सिद्धिचरण राजमार्ग जीर्ण बन्दै जादा उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुबासी मारमा - Pahilo Online

सिद्धिचरण राजमार्ग जीर्ण बन्दै जादा उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुबासी मारमा

writer

उदयपुर । सिद्धिचरण राजमार्ग जीण बन्दै गएपछि प्रदेश १ मा पर्ने उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु का सर्वसाधारणले सास्ती खेप्नु परेको छ। मुख्य सडक सिद्धिचरण लोकमार्ग मर्मत नहुँदा स्थानीय सर्वसाधरण मारमा परेका हुन्। पहाडी जिल्लालाई तराईसँग जोड्ने सिद्धिचरण राजमार्गको विभिन्न खण्ड जीर्ण बन्दै गएको छ।

सडक जीर्ण बनेपछि बर्सेनि दुई दर्जनभन्दा बढी यात्रुले सवारी दुर्घटनामा ज्यान गुमाउनु परेको छ। दैनिक सयौंको संख्यामा सवारीसाधन आवतजावत गर्ने भीरको सडक एकातिर साँघुरो छ भने अर्कोतर्फ जीर्ण बन्दै गएको छ। उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका सर्वसाधारणको आवागमन र दैनिक उपभोग्य सामग्री ढुवानी हुने सिद्धिचरण राजमार्गको स्तरोन्नति नहुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

राजमार्गअन्तर्गत उदयपुरको कटारीदेखि घुर्मीसम्मको सडक, दुर्घटनाको हिसाबले संवेदनशील बनेको छ। करिब १८ वर्षअघि नेपाली सेनाले खोलेको साँघुरो ट्रयाकलाई १० वर्षअघि वटासिल प्रविधिमार्फत् कालोपत्रे गरिएको थियो। अहिले कालोपत्रे सडक भत्किएर धुले सडकमा परिणत भएको मात्र छ, घुमाउरो र साँघुरो समेत रहेकाले दुर्घटनाको जोखिम झनै बढाएको छ। सडकका खाल्डाखुल्डी र पहिरोलाई व्यवस्थापन गर्नेतर्फ समेत चासो देखाइएको छैन। हर्देनीको ठाँटी, लेखानीको लप्सेभीर, सिरिसेको वनदेवीलगायतका भीरमा यात्रा गर्दा यात्रुले आँखा चिम्लनुपर्ने अवस्था छ।

सिरहाको मिचैयादेखि कटारीसम्मको करिब २६ किलोमिटर सडकसमेत जीर्ण रहेको छ। सिमेन्ट उद्योगका लागि चुनढुंगा संकलन गर्ने ट्रिपर, दैनिक उपभोग्य र निर्माण सामग्री लिएर गुड्ने ट्रकले क्षमताभन्दा बढी सामान बोक्दा सडक जीर्ण बनेको हो। सडकको स्तरोन्नतिका लागि स्थानीयले पटक–पटक माग गर्दै आएका छन्। तर सरकारी बेवास्ताका कारण अहिलेसम्म सडक मर्मत हुन सकेको छैन।

स्तरोन्नतिका नाममा चुरे खण्डमा फराकिलो पार्ने काम गरेको भए पनि अन्य कुनै काम हुन नसकेको स्थानीयहरु बताउँछन्। ‘खाल्डा–खुल्डी पुर्ने र ठाँउ ठाउँमा सडक फराकिलो पार्ने काम भइरहेको छ’, कटारी ओखलढुंगा यात्रामा हिँडेका रामबहादुर विक भन्छन्, ‘तर, यो दिगो समाधान भने होइन, वन विनास गर्ने काम मात्रै हो।’

ट्राफिक प्रहरीका अनुसार सडक जीर्ण भएकै कारण सवारी दुर्घटना हुने गरेको छ। सडकको ट्रयाक खुलेदेखि नै राजर्मागमा पटक पटक दुर्घटना हुने गरेको छ। सरकारी बेवास्ताका कारण सिद्धिचरण राजर्मागमा सधैं समस्या हुने गरेको विक बताउँछन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes