सोलुखुम्बु । सोलुखुम्बु र ओखलढुंगाको सीमानाका क्षेत्र पत्ताले प्रवेशद्वारमा कडाई गरिने भएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन सचेत रहँदै आवगमनमा जिल्ला प्रवेश गर्ने मुख्य नाका पत्तालेमा कडाई गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले जानकारी दिए।
सीमा क्षेत्रमा हुन सक्ने संभावित जोखिम तथा अपराधिक गतिविधिलाई निगरानी गर्न तत्काल सिसी क्यामेरा समेत जडान गरिने प्रमुख जिल्ला अधिकारी शाहीले बताए। सोमबार उक्त क्षेत्रमा प्रमुख जिल्ला अधिकारी शाहीको अध्यक्षतामा, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक कवित कटुवालसहितको उपस्थितिमा स्थानीयसँग अन्तरक्रिया समेत गरिएको छ।
अन्तरक्रिया कार्यक्रममा स्थानीयले सुरक्षा व्यवस्था मजबुद्ध बनाउन स्थानीय र प्रहरीबीच सूचना आदनप्रदान गरि स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्नुपर्नेमा जोड दिए। केन्द्रीय परिपत्र अनुसार जिल्लामा समेत स्वास्थ्य सुरक्षामा ध्यान दिँदै प्रवेशद्वार पत्तालेमा ज्वरो जाँचसहित मास्क लगाए नलगाएको निरीक्षण सोमबार देखि सुरु भएको छ।
प्रमुख जिल्ला अधिकारी शाहीले कोरोनाको जोखीम बढ्दै जाँदा सीमामा हेल्थ डेक्स निर्माण गर्ने, मास्क प्रयोगलाई अनिवार्य गर्ने, प्रहरी निगरानीलाई अँझ बढी शसक्त बनाउने लगायतको रणनीति रहेको बताए। (थाहखबर)