विराटनगर । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा विराटनगर नाकाबाट झन्डै ५ अर्ब बराबरको भटमासको तेल भारततर्फ निर्यात भइसकेको हुँदा वर्षभरिमा १० अर्बको निर्यात हुनसक्ने देखिएको छ । भारत सरकारले गत वर्षदेखि नेपालबाट त्यसतर्फ जाने पाम तेलमा रोक लगाएपछि उद्योगीहरू भटमासको तेलको निर्यातमा केन्द्रित भएका हुन् । फलतः चालु आवमा भटमासको तेलको निर्यात चुलिएको छ ।
विराटनगर भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आवको दोस्रो त्रैमासिक अवधिमा ४ अर्ब ८५ करोड ४० लाख मूल्यको ३३ हजार २ सय ५३ मेट्रिक टन भटमासको तेल भारत निर्यात भएको छ । उक्त तथ्याङ्क गत आर्थिक वर्षको सोही अवधिका तुलनामा करिब ३ गुणा बढी हो ।
गत आर्थिक वर्षको पुस मसान्तमा चालु आवको सोही अवधिको ३ गुणा कमले भटमासको तेलको निर्यात गरिएको तथ्याङ्क कार्यालयले उपलब्ध गराएको छ । जसअनुसार १ अर्ब ५२ करोड ७० लाख मूल्यको ११ हजार ९ सय ४८ मेट्रिक टन भटमासको तेल निर्यात गरिएको थियो ।
गत आर्थिक वर्ष २०७६–७७ अर्थात् पूरा १ वर्षमा गरिएको भटमासको तेलको निर्यात चालु आवको पुस मसान्तको भन्दा ५६ करोडले कम छ । उक्त आवमा ४ अर्ब २९ करोड ४९ लाख मूल्यको ३१ हजार ६ सय ३४ मेट्रिक टन भटमासको तेल निकासी गरिएको थियो । त्यस्तै अघिल्लो आव २०७५–७६ मा अझ कम ८४ करोढ ८६ लाख मूल्यको ८ हजार ३ सय ३१ मेट्रिक टन भटमासको तेल भारततर्फ गएको तथ्याङ्क कार्यालयले दिएको छ ।