मोरङ । विराटनगर महानगरपालिका – ७ शनिमन्दिरमा रहेको रारा बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक बचतकर्ताको रकम लिएर भागेका छन् । बचत गरेको लाखौं रूपैयाँ लिएर सहकारीका संचालकहरू सम्पर्कबिहीन भएको भन्दी पीडितहरूले प्रहरीमा उजुरी दिएका छन् । सहकारी अध्यक्ष शेरबहादुर थापा मगरसहितका संचालकहरू सम्पर्कबिहीन भएपछि बचतकर्ताहरूले मोरङ प्रहरीमा उजुरी दिएका हुन् । सहकारीमा वर्षौदेखि बचत गर्दै आएका बचतकर्ताहरूको जम्मा गरिएको लाखौं रुपैयाँ लिएर सहकारीका अध्यक्ष थापासहितका अन्य संचालकहरू सम्पर्कबिहीन भएपछि दुई दर्जन बढी पीडितहरूले मोरङ प्रहरीमा उजुरी दिएका छन् ।
पीडित भएका करिब २५ भन्दा बढी सहकारीका बचतकर्ताहरू मोरङ प्रहरी कार्यालय अगाडी जम्मा भएर उनीहरूले बिहीबार उजुरी दिएका हुन् । रारा बचत तथा ऋण सहकारीमा एक जना बचतकर्ताले २० लाख रुपैयाँसम्म जम्मा गरेको बचत लिएर संचालकहरू फरार भएको विराटनगर – ९ का रितेस कुमार साहले बताए ।
साहको विराटनगरको जलजला रोडमा कपडा पसल रहेको छ । पसलमा दैनिक विक्री भएको कपडाको पैसाँ रारा सहकारीमा बचत गर्दै आएका थिए । ‘सहकारीमा बचत गरेको वर्षौ भएको थियो । ४ माघसम्म ४ लाख ९२ हजार रुपैयाँ बचत पुगेको थियो,’ दैनिक बचत गरेको पासबुक देखाउँदै साहले भने, ‘जम्मा गरेको पैसाँ लिन सहकारी जाँदा ताला झण्डिएको छ ।’
वर्षौदेखि बचत गरेको पैसाँ लिएर सहकारीका संचालक फरार भएपछि समस्यामा परेको उनले बताए । ‘पसलमा रहेको कपडा विक्री भएको पैसाँ दैनिक बचत गर्दै आएका थिए । दुःख गरेर आर्जेको रकम लिएर सहकारीका संचालकहरु फरार भएपछि अहिले समस्यामा परेको छु,’ उनले भने ।
यसरी रारा सहकारीमा जम्मा गरेको बचत गर्ने रितेश मात्र होइन् । विराटनगरका सयौंको संख्यामा रहेका बचतकर्ताले जम्मा गरेको लाखौं रुपैयाँ लिएर संचालक सम्र्पकबिहीन भएपछि सर्वसाधरणको बिल्लीबाट भएको छ ।