पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाले अपाङ्गता भएकाहरुको अवस्था जानकारी लिने क्रममा अपाङ्गता भएका २ जनालाई सहयोग गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल सहितको सहभागितामा नगरको अपाङ्गता कार्यक्रम अन्तर्गत वडा नम्बर ४ का मैतावीर माझीलाई ह्विलचियर प्रदान गरिएको छ । साथै सोही वडाकी आशा राईलाई न्यानो कपडा ब्लाङ्केट प्रदान भएको छ ।
लडेर स्पाइनल कड इन्जुरीको समस्या भइ ओछ्यान पर्नु भएकी वडा नम्बर ४ की निर्मला कार्कीको अवस्था पनि टोलीले जानकारी लिएर ह्विलचियर प्रदान गर्ने टिपोट गरेको नगर उपप्रमुख वास्तोलाले जानकारी दिइन् । अर्कातर्फ, नगर उपप्रमुख वास्तोला संयोजक रहेको अपाङ्गता परिचयपत्र वितरण नगर समन्वय समितिमार्फत अपाङ्गता भएका २९ जनालाई पछिल्लो पटक परिचयपत्र प्रदान गरिएको छ ।