गाउँपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई निःशुल्क पढाउने - Pahilo Online

गाउँपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई निःशुल्क पढाउने

writer

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई निशुल्क पढाउने भएको छ । गाउँपालिका क्षेत्रभित्रका पाँच वटा विद्यालयमा कक्षा ११ र १२ को पढाइ भइरहेको छ । ती विद्यालयमा पढ्ने झण्डै सात सय विद्यार्थीले निःशुल्क पढ्न पाउने भएका हुन् । गाउँपालिकाले ‘निःशुल्क शिक्षा, हामी सबैको इच्छा’ कार्यक्रम सञ्चालन कार्यविधि २०७७ पारित गरेर कार्यान्वयन गराएको हो ।

संविधानमा व्यवस्था भएको शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै आफ्नो क्षेत्रका नागरिकलाई स्थानीय पालिकाको प्रत्यक्ष उपस्थितिको बोध गराउने उद्देश्यले यस व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले बताए । भर्ना शुल्क, रजिस्ट्रेशन र परीक्षा दस्तुरबापत वार्षिक एक हजार पाँच सय र मासिक शुल्क चार सय गरि ६ हजार ३ सय रुपैयाँ सम्बन्धित विद्यालयमार्फत उपलब्ध गराउने बताइएको छ ।

यस गाउँपालिकाका हरेक विद्यालयमा अध्ययनरत कक्षा एकदेखि पाँचसम्मका बालबालिकालाई भने बर्सेनि पोसाक र झोला निःशुल्क उपलब्ध गराइँदै आएको छ । गाउँपालिकाभित्र अहिले कक्षा एकदेखि पाँचसम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या एक हजार ६ सय नौ रहेको छ । पोसाक, विद्यालय लैजाने झोला र जुत्ताका लागि एक विद्यार्थीका लागि वार्षिक दुई हजार पाँच सय रुपैयाँ खर्च हुने प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए । साथै कक्षा १० का सबै विद्यार्थीलाई आवश्यक विषयमा तयारी कक्षासमेत दिइने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर शैक्षिक क्षेत्रको उत्थान र विकासमा जोड दिइएको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले बताए । प्राविधिक विषय पढ्ने गाउँपालिकाभित्रका आठ विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाइँदै आएको प्रशासकीय अधिकृत घिमिरेले बताए । एक विद्यार्थीले पढिसक्दा झण्डै पाँच लाख रुपैयाँ खर्च हुने उनले बताए । गाउँपालिकाले ११ र १२ मा निःशुल्क शिक्षा दिने अभियानसँगै अभिभावक तथा विद्यार्थी उत्साहित भएका सिनाम माविका शिक्षक तुलसी पोख्रेलले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes