सावित्राको ह्याट्रिकमा एपीएफको सानदार जित - Pahilo Online

सावित्राको ह्याट्रिकमा एपीएफको सानदार जित

वालिङ र विराटनगरको बराबरी

writer

काठमाडौं । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै कप्तान अनिता बस्नेत, अन्जली कुमारी योन्जन र प्रिती राईले एक एक गोल थपिन् ।

एकतर्फी बनेको खेलको १४ औं मिनेटमा सावित्राको गोलबाट एपीएफले अग्रता बनाएको थियो । मैदानको दायाँ भागबाट मन्जली योन्जनको पासमा सावित्राले डिबक्स भित्रबाट सहजै गोल गरिन् । खेलको २२ औं मिनेटमा एपीएफले अग्रता दोब्बर बनायो । मिडफिल्डर अन्जलीले कप्तान अनिताले उपलब्ध गराएको पासमा गोल गरेकी थिइन् । खेलको ६२ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–० को अग्रता दिलाईन् । उनले कप्तान अनिताले मिलाएको पासलाई सिक्स यार्ड बक्सबाट गोल गरेको थिइन् ।

खेलको चौंथो गोल कप्तान अनिताको नाममा रह्यो । खेलको ६४ औं मिनेटमा सावित्राले डिबक्स भित्रबाट मिलाएको बललाई अनिताले वान टचमै गोल गरेकी थिइन् ।खेलको ७२ औं मिनेटमा सावित्राले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा एपीएफ ५–० ले अघि रह्यो । त्यसपछि खेलको ८९ औं मिनेटमा डेब्यु खेलाडी प्रिती राईले गोल गरेपछि एपीएफले ६–० को फराकिलो जित निकाल्यो । जितसंगै एपीएफले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

वालिङ र विराटनगरको बराबरी

वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको दोस्रो खेलमा वालिङ र विराटनगरले १–१ को बराबरी खेल्दै अंक बाडेका थिए । वालिङले अग्रता जोगाउन नसक्दा लिगको तेस्रो खेल बराबरीमा टुंगिएको थियो ।

बिहीबार वालिङले दोस्रो मिनेटमै अग्रता लिएको थियो । सम्झना शर्माले कर्नरमा आएको बलमा हेड गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा लिएको अग्रतालाई वालिङले जोगाउन सकेन । ६३ औं मिनेटमा विराटनगरका लागि आशा कुमारीले बराबरी गोल फर्काइन् । उनले झन्डै २५ यार्डबाट फ्रिकिकमा गोल गरेकी थिइन् ।

त्यसअघि पहिलो खेलमा नेपाल एपिएफ क्लबले चन्द्रपुर नगरपालिकालाई ६–० ले हराउँदा सावित्रा भण्डारी सम्बाले जारी लिगमा पहिलो ह्याट्रिक पूरा गरेकी थिइन् । दशरथ रंगशालामा बुधबार भएको त्रिभुवन आर्मी फुटलब क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes