सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका उपभोक्ता दुई महिनायता लोडसेडिङको मारमा परेका छन्। दैनिकजसो तालिका भन्दा अन्य समय पनि विद्युत् अनियमितता हुँदा हैरानी हुन थालेको स्थानीयको गुनासो छ। पूर्व सूचनाबिना विद्युत् कार्यालयले पटकपटक विद्युत् कटौती गर्न थालेपछि स्थानीयवासी आक्रोशित हुन थालेका छन्। विद्युत् अनियमितका कारण त्यहाँका आम उपभोक्तदेखि व्यवसायी बढी मारमा परेको बताइएको छ।
‘दैनिक विद्युत् अनियमितताका कारण मिल व्यवसायी र हामी बढी मारमा परेका छौँ,’ स्थानीयवासी गेहेन्द्र राईले भने, ‘मिनेटमिनेटमा बिजुली बत्ती आउने र जाने समस्याले स्थानीयवासीले दुःख पाइरहेको छ। यससम्बन्धी गुनासो विद्युत् प्राधिकरणमा खबर गर्दा पनि सुनुवाइ भएको छैन। साँझ र बिहानपख तालीकाबिना लोडसेडिङ हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परेका छन्।’
अत्यधिक चिसोका कारण त्यसबाट बच्नका लागि यहाँका गाउँवासीले दाउराको प्रयोग गर्छन भने सदरमुकामवासीले विद्युतीय हिटरको प्रयोग गर्छन्। पुस, माघ महिनाको चिसोबाट बच्नका लागि सरकारी कार्यालयका कार्मचारीलेसमेत विद्युतीय हिटरको प्रयोग गर्नु बाध्यता नै हो। सदरमुकामवासीले दाउराको एकदमै कम प्रयोग गर्ने गरेका छन्। जिल्लामा विद्युत्को खपत बढेसँगै सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवासमेत अनियमित बनेको छ। क्षमताभन्दा बढी खपत हुन थालेपछि बारम्बार विद्युत् सेवा अवरुद्ध हुने गरेको कम्पनीले जनाएको छ।
कम्पनीका रामेश्वर मास्केका अनुसार चिसोमा विद्युतीय सामग्रीको बढी प्रयोग हुँदा मेसिन नै बन्द हुने गरेको छ। चिसोबाट बच्नका लागि उपभोक्ताले हिटरको प्रयोग बढी गर्दा लोड धान्न नसकेको उनको भनाइ छ। सोलुदूधकुण्ड नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७ का करिब दुई हजार १०० भन्दा बढी उपभोक्ताले दैनिक तीन घण्टा विद्युतभार कटौतीको मार खेप्नु परे पनि अन्य समयमा समेत आपूर्ति बन्द हुँदा समस्या भएको स्थानीयवासीको गुनासो छ।
विद्युत् आउने जाने हुँदा होटल तथा पसल सञ्चालकदेखि जिल्ला अस्पतालको सेवासमेत प्रभावित हुने गरेको छ। विद्युत् कटौतीको तालिकाबाहेक पनि दिनभरजसो विद्युत् सेवा बन्द हुँदा जिल्ला अस्पताल फाप्लुको प्रयोगशाला सेवासमेत प्रभावित बन्ने गरेको अस्पतालकी निमित्त प्रमुख शानी शेर्पाले बताइन्। अस्पतालमा व्याकअपकोसमेत राम्रो प्रबन्ध नभएकाले ल्याब सेवा नै ठप्प बन्ने गरेको उनको भनाइ छ। उनका अनुसार अस्पतालमा वैकल्पिक विद्युतको व्यवस्था नहुँदा ल्याब र अक्सिजन सेवासमेत प्रभावित बनेको छ। उपकरण सञ्चालनका लागि च्याल्सा विद्युत् कम्पनीकै भरपर्ने अस्पतालमा असहज हुने गरेको बिरामी नानुमाया कार्कीले बताइन्।
बारम्बार विद्युत् अवरुद्ध हुँदा विद्युतीय सामग्रीसमेत चाँडै बिग्रने समस्या रहेको गेहेन्द्र मोबाइल पसलका सञ्चालक गेहेन्द्र राईले गुनासो गरे। कम्प्युटरको पावर सप्लाइ चाँडै बिग्रने समस्याले हैरान बनेको उनले बताए। यस्तै, सल्लेरीमा सञ्चालित टेलरिङ सेन्टरसमेत विद्युतमा भर पर्दा समस्या भएको पसल सञ्चालकको भनाइ छ। ए वान टेलरिङ सेन्टर सल्लेरीका प्रोपाइटर विक्रम हिङमाङले ग्राहकलाई समयमा नै सेवा दिन नसक्दा गाली खानुको विकल्प नभएको बताए। कपडा सिलाइका लागि निश्चित समय तोकेर पठाएका ग्राहकलाई भनेको बेला उपलब्ध गराउन नसक्दा ग्राहकसमेत रिसाउने गरेको समस्या रहेको हिङमाङको भनाइ छ।
विद्युत् अनियमितताका कारण एफएम रेडियो तथा पत्रपत्रिका पनि समयमा प्रकाशन तथा प्रशारण हुन नसकेको स्थानीय पत्रकारको भनाइ छ। पछिल्लो समय विद्युत् अनियमितका कारण व्यवसायी, बैंक, सहकारी, गैरसरकारी कार्यालयका काम कारवाहीमा असर पुगेको बताइएको छ। कम्पनीका अनुसार चिसोले गर्दा विद्युतको माग बढी तथा उत्पादन कम भएका कारण विद्युत् अनियमितता भएको र यो समस्या चाँडै समाधान हुनेछ।