सोलुखुम्बु । कोरोनानाले बढी प्रभाव पारेपछि पर्यटकको आवागमनमा निर्भर हिमाली जिल्ला सोलुखुम्बुको राजस्व संकलन घटेको छ। गत वर्षको तुलनामा यस वर्ष राजस्वमा संकलनमा ३८।७० प्रतिशतले गिरावट आएको हो। पर्यटन क्षेत्र ठप्प हुँदा जिल्लामा राजस्व संकलन घटेको कोष तथा लेखा नियन्त्रकको कार्यालय सोलुखुम्बुले जनाएको छ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा २६ करोड रुपैयाँ राजस्व संकलन भएपनि यस वर्ष १५ करोड ९३ लाख ६० हजार ५ सय ३५ रुपैयाँ मात्रै जम्मा भएको कार्यालयका सूचना अधिकारी नवीन राईले जानकारी दिएका छन्। राईका अनुसार कोष तथा लेखा नियन्त्रकको कार्यालयले सबैभन्दा बढी १४ करोड ४ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
यस्तै, जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले १५ लाख ४ हजार, जिल्ला अदालतले २६ लाख ५ हजार १ सय ९, जिल्ला प्रशासन कार्यालयले १८ लाख ३५ हजार र करदाता कार्यालय लुक्लाले ७८ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ। पर्यटन रोयल्टी मार्फत १५ लाख ९८ हजार २ रुपैयाँ मात्र संकलन भएको छ। तर गत वर्ष यहि समयमा पर्यटन रोयल्टीबाट मात्रै ७ करोड ३७ लाख ५० हजार ५ सय ७१ रुपैयाँ संकलन भएको थियो।