य सामाजिक कार्यमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने र त्यसका लागि प्रशासन कार्यालय झापाबाट अनुमित लिनुपर्ने, विवाह व्रतबन्ध जस्ता कार्यक्रममा अन्यत्र जिल्लामा जान फर्किन पर्ने भए दुईवटा सवारी साधनमा बढीमा सात जनासम्मका लागि स्थानीय तहको सिफारिससहित प्रशासन कार्यालयबाट अनुमित लिनुपर्ने र जिल्लाको काँकडभिट्टा नाकाबाहेक अन्य नाकाबाट आवतजावत गर्न निषेध गर्ने डिसिसिएमसीले निर्णय गरेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes