पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा स्थानीय पाठ्यक्रम निर्माणका लागि समिति गठन भएको छ । शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले संयोजक तथा शिक्षकहरु डिल्लीराज दहाल, दुर्गा सुवेदी दंगाल, ऋषि धिमाल सदस्य र शिक्षा अधिकृत नविन खुलाल सदस्य सचिव रहेको स्थानीय पाठ्यक्रम निर्माण समिति गठन भएको हो ।
नगर शिक्षा समितिको बैठकले विषय विज्ञहरुलाई समेत आमन्त्रण गरी पाठ्यक्रम निर्माण समितिले पाठ्यक्रमको प्रारुप तयार गर्ने, वडा नम्बर ८ को किरात फाल्गुनन्द युमा माङ्हिममा अनौपचारिक किरात लिम्बू भाषा पठन पाठन गर्ने र त्यसको पाठ्यपुस्तकको व्यवस्थापन गर्ने सहितको निर्णय गरेको छ । नगरपालिका र किरात याक्थुङ चुम्लुङको समन्वयमा पठनपाठन अघि बढाइने भएको छ ।
नगर प्रमुख एवम् शिक्षा समिति संयोजक दिलीपकुमार राईको अध्यक्षताको बैठकले विद्यालय दरवन्दी मिलानका आवश्यक पहल गर्ने तथा कोरोनाको जोखिम पुन बढ्न थालेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी कक्षा ८ बाहेकका सवै परीक्षा बैशाख मसान्तसम्ममा सम्पन्न गर्न विद्यालयहरुमा अनुरोध गर्ने पनि निर्णय गरेको छ ।