भद्रपुर । विद्यालयको कर्मचारीको कुटाइबाट विद्यार्थीको मृत्यु भएको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । कनकाई नगरपालिका ६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको कुटपिटकै कारण मृत्यु भएको आरोपमा प्रहरीले एक नियन्त्रणमा लिएको हो । विद्यालयका कर्मचारी (खरिदार) रविन मगरको कुटाइबाट १० वर्षीय विद्यार्थी कृष्णप्रसाद राजवंशीको मृत्यु भएको आरोप लागेको छ।
राजवंशीको मृत्यु भएपछि परिवारजनले विद्यालय र कर्मचारी मगरविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिले कर्मचारीलाई मगरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। घटना विवरणअनुसार विद्यालयमा विद्यालयमा शिक्षक नभएका बेला कक्षा ४ मा पढाउन पसेका कर्मचारी मगरले विद्यार्थी राजवंशीको कान तान्दै सजाय दिएका थिए।
त्यसपछि बिरामी परेका राजवंशीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको उनका ठुलो बुवा सञ्जय राजवंशीले बताए। माघ १८ गते बिहान घाँस काटेर कृष्णप्रसाद विद्यालय गएका थिए। विद्यालयमा खरिदार मगरले राजवंशीको कान तानेको परिवारका कसैलाई थाहा थिएन। ’बिरामी परेका नातिलाई स्थानीय कामेश मेडिकलबाट सामान्य उपचारपछि घर लगेऔँ,’ उनका ठूलो बुबा सञ्जयले भने, ’हरेक दिन कान सुन्निन थालेपछि आफन्तजनहरूले बारुलाले टोकेको होला भनिन्, तर नातिलाई सोध्दा ‘रविन सरले कान मोल्दा यस्तो भएको भने, त्यसपछि घटना हामीले थाहा पायौं।’
उनका अनुसार नाति झनझन बिरामी पर्न थालेपछि उपचारका लागि विर्तासिटी हस्पिटल बिर्तामोड लगिएको बताए। त्यहाँ उपचार सम्भव नभएपछि विएण्डसी अस्पताल लगियो। त्यहाँ ६ दिन राख्दा पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगियो। माघ २८ गते नोबेल अस्पतालमा नातिको मृत्यु भएको उनले बताए। नातिको उपचारमा रकम अभाव भएपछि विद्यालय नै ५० हजार रुपैयाँ सहयोग गरेको उनको भनाइ छ। कुटपिटबाट बालकको मृत्यु भएको भन्दै उनका परिवारजनले उचित क्षतिपूर्तिको माग गरेका छन्।
कर्मचारी मगरलाई कक्षा कोठामा गएर पढाउने अधिकार नभएको भन्दै उनलाई कडा कानुनी कारबाही हुनुपर्ने मृतकका दाजु सन्दीप राजवंशीले माग गरेका छन्। यता, पोस्टमार्टमका लागि कोसी अस्पताल पठाएको बालकको शवलाई परिवारजनले बुझिसकेको र कर्मचारी मगरमाथि आवश्यक छानबिन भइरहेको डिएसपी थापाले बताए। यता, विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद कोइरालाका अनुसार कर्मचारीले सामान्य कान ताने पनि बालकको पुरानै रोग निमोनियाका कारण मृत्यु भएको हुन सक्ने बताएका छन्। विषयगत शिक्षक नभएको समयमा कर्मचारी मगरले कक्षा लिएको उनको भनाइ छ।