पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका ९ वटा विद्यालयलाई नगरपालिकाले विभिन्न कार्यक्रम प्रदान गरेको छ । नगर शिक्षा समितिको बैठकले नगरपालिकाको शिक्षातर्फको सशर्त अनुदान अन्तर्गत अन्तर सरकारी वित्तीय हस्तान्तरण शिर्षकमा विद्यालय शैक्षिक गुणस्तर सुदृढीकरण एवम् कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदानको कार्यक्रम बाँडफाँड भएको हो ।
नगर प्रमुख एवम् नगर शिक्षा समितिका संयोजक दिलीपकुमार राईको अध्यक्षताको बैठकबाट ४ नम्बर वडाको बालि विज्ञानको पठनपाठन थालेको भागिरथ माविमा फर्निचर सहित विद्यालय भवन निर्माणका लागि भौतिक पूर्वाधारतर्फको ३६ लाख रुपैयाँ विनियोजन भएको छ ।
सो बाहेक सशर्त अनुदानतर्फ ३ नम्बर वडाको जनता मावि र १ को पञ्चायत माविमा वास सुविधा सहितको शौचालय निर्माणमा ७ लाख, ५ को अमरसिंह माविमा पुस्तकालय स्थापना तथा व्यवस्थापन अनुदानमा ६ लाख ५० हजार रुपैयाँ बाँडफाँढ गरिएको छ । त्यसैगरी सशर्त अनुदानतर्फ नै, ७ को चन्द्रकिरातेश्वर माविमा कम्प्युटर, फोटोकपि, इन्टरनेट सहित आइसीटीका सामग्री तथा किट्स खरिदमा ६ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ ।
वडा नम्बर १ को सुनाखरी मावि र ५ को सुगाहाट माविका लागि विज्ञान प्रयोगशाला निर्माण तथा व्यवस्थापन अनुदानमा ६ लाख ५० हजार र ६ को दुर्गा आधारभूत विद्यालयको आधारभूत तहका कक्षामा अंग्रेजी, गणित र विज्ञान विषयका लागि क्रियाकलापमा आधारित सामग्री तथा किट्स खरिद अनुदानमा ५० हजार रुपैयाँ छुट्याइएको शिक्षा समितिका सदस्य सचिव उपसचिव शालिग्राम काफ्लेले जनाउनु भयो । बैठकले अमरसिंह माविमा कक्षा ११ र १२ मा ऐच्छिकतर्फ भाषा विज्ञान विषय पठनपाठनका लागि अनुमति प्रदान गरेको छ ।