मोरङ । कृषि बजारलाई व्यवस्थित गर्न नेपाल सरकारले दुई वर्षअघि नै मोरङको कटहरीमा कृषि थोक बजार निर्माण गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । निर्माण भएको लामो समयसम्म अलपत्र रहेको एकीकृत फलफूल तथा तरकारी थोक बजार सञ्चालनमा आउने भएको छ। विराटनगरको गुद्री बजारलाई व्यवस्थित गर्दै उक्त बजारमा स्थानान्तरण प्रदेश सरकारको योजना थियो। तर, गुद्री बजारका व्यापारीहरु त्यहाँ जान नमानेपछि कृषि बजार सञ्चालन अलपत्र बनेको हो।
किसानले उत्पादन गरेको फलफूल तथा तरकारीलाई व्यवस्थित बजार दिने उद्देश्यका साथ संघीय सरकारले स्थानीय जनप्रिय मावि कटहरीको पाँच बिघा दुई धुर क्षेत्रफलमा कुल १३ करोड ७६ लाख ५४ हजार ७१० रुपैयाँ लागतमा बजार निमार्ण गरेको हो। बजारको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ मंसिर २६ मा गरेका थिए।
तर, विराटनगरस्थित गुद्री बजारका स्थानीय व्यापारीहरुको विवादका कारण निमार्ण सम्पन्न भएको अढाई वर्षसम्म सञ्चालनमा आउन सकेन। अहिले एकीकृत फलफूल तथा तरकारी थोक बजार सहकारीसँगको सम्झौता बमोजिम सञ्चालन गर्ने तयारी भइरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ की सचिव नीरु दाहाल पाण्डेले बताइन्।
प्रदेश सरकारले पाँच वर्षका लागि बजार सञ्चालनको जिम्मा सहकारीलाई दिएको छ। जसबापत सहकारीले प्रदेश सरकारलाई वार्षिक १९ लाख २० हजार रुपैयाँ बुझाउनु पर्नेछ। आवश्यक प्रक्रिया पुर्याएर अबको केही दिनभित्रै बजार सञ्चालनमा आउने विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टिकृत सहकारी संघका सचिव राकेश दाहालले बताए।
दाहालका अनुसार बजारमा ४५ हजार मेट्रिक टन तरकारी र आठ हजार मेट्रिक टन फलफूल राख्ने क्षमता छ। बजारमा थोक बिक्रेताका लागि ४० वटा र खुद्रा बिक्रेताका लागि ३५ वटा स्टलका साथै अत्याधुनिक प्रशासनिक भवन समेत छ। यो बजारबाट स्थानीय बजारमा तरकारी तथा फलफूल सजिलै उपलब्ध हुने बताइएको छ। बजार सञ्चालनपछि सुनसरी, मोरङ, झापा र धनकुटाका किसानहरु समेत लाभान्वित हुने जनाइएको छ।