पथरी, २५ पुस । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राईले गाउँघरका सहकाकरी सुख दुखका साथी भएको बताएका छन् । आज (शनिबार) उपलब्धि समृद्धि बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभालाई सम्बोधन गर्दै नगर प्रमुख राईले यस्तो बताएका हुन् ।
नगर प्रमुख राईले बैंकहरु गाउंघरमा नभएको अवस्थामा सहकारीले ग्रामिण जनजीवनको आर्थिक वृद्धिमा ठूलो योगदान गरेको चर्चा गरे । सो अवसरमा उनले एक व्यक्ति एक सहकारी भन्ने सरकारको नीति अनुसार सदस्यता लिन र समान उद्देश्य भएका सहकारीबीच मर्ज भएर कार्यक्षेत्र बढाउन सुझाव दिए ।
कार्यक्रमका विशिष्ठ अतिथि पहिलो संविधानसभा सदस्य लालबहादुर सुस्लिङले १८औं सताब्दिमा मजदुरहरुबाट सुरु भएको सहकारी अभियान अहिले टोल–टोलसम्म पुगेर सेवा दिएको बताए । थोरै–थोरै बचत संकलन र समूह भित्रकै सदस्यहरूलाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गरी उद्यमी बन्न तथा व्यक्तिलाई आइपर्ने साना ठूला गर्जो टार्ने राम्रो माध्यम सहकारी बनेको उनको भनाई छ । सरकारले अर्थतन्त्रको तिन खम्बे नीति अन्तर्गत सहकारीलाई प्रमुख एक खम्बा मानी यसको महत्वलाई पुष्टि गरेको सभासद सुस्लिङले बताए ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । जसमा उत्कृष्ट जेष्ठ नागरिक बचतकर्ता हर्कलाल आचार्य, उत्कृष्ट एकल महिला बचतकर्ता पार्वता अधिकारी, उत्कृष्ट दैनिक बचतकर्ता कल्पनाकुमारी मण्डल, उत्कृष्ट बाल बचतकर्ता सलिन पोखरेल, उत्कृष्ट ऋण मासिक डम्बरबहादुर, उत्कृष्ट ऋण दैनिक पवन विश्वसलाई सम्मान गरीएको थियो । कार्यक्रमका विशिष्ठ अतिथि र अतिथिहरुले खादा र सम्मानपत्रले सम्मान गरेका थिए ।
वि.सं. २०७० सालमा स्थापना भएको उपलब्धि समृद्धि बहुउद्देश्यीय सहकारीले आ.व. २०७६÷०७७ मा ८१ लाख ६३ हजार बराबरको कारोबार गरेको सचिव होमनाथ कोइरालाले जानकारी दिए ।
सहकारीका सदस्य रविन मगरले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष सोमनाथ आचार्यको अध्यक्षता र कोषाध्यक्ष रामप्रसाद निरौलाले स्वागत मन्तव्य राखेका थिए ।
अध्यक्षमा पुनः आचार्य
यसैबीच, उपलब्धि समृद्धि बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभाले पुनः सोमनाथ आचार्यलाई अध्यक्षमा चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा उपेन्द्र कार्की, सचिव होमनाथ कोइराला, सह–सचिव देबेन्द्र रायमाझी र कोषाध्यक्षमा रामप्रसाद निरौला चयन भएका छन् ।
समितिको सदस्यहारु सरिता पोखरेल, रविन मगर, ज्ञानुकुमारी मगर र दुर्गाकुमारी दंगाल आचार्य रहेका छन् । सभाले दिपा दाहालको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति चयन गरेको छ । समितिको सदस्यमा निर्मल कटुवाल र चन्द्रप्रसाद पोखरेल रहेका छन् ।