संखुवासभा । संखुवासभामा नेकपा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ। चैनपुर ४ मैदानेमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ता र प्रहरीबीच आइतबार गोली हानाहान भएको हो। प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार दिउँसो ३ बजेदेखि चन्द समूह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको हो। तर क्षतिको कुनै विवरण आएको छैन।
जिल्ला इन्चार्ज उत्तरकुमार भनिने युवराज राईसमेत ३ जना मैदानेमा लुकेर बसेको अवस्थामा गस्तीमा रहेको प्रहरीलाई आक्रमण भएपछि प्रहरीले गोली चलाएको थियो। चन्द समूह कार्यकर्ताले ६ राउन्ड गोली चलाएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। ती कार्यकर्ताको साथबाट प्रहरीले विस्फोटक सामग्री बरामद गरेको छ। प्रजिअ आचार्यका अनुसार भिडन्तपछि उनीहरु जंगलतिर भागेका छन्।
उनीहरुको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। यसअघि पनि मैदानेमा २ पटक सुरक्षाकर्मी र चन्द समूहबीच भिडन्त भएको थियो। (थाहखबर)